गण्डकी प्रदेशमा ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोनाविरुद्धको खोप «

गण्डकी प्रदेशमा ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोनाविरुद्धको खोप

पोखरा – गण्डकी प्रदेशमा हालसम्म ५ लाख ९१ हजार ९ सय ४७ जनालाई कोरोना बिरुद्धको खोप उपलब्ध गराइएको छ । प्रदेश सरकारले हालसम्म दोश्रो डोजको रूपमा उक्त संख्यामा खोप उपलब्ध गराएको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताए ।

हालसम्म कोभिडविरुद्धको पहिलो खोप ६ लाख ८५ हजार ५ सय ८० जनालाई उपलब्ध गराइएको उनले जनाए । त्यसैगरी मनाङ र मुस्ताङ जिल्लालाई साउन १९ गते नेपालमै पहिलो पटक कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको मुख्यमन्त्री पोखरेलले दाबी गरे । यस बर्ष हालसम्म बाढी पहिरोको कारण पूर्णरूपमा क्षति भएका घरहरूको पुनर्निर्माणका लागि प्रति घर एक लाखका दरले राहत सहयोग उपलब्ध गराउने निर्णय भए अनुरुप विभिन्न जिल्लाका जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा हुने गरी १ करोड ३७ लाख उपलब्ध गराइएको पोखरेलले जनाए ।

गत आर्थिक वर्षको बाढी पहिरोबाट क्षतिग्रस्त निजी आवासहरूको पुनर्निमार्णका लागि प्रदेशले बेहोर्नु पर्ने रकम स्वरुप ६ करोड ७ लाख २० हजार विभिन्न जिल्लाको जिल्ला विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ । यस अवधिमा निजी धारा तथा आधारभूत खानेपानीमार्फत थप २.३३ प्रतिशत जनसंख्यासमेत गरी हालसम्म कुल ९३.६३ प्रतिशत जनसंख्यामा आधारभूत स्तरको खानेपानी पहुँच पुगेको मुख्यमन्त्री पोखरेलले दाबी गरे ।

उनका अनुसार भौतिक पूर्वाधारतर्फ यस अवधिमा सञ्चालित विभिन्न योजनाहरूमा २० किमि सडक कालोपत्रे र १० कि.मि सडक ग्राभेल गरिएको छ । त्यस्तै प्रदेश सरकारका यातायात कार्यालयहरूमार्फत एक सय दिनको अवधिमा ४४ करोड ५१ लाख ५९ हजार राजस्व संकलन गरिएको छ ।
जनयुद्ध र जनआन्दोलनका योद्धा, घाइते, अपांग एवं सहिद परिवारका व्यक्तिहरूलाई गण्डकी प्रदेश सरकार अन्तर्गतका सरकारी अस्पतालबाट उपलब्ध गराइने स्वास्थ्य सेवा निःशुल्क रूपमा उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र स्वीकृत गरिएको मुखयमन्त्री पोखरेलले जनाए । पोखरेल नेतृत्वमा आएको नयाँ सरकारको एक सय दिनको अवधिमा प्रदेश सरकार मन्त्रिपरिषद्को १४ वटा बैठक बसेको छ ।

प्रतिक्रिया दिनुहोस्