नर्सरी खेतीबाट मनग्य आम्दानी «

नर्सरी खेतीबाट मनग्य आम्दानी

बाजुराको बुढीनन्दा नगरपालिका–८ गेणे गाउँका बुँदे रावतले नर्सरी खेतीबाट राम्रो आम्दानी गरेका छन् । भारतबाट फर्किएपछि स्वदेशमै केही गर्ने मनसायका साथ २०६० सालबाट व्यावसायिक तरकारी खेती सुरु गरेका रावतले नर्सरी खेती थालेको भने चार वर्ष भयो ।
पिसविन सम्पूर्ण परियोजना र कृषि ज्ञान केन्द्र बाजुराको अनुदानसहित ज्ञान र सीप पाएपछि नर्सरी खेती राम्रो भएको रावतको भनाइ छ । नर्सरी खेतीबाटै वार्षिक एक लाख रुपैया बचत हुने उनले बताए ।
अर्काको भारी बोक्नुपर्ने र गाली खाएर बस्नुपर्ने कुरा सहन नसकेर स्वदेशमै फर्किएका रावत हाल सफल नर्सरी कृषकको परिचयले चिनिन्छन् । पूर्वी उत्तरी क्षेत्रमा पर्ने कोल्टी क्षेत्रमा आवश्यक बिरुवा आफ्नै नर्सरीबाट जाने गरेको उनको भनाइ छ । स्याउ, ओखर, कागती, सुन्तला, मौसम, किवी, आरु आदिका बिरुवा रावतको नर्सरीमा पाइन्छ । केवल दुई कक्षा पढेका रावत आफैं हिसाबकिताब गर्ने र बिरुवामा देखिने अधिकांश समस्याबारे जानकारी राख्छन् ।
छोराछोरीको पढाइलेखाइसहित परिवारको खर्च नर्सरीबाटै रावतले धानेका छन् । कमल फलफूल नर्सरी चलाएका रावत नमूना कृषकका रूपमा चिनिएको पिसविनका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकायाले बताए । पिसविनले आर्थिक अनुदानसहित ज्ञान, सीप, प्रविधि र औजार उपकरणसमेत सहयोग गर्ने गरेको परियोजनाका प्रमुख गोविन्द थापाको भनाइ छ ।
नर्सरी खेतीसँगै उनले मौरीपालन पनि गरेका छन् । धान, गहुँ लगाएर मिहिनेतको फल आए पनि गुजारा मात्र हुने भएकाले पेसालाई व्यावसायिक र आधुनिक ज्ञान, सीप तथा प्रविधिसँग जोड्नुपर्नेमा रावतको जोड छ ।

प्रतिक्रिया दिनुहोस्