नेवारी परिकारमा के–के खाने त ? «

नेवारी परिकारमा के–के खाने त ?

सरकारले निषेधाज्ञा फुकुवा गरेसँगै कलकारखाना, होटल–रेस्टुराँ, अफिस र कम्पनीहरू खुलिसकेका छन् । हुन त स्मार्ट लकडाउन भन्ने लागू हुँदा पनि धेरै भीडभाड नगर्ने सर्तले धेरै होटल–रेस्टुरेन्ट खुलिरहेका थिए । सामाजिक सन्जालमा खानाको परिकारका तस्बिर, भिडियो, धेरै ठाउँमा घुम्न गएको तस्बिर र परिकारका तस्बिर तथा भिडियोहरू राख्ने गर्छन् । टिकटकमा निकै नै फेमस सःस कीर्तिपुरको पुरानो नेवारी खाजाघरको नयाँ ठाउँको रूप र नेवारी परिकारको विभिधताका कारणले निकै नै भाइरल भयो । नेवार समुदायलाई खानाको सोखिन मानिन्छ । परम्परादेखि नै नेवार समुदाय खानेकुराको विविधताका लागि प्रख्यात छ । नेवारी परिकार अन्य समुदायका मानिसले पनि मन पराउने गरेका छन् । नेवारी परिकारकै कुरा गर्ने हो भने के–के खाने त भन्नेबारे पनि बुझ्नुहोस् ।

क्वाँटी
नेवारी समाजमा क्वाँटी पूर्णिमा भनेर छुट्टै पर्व नै छ । त्यो दिन जनैपूर्णिमा पनि पर्छ । नौ थरीको सिमी मिसाएर क्वाँटी तयार गरिन्छ, जुन प्रोटिनयुक्त हुन्छ । सन्चो नभएको बेलामा यो खानाले शक्ति मिल्छ ।

समयबजी
नेवारी समाजमा निकै नै प्रचलित खाना समयबजी हो । चाडपर्व अथवा कुनै मुख्य दिनहरूमा यो बनाउने गरिन्छ । यसमा चिउरा, लसुन, भटमास, छोइला, उसिनेको सिमी, बारा, उसिनेको अन्डा, हरियो सागपात, तामाको झोल तरकारी, आचार र घरमै बनाइएको रक्सी हुन्छ । यसलाई विविधतापूर्ण भोजनका रूपमा पनि लिइन्छ ।

चटामरी, यमरी
यी दुवै नेवारी परिकार हुन् । चटामरी गोलो आकारको रोटी हो, जुन तावामा राखेर बनाइन्छ । यसमा इच्छाअनुसार मसला, मासु र अन्डा पनि मिसाएर बनाउन मिल्छ । यमरीको नेवारी अर्थ मनपर्ने रोटी हो । यो खासगरी जन्मदिनमा र यमरी पूर्णिमाको दिन बनाइन्छ । चामलको पीठोबाट बनाइने यो रोटी गोलो आकारमा हुन्छ, जसभित्र खुवा कि त चाकु हालिन्छ ।

आलुतामा
नेवारी परम्परामा खासगरी प्रयोगमा आउने झोल तरकारी हो यो । स्वादमा अमिलो–अमिलो तर मीठो यो तरकारी सिमी, आलु र तामा मिसाएर बन्छ । हरेक नेवारी भान्सामा यो पाउन सक्नुहुन्छ ।

मःम
मःम त्यस्तो परिकार हो, जुन अधिकांश नेपालीले मन पराउँछन् । यो परिकार बफ्याएर बनाइन्छ । धेरै प्रकारको मःम हामीले खान सक्छौँ । यदि तपाईं मांसहारी हुनुहुन्छ भने मटनदेखि लिएर बफसम्मको मःम पाउन सक्नुहुन्छ । शाकाहारी हुनुहुन्छ भने बिनामासुको मःम खान सक्नुहुन्छ । मःमसँग मसालेदार अचारले अझै मःमको स्वादमा मिठास ल्याउँछ । अहिले मःममा निकै विविधता आइसकेको छ । कोथे मःम, सी मःम, फ्राई मःम, झोल मःम, खुला मःम, तन्दुरी मःम, हरियो मःम, खुवा, चिज, पनिर मःम, माछा मःम आदि मःमका केही विविधता हुन् ।
ग्राहकहरू पनि नेवारी खाजाको स्वाद लिन धेरै नेवारी होटलहरूमा गएको पाइन्छ । युवा वर्ग, परिवारिक जमघट गर्ने, मनोरन्जन गर्न वा स्वादको मज्जा लिन नेवारी खाजा भएको ठाउँतिर खानाका पारखीहरू आकर्षित भएको पाइएको छ । काठमाडौं उपत्यकाभित्र करिब ८० प्रतिशत नेवारहरू बसोबास गर्ने अनुमान छ ।
उपत्यकाभित्र रहेर नेवारी खाजाको स्वाद नलिएको व्यक्ति कमै छन् । नेवारी खाजाघर बिस्तारै ब्रान्डको रूपमा पनि स्थापित हुँदै गइरहेको छ । नेवार समुदायभित्र आफ्नो चलनअनुसार खाना धेरै प्रकारको रहेको छ । साना होटलदेखि रेस्टुराँसम्ममा यसको व्यापार बढ्दै गइरहेको छ ।
नेपालमा बसेर केही हुन्न भन्नेहरूलाई राम्रोसँग जवाफस्वरूप नेवारी खाजाघरहरूको लोकप्रियताले देखाएको छ । सोसियल साइटमा धेरै नै चलिरहेको सानो–सानो भिडियो र टिकटकले पनि कोरोनाको कहरमा व्यवसायलाई राहत भने मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्