चन्दननाथका हिलाम्य सडक सुधार नहुँदा सास्ती «

चन्दननाथका हिलाम्य सडक सुधार नहुँदा सास्ती


जुम्लाको चन्दननाथ नगरपालिकाका हिलाम्य सडक अझै सुधार हुन सकेका छैनन् । स्थानीय सरकार सञ्चालनको चार वर्ष बितिसक्दा पनि जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाभित्रका हिलाम्य सडक सुधार हुन सकेका छैनन् ।
नेपाल टेलिकम हँुदै सिंगाचौर जाने सडक, पत्रकार महासंघ हुँदै सिंगाचौर जाने सडक टेलिकम अगाडि विजयनगर हुँदै बसर्पाक जाने सडकलगायत चन्दननाथका भित्री सडक वर्षौदेखि हिलाम्य छन् भने चन्दननाथ ८, ९, १० नम्बर वडाका गाउँ पुग्ने सडक पनि हिलाम्य छन् । नगरपालिकाभित्रकै कर्णाली भनेर चिनिने वडा नंंंं. ८ मा संचार, विद्युत् तथा सडकको विकास अझै हुन सकेको छैन । गाउँमा पुगेका तथा सदरमुकामभित्रका कच्ची सडक सुधार तथा स्तरवृद्धिमा नगरपालिकाको ध्यान नपुग्दा स्थानीयले सास्ती पाएका छन् ।
चन्दननाथ नगरपालिका–४ का स्थानीय पेमा लामा भन्छन्, “नगरपालिकालाई कर तिर्न पनि मन लाग्दैन । नत राम्रो सडक, न नियमित पानी आउने । हिलाम्य सडक आवतजावतमा मुस्किल छ । जनप्रतिनिधिको कार्यकाल सकिन लागिसक्यो सडक सुधार हुने टुंगो छैन ।”
पत्रकार महासंघ हँुदैभित्र जाने सडकमा घर भएका लामा चन्दननाथका भित्री सडकमा हिउँदमा धुलो र बर्खामा हिलोले हुनाले सास्ती भएको बताउँछन् । केही दिन यता नियमित वर्षा भएपछि नगरपालिका आधा दर्जन भित्री सडक हिलाम्य ज्येष्ठ नागरिक र अध्ययन गर्न जाने विद्यार्थीलाई हिँड्न पनि मुस्किल भएको छ ।
त्यस्तै टेलिकम अगाडिको सडक कालोपत्रे गरेको एक वर्ष नबित्दै हिलोले पुरिएको छ । नगरपालिकाले नाली व्यवस्थापनदेखि हिलाम्य सडकलाई आरसीसीसम्म गर्न सकेको छैन । जसका कारण हिलाम्य सडकबाट आउने हिलोले कालोपत्रे एकै पुरिएको हो ।
गाउँगाउँका सडक आरसीसी भइसक्दा समेत स्मार्ट सिटि बनाउने सपना बाँडिएको नगरपालिका भित्री सडक हिलाम्य हुनु दुःखद पक्ष भएको नागरिक अगुवा राजबहादुर महतको भनाइ छ । सडक, बत्ती, खानेपानीजस्ता आधारभूत विकासमा नगरपालिकाको ध्यान जानु पर्नेमा त्यसो हुन नसकेको महतले बताए ।
चन्दननाथ–६ का वडाध्यक्ष अजबहादुर रावलले विजयनगर र पत्रकार महासंघ हुँदै एमाले पार्टी कार्यालयसम्मको सडक स्तरवृद्धि गर्न गत वर्ष नै ठेक्का भएको बताए । तर पनि नगरपालिकाकै ढिलासुस्ती, निर्माण व्यवसायीलाई ताकेता नदिएकै कारण ढिलाइ भएको उनको भनाइ छ । उनले भने, “टेण्डर भएको एक वर्ष भयो । काम भएको छैन । कार्यान्वयन तहमा हामी नहुँदा काम गर्न गाह्रो छ । किन ढिलाइ भयो बुझ्नै पर्छ ।”
यता चन्दननाथ नगरपालिकाका इन्जिनियर लोकेन्द्र महतले विजयनगर पत्रकार महासंघदेखि भित्रको सडक चाँडै स्तरवृद्धि हुने बताए । उनले भने, “विजयनगरमा एकसाइट नाला र अर्को साइटमा क्यारी निर्माण हुनेछन् भने पत्रकार महासंघभित्रको सडक आरसीसी हँुदैछ ।” गत वर्ष करिब ४० लाखमा टेण्डर भए पनि लकडाउन र वर्षात्ले काम रोकिएकाले तत्काल काम सुरु गर्न पत्रचारसँंगै ताकेता गरेको हुँदा छिटै हिलाम्य सडक सुधार हुने इन्जिनियर महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्