नेपालमा वैदेशिक लगानीका बाधक तत्वहरू — १ «

नेपालमा वैदेशिक लगानीका बाधक तत्वहरू — १

पृष्ठभूमि
लगानी त्यस्तो तत्व हो, जसले उत्पादन र पुनर्उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले लगानीले अर्थतन्त्रमा विशेष महत्व राख्छ । लगानीलाई सामान्यतः देशभित्रको स्वामित्वका हिसाबले सरकारी र निजी क्षेत्रको लगानी भनी विभाजन एक किसिमले गरिएको छ भने देशभित्रको र देशबाहिरको लगानी अर्थात् स्वदेशी र विदेशी लगानी भनी अर्को किसिमले वर्गीकरण गरिएको छ । यहाँ विदेशी लगानीका बारेमा विश्लेषण गरिन्छ । नेपालमा आर्थिक वृद्धि र विकासका लागि हालको १५ औं योजना (आव २०७६-७७ देखि २०८०-८१) अनुसार आव २०७५-७६ को स्थिर मूल्यमा वर्षको करिब रु. साढे १८ खर्बको लगानीको आवश्यकता देखिएको छ । यति धेरै लगानी स्वदेशी लगानीबाट मात्र सम्भव देखिँदैन । हुन त नेपालमा हालसम्म २८ वर्षमा करिब रु. १ सय ९८ अर्ब विदेशी लगानी मात्र भित्रिएको छ, जुन नगन्य हो तापनि यसको विशेष महत्व रहेको छ ।

लगानीका प्रकारहरू
सबैभन्दा पहिले विदेशी लगानीका प्रकारहरूबारे चर्चा गरौं । विदेशी लगानी मुख्यतः चार किसिमका हुन्छन् :
१. प्रत्यक्ष विदेशी लगानी : एउटा देशको व्यक्ति वा कम्पनीले अर्को देशको व्यवसाय वा कम्पनीको नाफाका लागि सेयरमा गरेको लगानी एफडीआई मानिन्छ र यसलाई प्राइभेट फरेन इन्भेस्टमेन्ट पनि भन्ने गरिन्छ । तर, यस्तो सेयरमा लगानी कम्तीमा १० प्रतिशत नगरी यस्तो लगानी मानिँदैन ।
२. विदेशी पोर्टफोलियो लगानी : यस्तो लगानी एक देशका व्यक्ति वा फर्मले अर्को देशको खासगरी म्युचुअल फन्डमा लगानी र कम्पनीको सेयरमा ट्रेडिङ गर्ने उद्देश्यले गरिन्छ । त्यसैले यसलाई विदेशी पोर्टफोलियो लगानी भनिन्छ । क्रस बोर्डर ट्रेडिङ खुला भएका देशका व्यक्ति वा फर्मले मात्र अर्को देशको यस्तो ट्रेडिङमा लगानी गर्न पाउँछ । नेपालमा यस्तो लगानी खुला भएको छैन ।
३. औपचारिक पुँजी प्रवाह : यसमा खासगरी विकसित देशहरू र बहुपक्षीय संस्थाहरूले कम विकसित देशहरूलाई उपलब्ध गराउने वैदेशिक ऋण र अनुदान सहयोग पर्छ । यसैलाई प्रायशः सरकार, अन्तर्राष्ट्रिय संस्थाहरूले उपलब्ध गराउने हुँदा यसलाई औपचारिक पुँजीप्रवाह भनिन्छ ।
४. वाणिज्य ऋण : त्यस्तै गरेर विदेशी संस्था खासगरी बैंकले अन्य देशका कम्पनी वा संस्थालाई दिइने ब्याजदरसहितको ऋण हो र यसैलाई वाणिज्य कर्जा भनिन्छ ।

