दुग्ध व्यवसायले फेरिएको जीवन «

दुग्ध व्यवसायले फेरिएको जीवन

भोजपुर नगरपालिका–७ का ज्ञान कार्की ‘रमेश’ दुग्ध डेरी सञ्चालन गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । २०६९ सालमा गाउँघरमा उत्पादित दूध संकलन गरी श्री गणेशथान दुग्ध डेरी सञ्चालन गरी व्यवसाय शुरु गरेका कार्कीले अहिले मासिक ४० देखि ४५ हजार रूपैयाँ आम्दानी गर्दै आएका छन् ।
२०६७ सालमा गाईपालन व्यवसाय शुरु गरेका उनले आफूले पालेका गाई खोरेत लागेर मरेपछि दुग्ध डेरी सञ्चालन गरेका हुन् । शुरुमा उनले एउटा प्लास्टिकको बाल्टिन र एउटा टेवल राखेर व्यवसाय शुरु गरेका थिए । डेरी सञ्चालन गरेको केही महिनापछि नै उनलाई जिल्ला कृषि कार्यालयबाट ५० प्रतिशत अनुदानमा दूध संकलन गर्ने फ्रिज बक्स प्राप्त गरे । त्यसपछि जिल्ला कृषि कार्यालय र उन्नति परियोजनाले डेरी सञ्चालनसम्बन्धी तालिम दिएपछि व्यवसाय सञ्चालन गर्न आफूलाई सहज भएको उनले बताए ।
कार्कीले अहिले मासिक ४० देखि ४५ हजार रूपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । दैनिक १५० लिटरभन्दा बढी दूध संकलन गरी आफ्नो डेरीबाट बेच्ने गरेका छन् । उनले दूधबाट दही, छुर्पी, घ्यू, पनिर, खुवा, चिज, पुस्टकारीसमेत बनाउने गरेका छन् । कार्कीलाई श्रीमती र बहिनीले सहयोग गर्ने गरेका छन् । दुग्धजन्य पदार्थ बिक्री गरेरै उनले तीन तले पक्की घरसमेत बनाइसकेका छन् ।
गाउँमै व्यवसाय गरे पैसा कमाउन विदेश जानुनपर्ने बताउने उनी युवाहरूलाई पशुपालन तथा कृषिमा आधुनिक प्रविधि अपनाएर लाग्न सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्