संरचना निर्माण धमाधम «

संरचना निर्माण धमाधम

आठौं राष्ट्रिय खेलकुद

बाँके-प्रदेश नम्बर ५ का विभिन्न जिल्लामा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिता अन्तगर्तका मुख्य खेल हुने बाँकेको नेपालगन्ज रंगशालामा यतिबेला धमाधम संरचना निर्माण भइरहेका छन् । प्रतियोगिताको तयारी स्वरुप गत वर्षदेखि विभिन्न पूर्वाधार निर्माण थाले पनि बल्ल निर्माणले गति लिएको हो ।
यसपटक बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रुपन्देहीमा हुने आठौं खेलकुदका मुख्य खेल बाँकेको नेपालगन्ज रंगशालामा हुनेछन् । प्रतियोगिता अन्तर्गत बाँकेमा १७, बर्दियामा ५, दाङमा ६, रुपन्देहीमा ४ र कपिलवस्तुमा १ वटा खेल हुनेछन् । त्यसका लागि सबैभन्दा ठूलो पूर्वाधार नेपालगन्ज रंगशालाको पुनर्निर्माण तथा भौतिक संरचनाको मर्मत हो ।
प्रतियोगिता सम्पन्न गर्न एक अर्ब पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश ५ का बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलवस्तुलगायतका जिल्लामा खेल पूर्वाधार निर्माणमा भने ७० करोड खर्च हुने अनुमान गरिएको छ ।
यतिबेला आठौँ खेलकुदका लागि खेल हुने जिल्लामा रंगशालालगायत विभिन्न संरचनाको काम गर्न कामदारलाई भ्याइनभ्याई छ । क्षेत्रीय खेलकुद विकास समितिका अनुसार हालसम्म संरचना निर्माणको काममा ८० प्रतिशत भौतिक प्रगति भएको छ भने करिब २७ करोड भुक्तानी भइसकेको छ ।
हाल पौडी पोखरी, सुटिङ रेन्ज र भारोत्तोलनको काम अन्तिम चरणमा पुगेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए । “पुरानो कर्भड हल रंगरोगन र मर्मत सम्भार भइसकेको छ,” उनले भने, “दर्शक बस्ने पुरानो प्यारापिट मर्मत गरी तीन स्टेप उत्तर दक्षिणतिरको ६ हजार ५ सय क्षमताको नयाँ प्यारापिट निर्माण सकिएको छ ।”
त्यस्तै ३ हजार ५ सय दर्शक क्षमताको भीआईपी प्यारापीटको चीनबाट आयात भइरहेको बताइएको छ ।
हाल फाउन्डेसनको काम भइरहेको र चीनबाट ल्याइरहेको तयारी प्यारापीट माघ २४ गते यहाँ आइपुगेपछि फिटिंग गरिने आयोजकले जनाएको छ । हाल रंगशालामा मुलुकमै पहिलो पटक बर्मुडाग्रास (घाँस) रोपिएको छ । फुटबल प्रतियोगिताका लागि ४० लाख रुपैयाँ खर्च गरेर भारतको कोलकाताबाट उक्त घाँस ल्याइएको हो  ।
हाल १५ करोडको लागतमा निर्माण भइरहेको पौडी पोखरीको प्यारापिट हाइलिंग बाँध्ने, सेटरिंग गर्ने काम भइरहेको र भारत्तोलनको खेल खेलाउने तल्लो तलाको काम सकिएको आयोजकले जनाएको छ । त्यस्तै खजुरामा ३ हजार ५ सय दर्शक क्षमताको भलिबल र कोहलपुरमा क्रिकेट मैदानको काम तीव्र गतिमा अघि बढेको समितिले जनाएको छ ।
अब संरचना निर्माण अभावमा खेल हुन नसक्ने अवस्था नरहेको खेलकुद सचिवालयले जनाएको छ । कामको गति निकै तीव्र गतिमा भइरहेको र कुनै अवरोध नआए प्राविधिक दृष्टिकोणले काम एक महिनामा सकिने आठांै राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार निर्माणका प्राविधिक प्रमुख विश्वमित्र संज्यालले बताए । “कामले तीव्रता पाएको छ,” उनले भने ।
प्रतियोगिता अन्तर्गत बर्दियामा निर्माणाधीन खेल पूर्वाधारमध्ये गुलरिया नगरपालिकामा बहुउद्देश्यीय हल, बाँसगढी नगरपालिकामा कबड्डी हल, ठाकुरबाबा नगरपालिकामा खो–खो हल र ट्र्याक निर्माण भइरहेका छन् भने दाङमा बेलझुण्डी रंगशाला, घोराहीमा बास्केटबल कोर्ट, लमही क्रिकेट मैदान र तुल्सीपुरमा कराते कर्भड हल निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । त्यस्तै कपिलवस्तुमा १० लाख मैदान सम्याउनमा खर्च भएको र रुपन्देहीमा लंग टेनिस कोर्ट, एन्फा एकेडेमीको प्यारापीट बनाउने, भैरहवा क्रिकेट मैदान निर्माण भइरहेको समितिले जनाएको छ ।

अझै मिति तय भएन
सातौं खेलकुद सुरु हुने केही समयअघि मात्रै बजेट निकासा हुँदा विभिन्न समस्या झेलेको राष्ट्रिय खेलकुद परिषद्ले आठौँको तयारी समयमै सक्ने जनाए पनि यसपटक पनि उही समस्या दोहोरिएको छ । फलस्वरुप पटक पटक खेलकुदको मिति सारी सकिएको छ ।
प्रतियोगिता आयोजनाका लागि परिषद्ले ०७५ मंसिर २१ देखि २८ गतेसम्मको मिति तोकेको थियो । तर, पूर्वाधार निर्माणमा ढिलाइ भएपछि अन्तिम समयमा प्रतियोगिता स्थगित गरेर माघ २५ देखि फागुन ३ गतेसम्मलाई नयाँ मिति तोकिएको थियो । सो मितिमा पनि प्रतियोगिता गर्न नसक्ने भएपछि माघ २५ देखि फागुन ३ गतेसम्मलाई नयाँ मिति तोकियो ।
नयाँ तोकेको मितिमा पनि संरचना निर्माण नसकिएको भन्दै फागुन अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने बताइएको छ । तर, मिति भने तय गरिएको छैन । अध्यक्ष ओलीले पटकपटक खेलकुदको मिति सरेकाले अविश्वास हुने हुँदा दिन नै नतोकिए पनि फागुन अन्तिम सातामा खेलकुद हुने बताए । “अब मिति सर्दैन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्