विदेशी लगानीको महत्व
यसको महत्व देहायको पंक्तिमा प्रस्तुत गरिन्छ :
देशको आर्थिक वृद्धि र विकासको लागि पुँजीको अभावलाई विदेशी लगानीले आपूर्ति गर्छ । विकासोन्मुख देश मात्र होइन, विकसित देशले पनि विदेशी लगानीलाई आकर्षण गरी भित्र्याइरहेका छन् । विश्वमा एफडीआई धेरै भित्र्याउने देशमा विश्वको सबैभन्दा धनी देश अमेरिका नै रहेको छ र साथै यस्तो ठूलो लगानी धेरै भित्र्या उने अन्य देशहरू पनि प्रायशः विकसित देशहरू नै छन् ।
एफडीआईमा पुँजी मात्र भित्रिने होइन, देशको आवश्यकतानुसार प्रविधि हस्तान्तरण पनि गरिन्छ, जुन धेरै महत्वपूर्ण छ । कतिपय अतिकम विकसित, र विकासोन्मुख देशहरूमा विदेशी प्रविधिले विभिन्न क्षेत्रहरूमा कायापलट गरेका कैयौं उदाहरण छन् ।
– एफडीआई कम आय भएका र विकासोन्मुख देशहरूका लागि महत्वपूर्ण फरेन फाइनान्सिङको स्रोत भएको छ, साथै कुनै पनि अर्थतन्त्रको बाह्य क्षेत्रको स्थितिलाई सुधार्न तथा सुदृढ गर्नका लागि पनि एफडीआईको प्रयोग गरिन्छ ।
– देशमा उत्पादन र रोजगारी गतिविधि बढाउन पनि विदेशी लगानी र प्रविधि भित्र्याउने गरिन्छ ।
– व्यवस्थापनको सुधारका लागि पनि विदेशी लगानीलाई व्यवस्थापनमा पनि प्रयोग गरिन्छ ।
– त्यस्तै गरेर विकासोन्मुख देशहरूमा संगठनात्मक सुधारका लागि पनि यस लगानीलाई प्रयोग गरिन्छ ।

नेपालमा विदेशी लगानी
माथि उल्लिखित विदेशी लगानीका प्रकारहरूमा विदेशी पोर्टफोलियो लगानी नेपालमा हालसम्म खुला गरिएको छैन र प्रतिबन्ध नै रहेको छ भने नेपालका वाणिज्य बैंकहरूलाई विगत केही वर्षदेखि विदेशबाट वाणिज्य ऋण लिन अनुमति र प्रोत्साहन गरेको छ, तर नेपालको क्रेडिट रेटिङ हालसम्म पनि नभइसकेको हुँदा अन्य देश वा त्यहाँका संस्थाहरूले यस्तो खालको ऋण प्रवाह गर्न सामान्यतया इन्कार गर्छन् । तैपनि केही वाणिज्य बैंकहरूले आफ्नो सम्बन्धका आधारमा केही यस्तो ऋण ल्याएका छन्, तर यो नगन्य नै छ । त्यस्तै औपचारिक पुँजी प्रवाहमा चाहिँ विकसित तथा बहुपक्षीय संस्थाहरूले ऋण तथा अनुदान सहयोग गरिरहेका छन्, जसको इतिहास लामो छ । तर, यस अध्यायमा प्रत्यक्ष विदेशी लगानी (जुन मुख्यतः २०४९ सालबाट सुरु भएको हो) बाहेक अन्य तीन प्रकारका लगानी बारेमा खासै विवेचना गरिनेछैन ।

