खोटाङमा सुन्तला उत्पादन घट्यो «

खोटाङमा सुन्तला उत्पादन घट्यो

गत वर्षको तुलनामा यस वर्ष खोटाङमा सुन्तला उत्पादनमा २० प्रतिशतले गिरावट आएको छ । आर्थिक वर्ष २०७३-७४ मा ८ हजार २५० टन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ७ हजार ३८० टन मात्र उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा सुन्तलाको उत्पादनशील क्षेत्र घटेको, फूलेको समयमा बढी हावाहुरी चलेको र चिचिलामा असिना पानीले क्षति पु¥याएका कारण यसवर्ष सुन्तला उत्पादनमा कमी आएको कृषि विकास कार्यालयका बागवानी अधिकृत कौशलकुमार यादवले जानकारी दिए ।
गतवर्ष १ हजार १६० हेक्टरमा सुन्तला लगाइएकोमा ७५० हेक्टर उत्पादनशील क्षेत्रमा ८ हजार २५० टन सुन्तला उत्पादन भएकामा यसवर्ष १ हजार १५ हेक्टरमध्ये ६१५ हेक्टर उत्पादनशील क्षेत्रबाट ७ हजार ३८० टन उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । गत वर्ष १४ प्रतिशतले सुन्तला उत्पादन बढे पनि यस वर्ष २० प्रतिशतले घटेको हो । “सुन्तलाका लागि मौसम प्रतिकूल बन्यो, अर्कातर्फ उत्पादनशील क्षेत्र पनि घटेका कारण उत्पादनमा कमी आएको हो,” बागवानी अधिकृत यादवले भने, “भाउ राम्रो भए पनि सुन्तलाले बजार माग धान्न सकेको छैन ।”
सुन्तला उत्पादनमा आएको कमीका कारण दिक्तेल, खोटाङबजार, हलेसी, चिसापानीलगायतका हाटबजारमा अपेक्षाभन्दा कम मात्रामा सुन्तला बिक्री गर्न ल्याइएका छन् । याम्खा, टेम्मा, चिसापानीको भोर्लेलगायतका कतिपय ठाउँका किसानको बगानमा उत्पादन भएको सुन्तला सिधै ठेकेदारमार्फत तराई निर्यात भएको स्थानीयको भनाई छ ।
दिक्तेल, हलेसी, बाक्सिला, रभुवा, खोटाङबजार, चिसापानीलगायतका बजारमा अहिले प्रतिदाना ५ रूपैयाँ तथा प्रतिकेजी कम्तिमा सयको हाराहारीमा सुन्तला खरिद बिक्री भइरहेको छ । जिल्लामा उत्पादित सुन्तला सबैभन्दा बढी उदयपुरको बेल्टार हुँदै ईटहरी, धरान, विराटनगरलगायत तराईका विभिन्न शहरमा पुग्ने गरेको छ । उत्पादित सुन्तला ठेकेदार मार्फत बाहिरिने गरेको किसान बताउँछन् । जिल्लामा उत्पादित सुन्तलामध्ये ४५ प्रतिशत मात्र बजारसम्म पुग्ने गरेको कृषि कार्यालयले जनाएको छ । जयरामस्थित दूधकोसीमा पक्की पुल तथा फोक्सिङटारस्थित सुनकोसीमा राखिएको अस्थायी बेलिब्रिजका कारण सिधा बाटो खुलेकाले कतिपय सुन्तला जिल्लाबाट सिधै शहर पुराउने वातावरण बनेको छ ।
जिल्लाका याम्खा, लामीडाँडा, टेम्मा, चिसापानी, डम्बर्खुशिवालय, रतन्छा, मंगलटार, सल्ले, काहुले, राजापानीलगायतका स्थानमा व्यावसायिक सुन्तला खेती हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्