सरकारविरुद्ध ७७ जिल्लामै कांग्रेसको प्रदर्शन «

सरकारविरुद्ध ७७ जिल्लामै कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सोमबार देशैभर प्रदर्शन गरेको छ । दुई तिहाइको दम्भमा अधिनायकवादको बाटोमा हिँड्न खोजेको आरोप लगाउँदै कांग्रेसले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेको हो । सबै जिल्लामा भएका सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँ, महामन्त्री शशांक कोइराला र कल्याण गुरुङले नवलपरासी, उपसधापति विमलेन्द्र निधिले धनुषा, नेता प्रकाशमान सिंहले काठमाडौं, प्रवक्ता विश्वप्रकाश शर्माले चितवन, सहमहामन्त्री प्रकाशशरण महतले दाङ, नेता शेखर कोइरालाले मोरङ, गगन थापाले पोखरा, अर्जुननरसिंह केसीले गृहजिल्ला नुवाकोटमा आयोजित विरोध सभालाई सम्बोधन गरेका थिए ।
काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेस नेता प्रकाशमान सिंहले संघीयता लागू गर्न सरकार इमान्दार नबनेको आरोप लगाए । नेता सिंहले दुई तिहाइको वाम सरकारले संविधान कार्यान्वयन गर्न नसके कांग्रेसले कार्यान्वयन गर्ने दाबी गरे । उनले दुई तिहाइ प्राप्त सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कमजोर ठानेमा भूल हुने चेतावनी दिए ।
सरकार विरूद्ध सोमबार काठमाडौंमा आयोजित प्रदर्शनपछि कोणसभामा सिंहले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार विधिको शासनमा चुकेको आरोप लगाए । “राणा, पञ्चायत र राजतन्त्र ढाल्न नेतृत्व गरेको कांग्रेसको जिम्मेवारीपनलाई सरकारले कमजोरी ठान्यो भने जनताले जवाफ दिन्छन् । त्यो समयमा यो सरकारले बिदा लिन्छ,” उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सत्तापक्षले परराष्ट्र सम्बन्धमा राष्ट्रिय हितभन्दा पार्टीको हितमा काम गरेको आरोप लगाउँदै मुलकमा भ्रष्टाचार बढेको टिप्पणी गरे । पूर्वसभामुख तारानाथ रानाभाटले सरकारका गलत कार्यको निन्दा गर्दै सजग गराउन पार्टीले विरोध प्रदर्शन गरेको बताए ।
कार्यक्रममा सांसदद्वय भीमसेनदास प्रधान र राजेन्द्रकुमार केसीले सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको र भ्रष्टाचारका आरोपीलाई कारवाहीका लागि आवश्यक तदारुकता नदेखाएको आरोप लगाए ।
काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ (सबुज) र नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईंले सरकारले प्रतिपक्षी दलप्रति निषेधको राजनीति गरेको आरोप लगाउँदै सरकारलाई गलत कार्य गर्नबाट रोक्न पार्टीले खबरदारी गरिरहने बताए । सभाअघि विभिन्न नारासहितको जुलुशले नगर परिक्रमा गरेको थियो ।
माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ६ वटा मुद्दाहरू अघि सारेर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले चिकित्सा शिक्षा विधेयक, कांग्रेस नेताका नाममा खुलेका अस्पताल केन्द्रबाट हटाउने, संवैधानिक परिषद् बैठक, हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध, महँगी, भ्रष्टाचार तथा अनेक जनविरोधी निर्णय र जिल्लास्तरमा रहेका स्थानीय मुद्दा उठाएको थियो । जसमध्ये चिकित्सा शिक्षा विधेयकका विषयमा अनसनरत डा. गोविन्द केसीले अनसन तोडिसकेका छन् भने कांग्रेस नेताका नाममा खुलेका अस्पताल केन्द्रबाट हटाउने निर्णयबाट सरकार पछि हटिसकेको छ ।

विराटनगरमा पनि प्रदर्शन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार विराटनगरमा पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार, महँगी, बलात्कार बढेको भन्दै कांग्रेसले विराटनगरमा प्रदर्शन गरेको हो ।
यस्तै देशमा सुशासन कायम गर्न नसकेको, सुरक्षा दिन नसकेको पनि कांग्रेसले आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयकमा आफ्ना सरोकारहरू नसमेटिएको भन्दै कांग्रेस रुष्ट बनेको हो । विरोधपछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले दुई तिहाईको सरकारले जनअपेक्षाअनुसार काम गर्ला भनी कांग्रेसले आशा गरेको बताउँदै त्यसको उल्टो जनताको चाहनाविपरीत ओली सरकार लागेको आरोप लगाए ।
कार्यक्रममा अन्य वक्ताहरूले संसदीय सर्वोच्चता कायम गर्नुपर्ने, राज्य आतंक बन्द गर्नुपर्ने, संसदीय मर्यादा पालना गर्नुपर्ने, ३३ किलो सुनकाण्डका गिरोहलाई कारबाही गर्नुपर्नेलगायतका माग गरेका थिए ।

संघीयता असफल बनाउने षड्यन्त्र भयो : प्रवक्ता शर्मा
चितवनमा आयोजित विरोधसभामा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संघीयतालाई असफल बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । कांग्रेस चितवनले आयोजना गरेको विरोध प्रदर्शनमा उनले अहिले लोकतन्त्र, संघीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको बताएका हुन् ।
प्रदेश सरकारको नामाकरण गर्न र राजधानी तोक्ने विषयमा सरकारले समन्वय गर्न नसकेको उनले बताए । प्रदेश सरकारलाई दिइने अधिकारका विषयमा पनि केन्द्रीय सरकारले अहिलेसम्म निर्णय गर्न नसक्दा संघीयता असफल बनाउने खतरा बढेको उनको भनाइ थियो ।

सरकार समृद्धिको बाटोमा हिँड्न सकेन : पौडेल
उता, नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको विरोध सभामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाए । नेता पौडेलले सरकारका मन्त्रीहरू काममा भन्दा फोटो खिचाउनमा मात्रै व्यस्त रहेको आरोप लगाउँदै विकास अवरुद्ध पारेर सरकारले सोचेको समृद्धि पूरा नहुने बताए । वरिष्ठ नेता पौडेलले शान्ति सुरक्षा, विकास र सुशासनमा सरकार असफल भएको दाबी गरे ।
उनले भने, “सुनकाण्डका ठूला माछा कहाँ गए ? वाइड बडीमा भ्रष्टाचार गर्ने कहाँ छन् ? उनीहरूलाई बचाउन खोजिएको आभास हुँदैछ ।” वरिष्ठ नेता पौडेलले अख्तियार र सर्वोच्च अदालतलाई तर्साएर सरकारले आफूखुशी काम गर्न थालेको आरोप लगाए । उनले भने, “दश हजार घुस खाने पक्राउ पर्छन्, तर अर्बौंको भ्रष्टाचार गर्नेलाई छुट दिइएको छ ।”
कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसलाई गाली गरेर मात्रै देश समृद्ध नबन्ने बताए । उनले दुई तिहाइ सरकारलाई असफल हुने छुट नरहेको भन्दै सरकारले राम्रो काम गर्नुपर्नेमा जोड दिए । प्रतिपक्षी दलको नेताको उपस्थिति बिना संवैधानिक परिषद्ले गरेको निर्णय बदर नभएसम्म कांग्रेसले आन्दोलन जारी राख्ने नेता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्