हाइड्रोजन उत्पादनमार्फत ५० प्रतिशत डिजेल आयात कम गर्न सकिने «

हाइड्रोजन उत्पादनमार्फत ५० प्रतिशत डिजेल आयात कम गर्न सकिने

काठमाडौं विश्वविद्यालय (केयू)ले सन् २०३५ सम्ममा हाइड्रोजन उत्पादन गरेर ५० प्रतिशत डिजेल आयात गर्न सकिने बताएको छ । डिजेल र ग्यास आयात कम गर्नका लागि उपयुक्त विकल्पको हाइड्रोजन ऊर्जा उत्पादन रहेको उल्लेख गर्दै केयूले हालसम्मको प्रारम्भिक अध्ययनले यस्तो देखाएको जनाएको छ ।
नेपाल आयल निगमको सहयोगमा केयूले हरित हाइड्रोजन ल्याब स्थापना गरी यसको आर्थिक र प्राविधिक सम्भाव्यताबारे अध्ययन गरिरहेको छ । डिजेलको विकल्पको रूपमा हाइड्रोजन उत्पादन गरेर वार्षिक ७० अर्बको डिजेल आयात कम गर्न सकिने केयूको प्रारम्भिक अध्ययनले देखाएको छ । मुलुकमा सबैभन्दा धेरै डिजेल आयातसँगै खपत बढी हुने गर्छ । नेपाल आयल निगमका अनुसार मासिक डिजेलको खपत एक लाख ५५ हजार किलोलिटर पुगेको छ । निगमका अनुसार आर्थिक वर्ष २०७७-०७८ मा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । हाइड्रोजन उत्पादन गरेर डिजेलको आयात प्रतिस्थापन गर्न सके मुलुकको व्यापार घाटासमेत कम गर्न सकिने अध्ययनले देखाएको छ । मुलुकमा वार्षिक दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भइरहेको छ । केयू ग्रिन हाइड्रोजन ल्याबका टोली नेता एवं सहायक प्राध्यापक डा. विराज थापा ठूला सार्वजनिक यातायातदेखि खाना पकाउनसम्मका लागि हाइड्रोजन उपयोग गर्न सकिने र त्यसका लागि अध्ययन भइरहेको बताउँछन् । “सार्वजनिक यातायातका ठूला बसमा पनि यो उपयोग गर्न सकिनुका साथै हाइड्रोजनबाट ट्रक सञ्चालन गर्न सकिन्छ,” उनी भन्छन् ।
डिजेल प्रयोग हुने उद्योग कलकारखाना र सवारी साधनमा समेत हाइड्रोजनको प्रयोग गरेर आयात कम गर्न सकिने उनको भनाइ छ । उनका अनुसार १ केजी हाइड्रोजनबाट ८० किलोमिटर दूरी सवारीसाधन गुड्ने गर्छ । सोलार, सिमेन्ट उद्योग, स्टिल उद्योग र इँटा उद्योगमा पनि हाइड्रोजन प्रयोग गर्न सकिने छ ।
अमेरिका, चीन, बेलायतलगायत देशले हाइड्रोजन उत्पादन सुरु गरिसकेका छन् । अन्तर्राष्ट्रिय बजारमा एक केजी हाइड्रोजन उत्पादन गर्नका लागि पाँच अमेरिकी डलर लागत लाग्ने गरेकोमा नेपालमा भने एक डलरमा झार्न सकिने केयूको भनाइ छ ।
“खाना पकाउनका लागि प्रयोग हुने ग्यास र गाडीहरूमा उपयोग हुने डिजेलको सट्टा हाइड्रोजन ग्यास प्रयोग गर्न सकिने विश्वका धेरै देशको अनुभवले देखाइसकेको छ । लामो दूरीका सवारी साधनमा पनि यो उपयोग गर्न सकिन्छ । कतिपय देशले त हाइड्रोजनबाट रेल, हवाईजहाज पनि चलाउन थालिसके,” थापाले भने, “एक किलोग्राम हाइड्रोजनले ५० युनिट बिजुली निकाल्न सक्छ । २ किलो हाइड्रोजन सिलिण्डरमा भरेर ल्यायौं भने त्यो त एक सय युनिट बराबरको बिजुली हो । यसले एउटा घरलाई एक महिना खपत गर्न पुग्छ । कतिपय देशले त धेरै विकट गाउँमा बिजुलीको तार लैजानुभन्दा हाइड्रोजन लगेर यसमार्फत बिजुली निकाल्न थालिसकेका छन् ।” उनका अनुसार, नेपालका गाउँमा पनि यो सम्भव छ भने सहरका बैंक, शपिङ कम्प्लेक्समा पनि यो गर्न सकिन्छ ।
