‘आगामी चैतभित्र सबै नागरिकलाई खोप’ «

‘आगामी चैतभित्र सबै नागरिकलाई खोप’


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्यअनुसार नै आगामी चैत मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने दाबी गरेका छन् ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवनरक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पु¥याउने अभियानलाई प्रभावकारी ढंगले अगाढि बढाइरहेको दाबीसमेत गरे ।
मंगलबार सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेसनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीसँगको सामूहिक भेटमा उनले आफूहरू सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पु¥याउन सफल भएको पनि बताए ।
मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भइरहेको बताए । उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाढि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे । मन्त्री कार्कीले भने, “सबै नेपालीलाई भ्याक्सिन लगाउने काममा सरकार अगाडि बढिरहेको छ, र त्यो लक्ष्य पूरा हुन्छ ।
जनताको जीवन रक्षा नै प्रथम कर्तव्य हो–सरकारको । त्यो दायित्व पूरा गरिराखिएको छ । र त्यसपछि मुलुकलाई स्थिरता दिएर सुशासन कायम गर्दै दिगो शान्ति, दिगो आर्थिक विकासतर्फ हामी अगाढि बढनु पर्दछ । यही अभियानमा हामी सबै छौं । यही अभियभानमा सरकारलाई सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछु ।”
मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भिरतापूर्वक काम गरिरहेको बताए । उनले ‘नो भ्याक्सिन’को अवस्थाबाट मुलुक सामान्य अवस्थामा आउनु ठूलो उपलब्धि भएको तर्कसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्