सरकारकै संरक्षणमा गुण्डागर्दीको आरोप «

सरकारकै संरक्षणमा गुण्डागर्दीको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाए ।
अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिए । अनेरास्ववियुको नयाँ नेतृत्वको सपथग्रहणका लागि मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले भयरहित ढंगले जीवनयापन गर्न चाहेको उल्लेख गर्दै त्यसका विरुद्ध सरकार लागे प्रतिवादमा उत्रनुको विकल्प नरहेको पटक पटक दोेहो-याए ।
अध्यक्ष ओलीले सरकारले जनतालाई दुःख दिने काम मात्रै गरेकाले आफूहरूले आपत्ति जनाउनु परेको पनि स्पष्ट पारे । उनले भने,‘सरकार निर्देशित, सरकार सञ्चालित, सरकार संरक्षित गुण्डागर्दी जुन भइराखेको छ, त्यस कुराको पनि तपाईहरूले भण्डाफोर गर्नुपर्छ । र मैले अस्ती बोल्दा पनि भनेको छु–जनता शान्तिपूर्ण ढंगले बाँच्न चाहन्छ । एउटा न्यायपूर्ण समाज होस्, न्यायपूर्ण व्यबहारहोस् । त्यहाँ शान्तिपूर्ण, भयरहित सम्मानजनक व्यवहारहोस भन्ने जनता चाहन्छ । शान्तिपूर्ण ढंगले जीवनयापन गर्न चाहन्छ । तर जनतालाई त्यसरी बस्न दिँदै दिइएन भने जनताले के गर्छ ? प्रतिवाद गर्नु परेन ।
जनता भोलि प्रतिवादमा निस्कन्छ । अथवा असहज, अप्ठ्यारो, प्रतिकूल परिस्थिति आयो भने सरकारले त्यस्तो बेलामा साथ पाउँदैन । सबै चुप लागेर मुकदर्शक भएर हेर्छन् । २०१७ साल हेरे हुन्छ । २०१७ सालमा दुई तिहाई ल्याएको काँग्रेस संसद सबै अपदस्थ गर्दा पनि कांग्रेस केही पनि बोलेन । कोही पनि बोलेन । ३० वर्षसम्म किन चल्यो ? पछि त्यहीँ सिको गरेर ज्ञानेन्द्रले गरेको होईन ? माघ १९ । माघ १९ गर्दा ६१ सालबाट ६२ को अन्त्यमा पुग्दा त्यस रेजिमको नै समाप्त गरिदियो जनताले ।
त्यस शासननै अन्त्य गरिदियो जनताले । तसर्थ जनता सचेत हुनुपर्दछ । जनतालाई सरकारले दुःख दिनुहुँदैन । लोकतन्त्र केही मानिसहरू शासनमा पुग्ने प्रणाली मात्रै होइन । जनतालाई छकाउने प्रणाली होईन, जनतालाई सेवा गर्ने, जनताको अधिकारको सुरक्षा गर्ने प्रणाली हो । सरकारले त जनताको अधिकार सुरक्षा गर्नुपर्ने ठाउँमा जनताको अधिकार खोसेर, जनतालाई दुःख दिएर, कानुनी ढंगले दुःख दिएर, अमानवीय ढंगदे दुःख दिएर कुनै लोकतान्त्रिक आचारण भएन । हाम्रो आपत्ति त्यसमा हो ।’
अध्यक्ष ओलीले जनताको हितमा केन्द्रित भएर अघि बढन पनि अनेरास्ववियुका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई लक्ष्य बनाएर युवा, विद्यार्थीहरूले अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।

प्रतिक्रिया दिनुहोस्