आयल निगमका अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा एक खर्ब ५५ अर्ब रुपैयाँ बराबरको २८ लाख ६७ हजार किलोलिटर इन्धन आयात भएको छ । एक वर्षमा सबैभन्दा धेरै डिजेल १७ लाख किलोलिटर आयात भएको छ । यस्तै पेट्रोल पाँच लाख ८७ हजार किलोलिटर, मटीतेल २४ हजार किलोलिटर र हवाई इन्धन ६८ हजार किलोलिटर आयात भएको छ । यस्तै, खाना पकाउने एलपीजी ग्यास चार लाख ८५ हजार सात सय मेट्रिक टन आयात भएको निगमले जानकारी दिएको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पेट्रोलियम पदार्थको योगदान १० प्रतिशत रहेको छ । मुलुकमा झन्डै दुई खर्बको पेट्रोलियम पदार्थको व्यापार हुने गर्छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले इन्धन आयात घटाउने विकल्पको रूपमा हाइड्रोजन भएको बताए । सुरक्षाको मापदण्ड तयार गरेर सरकारले अनुमति दिए हाइड्रोजन ग्यास उत्पादन गरेर डिजेल र ग्यासको खपत घटाउन सकिने उनको भनाइ छ ।
निगमको प्रक्षेपणले इन्धनको आयात बढेर जाने र सन् २०४० सम्ममा अहिलेको भन्दा दोब्बर पुग्ने देखाएको छ । अहिले आर्थिक वार्षिक दुई खर्ब रहेको छ । सरकारले आयात प्रतिस्थापन गर्न धेरै योजना तथा कार्यक्रम ल्याएको छ तर सफल भएको छैन । “अहिले पनि गाउँघरमा जाने हो भने ७० प्रतिशत दाउरा नै बालिन्छ । फलाम पगाल्ने भट्टा, इट्टालगायतका उद्योगमा कोइला बालेर प्रदूषण गरिरहेका छौं । यसलाई हाइड्रोजनबाट विस्थापन गर्न सकिन्छ । फ्रान्सलगायतका केही देशले हाल घरघरमा पु-याएको ग्यासलाई विस्थापन गरेर हाइड्रोजनबाट बनेको नेचुरल ग्यासको उपयोगमार्फत विस्थापन गर्ने योजना बनाएका छन् । नेपालमा त अहिलेकै ग्यास सिलिण्डरमा हाइड्रोजनमार्फत ग्यास निकाली उपयोग गर्न सक्छौ,” थापा भन्छन्, “रासायिनिक मल उत्पादनका लागि आवश्यक नेचुरल ग्यास हाइड्रोजनबाट उत्पादन गर्न सक्छौ । हाइड्रोजनलाई इन्धन, बिजुली, ताप र उद्योगको कमोडिटीको रूपमा विकास गर्न सकिन्छ ।”
हाइड्रोजन उत्पादन गर्न सकेमा आगामी ५ देखि १० वर्षभित्रमा इन्धनको आयात शून्यमा झार्न सकिने उनी बताउँछन् । “मुलुकमा आयात हुने इन्धनमध्ये पहिलो नम्बरमा खाना पकाउने एलपीजी ग्यास, दोस्रोमा डिजेल र तेस्रोमा पेट्रोलमा रहेको छ । सरकारले स्न २०३० सम्म पेट्रोलबाट चल्ने हल्का सवारी साधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्ने नीति ल्याएको छ । अब ग्याँस र पेट्रोल आयात न्यूनीकरणका लागि विशेष नीति आवश्यक छ, अरु देशको अनुभवले हाइड्रोजन यसका लागि उत्तम विकल्प हो,” उनी भन्छन् । केयुले अध्ययनअन्तर्गत आगामी ६ महिनाभित्र हाइड्रोजनबाट गाडी कुदाएर देखाउने गरी तयारी पनि अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्