मालढुंगा–बेनी सडक दुई लेनमा स्तरोन्नति सुरु «

मालढुंगा–बेनी सडक दुई लेनमा स्तरोन्नति सुरु


छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालिगण्डकी करिडोरअन्तर्गतको मालढुंगा–बेनी सडक स्तरोन्नति सुरु भएको छ ।
झण्डै १३ किलोमिटर लामो यो सडक दुई लेनको बनाउन आयोजना सुरु भएको हो । यो आयोजना सम्पन्न भएपछि आवतजावत सहज हुने, सास्ती हट्ने र दुर्घटनाको जोखिम घट्ने अपेक्षा गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुंगादेखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा हँुदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक विस्तार, सुधार गरी दुई लेनको बनाउन लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
२०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको एपेक्स–खड्का–कृष्ण जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले प्रारम्भिक चरणको काम सुरु गरेको सञ्चालक अमृत दाहालले बताए । “हाल पिचसहित करिब ६ मिटरको हाराहारीमा रहेको सडकलाई ९ मिटर चाक्लो बनाएर एक मिटरको नाली र दुई लेनमा ८ मिटर चौडाइका दरले अमेरिकी आक्सपाल्ट प्रविधिको कालोपत्रे गर्न लागिएको हो,” उनले भने, “सडकको डिल र कुनातर्फ पर्खाल निर्माण गर्ने योजना छ ।”
मुस्ताङको कोरला नाकादेखि सुनौलीसम्म जोड्ने कालिगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरल्ला, मालढुंगादेखि बागलुङ र पर्वत दुवै तर्फबाट समानान्तर रूपमा काम भइरहेको छ । बागलुङ र पर्वतमध्ये कुन जिल्लाको सडकलाई करिडोरमा समावेश गर्ने भन्ने लामो समयदेखिको अन्योल गत वर्ष हटेपछि पर्वतबाट निर्माण हुन लागेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए ।
वि.सं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ मा मार्ग खुलेको र २०६८ मा कालोपत्रे भएको मालढुंगा–बेनी सडक पछिल्लो समय जीर्ण अवस्थामा थियो । सहायक सडक र पाखोबाट खस्ने पहिरो तथा खोलामा आउने बाढीले सवारी साधन आवतजावत प्रभावित हुने गरेका छन् ।
बर्खामा पहिरोले दैनिकजसो अवरुद्ध हुने सडकमा यात्रा गर्दा धेरै समय लाग्ने, गाडी परिवर्तन गर्दा झञ्जट हुने, दुर्घटनाको जोखिम र सास्ती भएको धाइरिङका हरि आचार्यले बताए । सिंगो म्याग्दी र मुस्ताङ जिल्लाको साथै पर्वतको जलजला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने मालढुंगा–बेनी सडक पर्यटकीय, व्यापारिक र धार्मिक हिसाबले सम्भावनायुक्त छ ।

प्रतिक्रिया दिनुहोस्