भारी वर्षाले गुल्मी सदरमुकाममै क्षति «

भारी वर्षाले गुल्मी सदरमुकाममै क्षति

गुल्मी- सदरमुकाम तम्घासकाे खानीगाउँमा घरमाथि गए राति सामान्य पहिरो खस्याे । सामान्य पहिरोले नसाेचेकाे घटना निम्तायाे । ३ काेठासहित रहेको पक्की १ तले घरमा बिचकाे काेठामा असर पुरायाे । तिलक परियारका ४ छाेरी बीचको काेठामा सुतेका थिए । माइली छाेरी २१ वर्षीया भावना, काइली र कान्छी जुम्ल्याहा छाेरी गंगा र जमुनाकाे घटनास्थलमै मृत्यु भयो । सँगै सुतेकी साइली छाेरी सुजातालाई बुबाले निकाल्न सफल भए ।
उनी सकुशल छिन् । ढाेकाकाे छेउमा सुतेकोले सुजातालाई बचाएकाे बुबा तिलकले बताए । बिवाहा भएकी जेठी छाेरी सुस्मा तम्घासमै काेठा भाडामा बस्छिन् । तिलकका छाेरा थिएनन् । घरको भित्तापट्टी इट्टाकाे एकाेहाेराे पर्खाल भएकोले आएको पहिराे सिधै काेठामा पसेको स्थानीयले बताए । आमा लालमती भावविह्वल अवस्थामा छिन् । उनी र साइली छाेरी सुजाता छिमेकी खेद बहादुर भलामीकाेमा रातिदेखि आश्रय लिइरहेकाे छिमेकी ईश्वर बिकले बताए ।

बुबा तिलक र जेठी छाेरी सुस्मा अस्पतालमा भावना, गंगा र जमुनाकाे शवलाई कुरिरहेका छन् । पहिरोले भत्काएको घरको नजिक रहेका इश्वर बिक र कमला सुनारकाे घर पनि केही जोखिममा रहेकाेले उनीहरुले पनि छिमेकीकोमा आश्रय लिएका छन् । गुल्मीदरबार गाउँपालिका वडा नम्बर १ बाट बसाइँसराइ गरेर तम्घास आएर घर किनेर बसेका तिलकले तम्घास बजारमा सिलाईकटाइ व्यवसाय गर्दै आएका थिए । पहिरो अवलोकन र बुबाआमालाई सान्त्वना दिन पीडितले आश्रय लिएको छिमेकीकाे घर र गुल्मी अस्पतालमा पुगेका रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले नगरले तुरुन्त बस्न, खान र मृतकको शव व्यवस्थापन गर्ने बताए । पीडित तिलकलाई सान्त्वना दिदै नगरप्रमुख भुसालले पैसा भए वा नभए पनि नगरपालिका साथमा रहेको बताएका थिए ।
सदरमुकाम तम्घासमै नगरपालिकाकाे वडा नम्बर ८ खानीगाउँमा भारी वर्षाका कारण घटना घटेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतकहरुकाे शब स्थानीय, सेना र नेपाल प्रहरीले निकालेको थियो । तम्घासकै अर्घाखाँची जीपपार्कमा पनि भारी बर्षाले क्षति पुराएकाे छ ।

प्रतिक्रिया दिनुहोस्