नेपालमा प्रत्यक्ष विदेशी लगानी
अब यस अध्यायमा नेपालमा विदेशी लगानीको सम्बन्धमा खासगरी प्रत्यक्ष विदेशी लगानीको स्थिति, लगानीका बाधक तत्वहरू, लगानी आउन नसक्नुुका मुख्य कारणहरूको विवेचनाका साथै यस्तो लगानी र लगानीको वातावरण बनाउनलाई व्यावहारिक सुझावहरू दिने प्रयास गरिएको छ ।
नेपालले २०४१ मा अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्थिक समायोजन कार्यक्रम लागू गरेपश्चात् आंशिक आर्थिक उदारीकरण नीति लागू गरियो, जसअनुसार प्रत्यक्ष विदेशी लगानीसमेत भित्र्याउन सुरु गरियो र यसअनुसार विदेशी बैंकहरूको ५० प्रतिशत स्वामित्वमा २०४१ सालमा नेपाल अरब बैंक (हाल नबिल बैंक) र २०४३ सालतिर नेपाल ग्रिन्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर बैंक) तथा इन्डोस्वेज बैंक (हाल नेपाल इन्भेस्टमेन्ट बैंक) स्थापित भए । यसपछि नीतिगत हिसाबले विदेशी लगानीको केही बाटो खुली अन्य क्षेत्रमा पनि केही लगानीको सुरुआत गरियो ।
वास्तवमा प्रजातन्त्रको पुनस्र्थापनापश्चात् गठित नेपाली कांगे्रसको सरकारले आईएमएफको साफ, इसाफ कार्यक्रम लागू गर्दै त्यही अनुसार विदेशी लगानी तथा प्रविधि ऐन, २०४९ ल्यायो, जसअनुसार प्रत्यक्ष विदेशी लगानीलाई भित्र्याउन धेरै किसिमका सुविधाहरूसहित आकर्षण गरियो । यस ऐनअनुरूप सुरुका केही वर्षहरूमा उत्साहवद्र्धक रूपमा प्रत्यक्ष विदेशी लगानी बढेको थियो, तर २०५१ सालमा संसद् तीन वर्षमै विघटन भई राजनीतिक अस्थिरता सुरु हुनुका साथै २०५२ सालबाट माओवादी द्वन्द्व सुरु भएको थियो ।
तर पनि २०५० सालदेखि २०६२ सालसम्म १२ वर्षमा औसतमा करिब रु. साढे १२ अर्ब र कुलमा रु. १ सय ६३ अर्ब भित्र्याएको थियो भने त्यसपछि १५ वर्षमा औसत करिब साढे २ अर्ब अर्थात् २०७७-७८ आवसम्म रु. ३५ अर्ब थप भई कुल लगानी रु. १ सय ९८ अर्ब पुगेको छ । २०७५ सालमा नयाँ विदेशी लगानी तथा प्रविधि ऐन लागू गरी केही लगानीको क्षेत्र खुला गरी सरकारले विश्व लगानी सम्मेलन पनि ग-यो र त्यस सम्मेलनमा ठूलो रकमको मौखिक लगानी प्रतिबद्धता भए तापनि खास लगानी भने ज्यादै न्यून मात्रामा भएको छ । विगत २५ वर्षमा उद्योग विभागमा विदेशीलगानीको दर्ता गरी प्रतिबद्धता गरेकोमा समेत एकतिहाइभन्दा बढी लगानी भएको छैन । यसमा मुख्यतः अस्थिर सरकारी नीति र तुलनात्मक रूपमा लगानीको वतावरण नवन्नुसहितका धेरै कारणहरू रहेका छन्, जसलाई पछि विश्लेषण गरिनेछ ।
नेपालमा हालसम्म भएको प्रत्यक्ष विदेशी लगानी कुन–कुन क्षेत्रमा भएको छ भन्नेबारेमा तलको तालिकाले प्रस्ट पार्छ । सबभन्दा धेरै लगानी उत्पादनशील तथा खानी उत्खनन र वित्तीय मध्यस्थता क्षेत्रमा क्रमशः २८ प्रतिशत र २७ प्रतिशत रहेको छ भने त्यसपछि विद्युत्, ग्यास र पानीमा २१ प्रतिशत र यातायात भण्डारण र सञ्चार १४ प्रतिशत रहेको छ ।

नेपालमा भएको कुल लगानीमा उद्योगगत लगानीको अंश
उद्योगको किसिम अंश प्रतिशतमा

१. उत्पादनशील तथा खानी उत्खनन २८ प्रतिशत
२. वित्तीय मध्यस्थता २७ प्रतिशत
३. विद्युत्, ग्यास र पानी २१ प्रतिशत
४. यातायात भण्डारण र सञ्चार १४ प्रतिशत
५. अन्य क्षेत्र १० प्रतिशत
कुल १०० प्रतिशत

त्यस्तै अर्को किसिमको वर्गीकरणअनुसार उक्त कुल लगानीको सेवा उद्योगमा झन्डै दुईतिहाइ (६३ प्रतिशत), उद्योगमा एकतिहाइ (३६ प्रतिशत र अन्य क्षेत्रमा करिब १ प्रतिशत रहेको देखिन्छ । (स्रोत : नेराबै)
सन् २०१९ मा विश्वको एफडीआई फ्लोमा अन्य दक्षिण एसियाका अन्य देशहरूको तुलनामा नेपालको प्रत्यक्ष विदेशी लगानीको प्रवाह कस्तो छ ? तलको तालिकाबाट हेरौं । दक्षिण एसियाका नौ देशहरूमा सातौं अर्थात् तलबाट भुटान र अफगानिस्तानपछि नेपालको तेस्रो स्थान रहनुले हाम्रो देश विदेशी लगानीमा कति पछाडि रहेछ भन्ने देखाउँछ ।
विश्व एफडीआई लगानी प्रवाहका आधारमा दक्षिण एसियाका देशहरूको स्थान
देश रकम अमेरिकी अर्ब डलरमा स्थान
भारत ५०.५५ प्रथम
पाकिस्तान २.२२ तेस्रो
बंगलादेश १.६० चौथो
इरान १.५१ पाँचौं
माल्दिभ्स ०.५६ छैटौँ
नेपाल ०.१८ सातौं

अफगानिस्थान ०.०४ आठौं
भुटान ०.०१ नवौं
(स्रोत: नेराबै)

वास्तवमै नेपालमा प्रत्यक्ष विदेशी लगानीको स्थिति ज्यादै नै कमजोर रहेको छ, जुन माथि दक्षिण एसियामा विदेशी लगानीको प्रवाहमा देखाइएअनुसार यो नेपालको नाजुक स्थिति हो । (क्रमशः)

प्रतिक्रिया दिनुहोस्