जुम्लाका २५० विपन्नले पाए सुरक्षित आवास «

जुम्लाका २५० विपन्नले पाए सुरक्षित आवास

जुम्ला – तातोपानी गाउँपालिका–२ जर्मी गाउँका हरिसिंह दमाईले सुरक्षित आवास पाएपछि निकै खुसी छन् । आर्थिकस्थिति कमजोर भएका दमाई पुरानो जीर्ण घरमा बस्दै आएका थिए । उनलाई वडाले जनता आवास निर्माणका लागि छनोट गरेको थियो । भने, पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाउँदा दमाई मख्ख छन् । गएको केही महिना पहिले शनिबारको साइत गरेर परिवारनै नयाँ घरमा सरेको हरसिंह दमाई बताउँछन् ।
उनी भन्छन्, ‘अन्तिम किस्ता पाउन त बाँकी छ । तर बस्ने सुरक्षित आवास पाइयो त्यसमै खुसी छु । पुरानो घरमा पानी पर्दा रातभरी जाग्राम बस्नुपथ्र्यो । अहिले निकै सुरक्षित महसुश भएको छ ।’
त्यस्तै सोही जर्मी गाउँका कन्न कामीले पनि जनता आवास कार्यक्रमको सुरक्षित आवास पाएका छन् । छोरा बुहारीबाट छुट्टै बसेका कामीमा श्रीमान–श्रीमती पुरानो भत्कीएको घरमा बस्थे अहिले जनता आवासको घर बसिरहेका छन् ।
सरकारी लगानी र प्राविधिक स्टमेट बाट बनेको भुकम्प प्रतिरोधी घर पाउँदा कन्न कामी पनि औधी खुसी छन् । आर्र्थिक हिसाबले अति विपन्न कामी बासको ग्यारेन्टी भएपछि गाँस र कपासका लागि मेहनत गर्ने हौसला मिलेको बताउँछन् ।
तातोपानीका हरसिंह र कन्न जस्तै जुम्लाका २ सय ५० विपन्न नागरिकले गत आव २०७७-७८ मा जनता आवास कार्यक्रम अन्तरर्गतका सुरक्षित आवास पाएका छन् । एक नगरपालिका सहित ७ गाउँपालिकाका २ सय ५० जना विपन्न नागरिक सुरक्षित आवास निर्माण सम्पन्न भई प्रयोगमा आएको पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुप बहादुर रावलले बताए ।
उनले भने, “घर निर्माण कोरोना कहरका बीच पनि समयमै सम्पन्न भएका छन् । तर बजेट अभावले अन्तिम किस्ता दिन बाँकी छ । पटक–पटक माग गर्दा पनि बजेट आएको छैन । पहल जारी छ ।”
लाभग्राहि छनोट देखि निर्माणका क्रममा कार्यालय प्रमुख रावलले स्वयम परामर्श गरेका कारण विगतको तुलनामा घरहरु प्रयोगमा आएका छन् । जनशक्ति अभावका बीच एकै प्राविधिकको भरमा जिल्लाका आठै तहमा पुगेर अनुगमन निरिक्षण गरी जनता आवासका घर समयै निर्माण भएका थिए ।
प्रमुख रावल भन्छन्, “जनता आवाससका लाभग्राहिलाई अन्तिम किस्ता दिन बाँकी छ । करिब २ करोड ३५ लाख बजेट अपुग छ । माग गरेका छौ । बजेट आउने बित्तिकै लाभग्राहिको खातामा पठाउँछौं ।”
लाभग्राहीले किस्ता हाल्न ताकेता गरेपनि बजेट निकासा नभएकोले परामर्श गर्दै बजेट आएको छैन भन्दै पठाउने गरेको उनको भनाई छ ।
प्रतिव्यक्ति ३ लाख ३६ हजारका दरले विनियोजित ८ करोड ७५ लाख बजेटमध्य पहिलो किस्तामा प्रतिव्यक्ति ८४ हजारका दरले २ करोड १० र दोस्रो किस्तामा ६५ हजारका दरले १ करोड ६२ लाख ५० हजार लाभग्राहीका खातामा पठाइएको छ । साथै तेस्रो किस्ता पनि लाभग्राहीको खातामा गइसकेको छ भने अन्तिम किस्ता मात्रै बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्