ऊर्जाको ६ महिनाको वित्तीय प्रगति २१ प्रतिशत मात्र «

ऊर्जाको ६ महिनाको वित्तीय प्रगति २१ प्रतिशत मात्र

चालू आर्थिक वर्षको ६ महिनामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ऊर्जातर्फ २१ प्रतिशतमात्र वित्तीय प्रगति भएको छ । ऊर्जाको ८१ अर्ब ९७ करोड ९४ लाख बजेटमध्ये ६ महिनामा १७ अर्ब २० करोड ८४ लाख रुपैयाँ खर्च भएको हो । ऊर्जासचिव दिनेश घिमिरेले ६ महिनामा ऊर्जातर्फ २१ प्रतिशत खर्च भएको जानकारी दिए । “सरकारको समग्र खर्चको तुलनामा ऊर्जा क्षेत्रको खर्च सन्तोषजनक देखिएको छ । तर, बजेटको आधारमा कम नै खर्च देखिन्छ,” उनले भने । ६ महिने वित्तीय प्रतिवेदनअनुसार ऊर्जा मन्त्रालय र यस अन्तर्गतका निकायका लागि २५ अर्ब ५६ करोड ४४ लाख बजेट विनियोजन भएकोमा ५ अर्ब ८५ करोड २८ लाख अर्थात २३ प्रतिशत खर्च भएको छ भने विद्युत् प्राधिकरण र विद्युत उत्पादन कम्पनी र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको गरी ५६ अर्ब ४१ करोड ५० लाख रुपैयाँ रहेकोमा ११ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अर्थात २० प्रतिशत मात्र खर्च भएको छ । प्राधिकरणको मात्र २१.३७ प्रतिशत खर्च भएको ऊर्जा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्