पहिरोले बुस्तीका ४० घर जोखिममा

चरिकोटदेखि जिरी पुग्ने सडक दोहोरो लेनमा विस्तार भएपछि सवारी र यात्रुको यात्रा सहज भएको छ । चारदशक साँघुरो सडकमा भइरहेको यात्रा सडक विस्तारपछि झन सहज भएको हो ।
चिल्लो कालोपत्रे सडकमा दैनिक सयौं सवारीमा हजारौं यात्रुले ढुक्कले यात्रा गर्छन् तर त्यही सडक विस्तारपछि वैतेश्वर गाउँपालिका–६ बुस्तीका नवराज उप्रेतीको न दिनको भोक न रातको निद्रा भएको छ । सडक विस्तारका क्रममा थुपारेको माटो वर्षात्का कारण पहिरो जाँदा खेतबारी त बिग्रियो बस्ने बास पनि कहिले लैजाने हो टुंगो छैन । तामाकोसी नदीभन्दा केहीमाथि रहेको सडक वर्षात्का कारण पाँच सय मिटर जति चर्किएको छ । पहिरोले थप क्षति नपु¥याओस् भनेर रोकथामका लागि उप्रेतीले सडक विस्तार आयोजना कार्यालय र जिल्ला विपद् व्यवस्थापन समितिलाई समेत निवेदन दिइसकेका छन् । बेलैमा पहिरो रोकथाम नगर्ने हो भने बुस्तीका ४० बढी घर उच्च जोखिममा परेको उनले बताए ।
६ वर्षअघिको भूकम्पका कारण पनि त्यस क्षेत्रमा एक सय मिटर भन्दा बढी क्षेत्रको आधार सडक भासिएको थियो । त्यही क्षेत्रमा सडक विस्तारपछि पनि सडक चर्किएकाले पानी पसेर पहिरोले ठूलै क्षति पु¥याउने हो कि भन्ने स्थानीयमा त्रास भएको स्थानीय राजेश उप्रेतीले बताए ।
क्षति रोकथाम पनि सँगसँगै
लामोसाँघु–जिरी ११० किलोमिटर सडक ३० वर्षपछि विस्तार भएको हो । सडक विस्तारका क्रममा ठाउँ ठाउँमा पहिरो र भू–क्षयले स्थानीयको खेतबारीसमेत क्षति भएको छ । सडक विस्तार आयोजना प्रमुख कृष्णप्रसाद पन्तले सडक विस्तारका क्रममा क्षति न्यूनीकरण हुने गरी काम गरिरहेको बताए । “सडक विस्तारपछि पनि पहिरो गएका र सडक चर्किएका ठाउँको स्थलगत अध्ययन हुँदैछन्,” उनले भने, “प्राविधिक रूपमा रोकथामका लागि कुन उपायबाट हुन्छ थप क्षति हुन दिँदैनौ ।”
सडक विस्तार तीन खण्डमा भइरहेको छ । पहिलो २५ किलोमिटर खण्ड सुरु भएको दुई वर्ष ढिला गरी पूरा भएको छ भने दोस्रो ३० किलोमिटर खण्ड ६ वर्षसम्म अलपत्र छ । तेस्रो ५५ किलोमिटर खण्डको भने समयमै पूरा गर्ने गरी काम जारी छ ।
तेस्रो खण्ड वातावरणमैत्री बनाउन सडक विस्तारसँगै चाँडै हुर्किने र माटोलाई बलियो गरी समाउने किसिमका घाँस र विरुवासमेत रोमिएको सडकको परामर्शदाता डा. राजेन्द्र पौडेलले बताए । पहिलो र दोस्रो खण्डमा डिजाइनमा समावेश नभएता पनि तेस्रो खण्डमा बायोइन्जिनियरिङको काम सँगसँगै जारी रहेको छ । बायो इन्जिनियरिङले पहिरो र भू–क्षय रोकथाम गर्ने र चाँडै हरियाली पनि हुने उनले बताए ।
लामो सडकको दर्जनौं ठाउँमा सडक विस्तारकै कारण पहिरो र भू–क्षय भएका छन् । सामान्य पहिरो बायोइन्जिनियरिङबाट रोकिएका छन् । कतिपय ठाउँमा भूगोलकै कारण ठूला पहिरो र लेदो बढी बगिरहेकाले त्यसलाई थप अध्ययन गरेर अन्य उपायबाट समेत पहिरो संरचना बनाउने योजना छ ।
चर्नावतीे क्षेत्रमा मेसिन चलेन
सडक विस्तारका क्रममा धेरै ठाउँमा मेसिनको प्रयोग गरेर भित्तो काट्ने र छेउ उठाउने काम भए । यसरी नै ४ मिटर चौडाइका सडक ९ मिटरका भएका छन् । तर यही सडकको चर्नावती वन क्षेत्रमा न त भित्तो काटियो न छेउबाट उठाइयो ।
स्वीस सरकारको सहयोगमा लामोसाँघु–जिरी सडक २०४४ सालमा नै कालोपत्रे भएर सञ्चालनमा आएको हो । तत्कालीन अवस्थामा पनि सडक निर्माणपछि चर्नावतीे क्षेत्रमा ठूलो क्षति भएको थियो । त्यसबेला चर्नावतीेको पहिरो रोकथामका लागि सिंगो सडक निर्माणमा भन्दा धेरै खर्च भएको थियो ।
चर्नावतीे पहिरो रोकथामका लागि बायोइन्जिनियरिङ र अन्य थप संरचना बनाएकाले सडक विस्तारका क्रममा कुनै पनि संरचना चलाइएको छैन । “चर्नावतीे पहिरो क्षेत्रको पहिरो अहिले पूर्णरूपमा रोकथाम भएको छ,” सडक विस्तार अयोजना प्रमुख पन्तले भने, “त्यस क्षेत्रमा चलाउने बित्तिकै पुनः ठूलो जोखिम लिनुपर्ने हुँदा भएकै संरचनालाई मिलाउने मात्र काम हुन्छ ।” चर्नावतीे पहिरो क्षेत्र डेढ किलोमिटरभन्दा बढी छ । अहिले त्यस क्षेत्र जंगलले ढाकिएको छ ।