द्रुतमार्गको प्रस्थानबिन्दु खोकना नै «

द्रुतमार्गको प्रस्थानबिन्दु खोकना नै

कोरियाली कम्पनीले सेनालाई बुझायो द्रुतमार्गको डीपीआर

काठमाडौं–तराई द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा कोरियाली परामर्शदाता कम्पनी सुसुङले डीपीआरको मस्यौदा आइतबार नेपाली सेनालाई बुझाएको छ ।
सेनाका अनुसार निधारित समयभित्रै दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनीले डीपीआर सेनालाई बुझाएको हो । द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डीपीआरका लागि दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडलाई परामर्शदाताको छनोट गर्न सफल भएको थियो । नेपाली सेना र सुसुङ इञ्जिनियरिङ कम्पनीबीच असोज १६ गते द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
अब सेनाले डीपीआर अध्ययन पछि आवश्यक परेमा पुनर्मुल्यांकन गरी छिटै अन्तिम रूप दिने बताएको छ । डीपीआर बन्नुअघि नै नेपाली सेनाले काम थालनी गरे पनि केही खण्डमा डीपीआर नबनेका कारण काम सुरु हुन सकेको थिएन् । मकवानपुरको लेनडाँडास्थित कान्तिराजथप र फास्ट ट्र्याकको मिलन विन्दु रहेको क्षेत्रमा डीपीआर नभएकाले अझै काम अघि बढेको छैन । लेनडाँडा फास्ट ट्र्याककै सबैभन्दा जटिल विन्दु हो ।
एडीबीले गरेको सम्भाव्यता अध्ययनमा यहाँ झण्डै साढे २ सय मिटर अग्लो र निकै लामो पुल प्रस्ताव गरिएको थियो । तर, सेनाका फास्ट ट्र्याक आयोजनाका अनुसार यहाँको भौगर्भिक अवस्थाको विस्तृत अध्ययन गर्दा अग्लो पुल बनाउन उपयुक्त देखिएको थिएन । कोरियाली कम्पनीले दिएको डीपीआर रिपोर्टले यो क्षेत्रमा सुरुङमार्ग निर्माण प्रस्ताव गरेको छ । यस्तै, खोकनालाई नै प्रस्थानविन्दुका रूपमा अध्ययन गरिएकाले सर्ने सम्भावना कम छ । हाल खोकनाका झण्डै आधा द्रुतमार्ग प्रभावितले मुआब्जा बुझेका छैनन् । उनीहरूले द्रुतमार्गको प्रस्थान विन्दु सार्न माग गरिरहेका छन् । सेनाले हाल सजिलो भूभागमा सडकको रेखांकनअनुरूप डाँडा र ढिस्को कटान गर्ने, सम्याउने र खाल्डाखुल्डी भर्ने काम तीव्र रूपमा गरिररहेको छ ।

प्रतिक्रिया दिनुहोस्