चिसोले विकासका काम अवरुद्ध «

चिसोले विकासका काम अवरुद्ध

लमजुङ-मुलुकभरका अधिकांश जिल्लामा यतिबेला विकास निर्माणका कामले गति लिएको छ । प्रतिकूल मौसमका कारण हिमाली जिल्ला मनाङमा भने विकास निर्माणको काम ठप्प भएको छ ।
स्थानीय विकास कार्यसूचीअनुसार मुलुकभरिका जिल्लामा विकासका लागि सरकारबाट विनियोजित बजेट सम्झौता सम्पन्न गरी काम गर्ने लहर छ । चारवटा स्थानीय तह रहेको हिमाली जिल्ला मनाङमा भने विकास निर्माणको गति शून्य देखिन्छ ।
सडक, पुल, भवनलगायत पूर्वाधार निर्माणका लागि बजेट विनियोजन भए पनि मनाङमा विकास निर्माणका कामले गति लिएको छैन । अत्यधिक चिसोका कारण र अधिकांश स्थानीयले जिल्ला छोडेपछि विकास निर्माणको काम पनि ठप्प भएको ङिस्याङ गाउँपालिका–१ का अध्यक्ष भुजुङ गुरुङले बताए । “यतिबेला जिल्लामा स्थानीय पनि छैनन्, कर्मचारी पनि बस्दैनन्,” गुरुङले भने, “विकास निर्माणका काम त केही पनि हुँदैनन् ।”
मनाङमा चिसोका कारण अधिकांश स्थानीय जिल्लामा छैनन् । त्योसँगै कर्मचारी पनि विभिन्न बहाना बनाएर जिल्ला छोड्ने गरेका छन् । भौगोलिक विकटताका कारण वर्षात्को समयमा मनाङमा सामान ढुवानीमा समस्या हुने गर्दछ भने असोज सुरु भएसँगै चिसो लाग्ने हुँदा पानी जम्न सुरु हुन्छ । चिसोले पानी जम्न थालेपछि काम गर्न निकै कठिन हुने हुँदा मुष्किलले तीनचार महिनामात्र काम हुने ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले बताए । “असोज लागेपछि चिसो सुरु हुन्छ, फागुनको अन्तिमबाट मात्रै काम सुरु हुन्छ,” अध्यक्ष घलेले भने, “वर्षाको सिजनमा पनि काम गर्न सजिलो छैन, काम हुने त मुष्किलले चार महिनामात्र हो ।”
मनाङका अधिकांश स्थानीय कृषि र पर्यटन व्यवसायमा व्यस्त छन् । स्थानीयका अनुसार एक आर्थिक वर्षमा करिब तीन महिनामात्रै विकास निर्माणको काम गर्न मौसमले साथ दिन्छ । त्यो समयमा पनि दक्ष जनशक्ति अभाव, भौगोलिक विकटता, बाढी पहिरोका कारण ढुवानीमा समस्या हुँदा अपेक्षित उपलब्धि हासिल हुन नसकेको ङिस्याङ गाउँपालिका उपाध्यक्ष मेङखु गुरुङले बताइन् । “धेरैजसो स्थानीय कृषि र पर्यटनमा व्यस्त छन्, कामदार प्रायः बाहिरबाटै ल्याउनुपर्छ,” उपाध्यक्ष गुरुङले भनिन्, “उच्च हिमाली क्षेत्र भएकाले प्रायः कामदार पाउन कठिन हुन्छ ।”
मनाङको मौसम अत्यधिक चिसो हुँदा बाहिरबाट कामदार लगेर कुनै काम गर्न सकिने अवस्था नरहेको स्थानीय बताउँछन् । फागुन लागेपछि मात्र स्थानीय जिल्ला फर्कने र मौसममा पनि केही सुधार हुने भएकाले अझै एक महिना पछिमात्रै विकास निर्माणका कामले गति लिने उनीहरूको भनाइ छ ।
सन्देश पौडेल-नेगम परियार

प्रतिक्रिया दिनुहोस्