मोबाइल र इन्टरनेटको अर्थतन्त्रमा योगदान «

मोबाइल र इन्टरनेटको अर्थतन्त्रमा योगदान

मोबाइलमा थ्रीजी तथा फोरजी सेवाको प्रयोग बढ्दै जाँदा प्रविधिमा गरिएको लगानीले कति उत्पादकत्व बढायो भन्ने पनि अध्ययन हुनु आवश्यक छ ।

मोबाइलको प्रयोगकर्ता बढ्दै जाँदा यसले अर्थशास्त्रमा योगदान पनि गर्छ भन्ने विश्वका विभिन्न अध्ययनमा पाइन्छ । विकसित मुलुकमा त मोबाइलको प्रयोगकर्ता १० प्रतिशतले बढ्दा त्यसले अर्थतन्त्रमा १ प्रतिशतको योगदान गर्ने अध्ययनहरूले देखाएका छन् । मोबाइलको बढ्दो प्रयोगले सञ्चारको विकासका साथसाथै सामाजिक सहभागिता, कृषि, स्वास्थ्य, शिक्षा तथा वित्तीय पहुँच बढ्न गई आर्थिक गतिविधि तथा उत्पादकत्व वृद्धिजस्ता फाइदा पनि गर्छ भनिन्छ । तर, नेपालमा भने मोबाइलको घनत्व बढ्दै गए तापनि यसका कारण नेपालको अर्थतन्त्रमा खासै योगदान भएको देखिन्न । कारण नेपालमा मोबाइलको प्रयोग उत्पादनशील कार्यमा प्रयोग नभएर हो कि । वास्तवमा मुलुकको जनसंख्याभन्दा बढीले मोबाइल प्रयोग गर्दा पनि मोबाइल साधारण सम्पर्क तथा केही अर्थमा सामाजिक सहभागिताका लागि मात्र प्रयोग भएको पाइन्छ ।
त्यसैगरी पछिल्लो समय नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या पनि ३ करोड नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनअनुसार असार मसान्तसम्म १ करोड फोरजी प्रयोगकर्ता, १ करोड २८ लाख थ्रीजी प्रयोगकर्तासहित कुल इन्टरनेट सेवा लिने ग्राहकको संख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर तयार पारेको प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या ३ करोड २ लाख २९ हजार ९ सय ६६ लाई आधार बनाएको छ । कुल जनसंख्याको १०२.४० प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्क प्राधिकरणले प्रस्तुत गरिरहँदा यसले अर्थतन्त्रमा कति योगदान गरेको छ भन्ने अध्ययन भने भएको पाइन्न । यसरी सेवाग्राहीका आधारमा शतप्रतिशत नेपालीमा इन्टरनेट सेवा पुगेको देखिए पनि यसको प्रयोग आर्थिक गतिविधि वृद्धि गर्न कति भइरहेको छ र कति समाजिक सञ्जालका लागि मात्र प्रयोग भइरहेको छ, यसको यकिन तथ्यांक छैन । साथै, प्रतिवेदनको तथ्याङ्कअनुसार इन्टरनेटको वृद्धिमा सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको छ । गत असार मसान्तसम्म मोबाइल इन्टरनेटको हिस्सा ७६.०३ प्रतिशत छ । यस्तै, १ करोड २८ लाखभन्दा बढीको पहुँचमा थ्रीजी इन्टरनेट र १ करोड धेरैमा फोरजी सेवा पुगेको तथ्यांकले देखाएको छ । प्रविधिको पहँुचले अर्थतन्त्रमा कति योगदान गरेको छ भन्ने आधारमा प्रविधिको आवश्यकता तथा अपरिहार्यताको वकालत गरिने हो । फोरजी सेवामा सबैभन्दा धेरै ग्राहक एनसेलका ५० लाख ४२ हजार छन् भने नेपाल टेलिकमका ४७ लाख ४४ हजार छन् । त्यसैगरी स्मार्ट टेलिकमका फोरजी सेवा पाउने सेवाग्राही १ लाख ६६ हजार छन् ।
तर, फोरजीका कारण कसरी अर्थतन्त्रमा योगदान भएको छ भन्ने कुनै तथ्यांक छैन । यसरी, समग्र मोबाइल तथा इन्टरनेटकै अर्थतन्त्रमा योगदान के भन्ने प्रश्न छँदाछँदै सेवाको स्तर तथा मूल्य वृद्धि गरेपछि फोरजी सेवाले कति योगदान गरेको छ, यसमा पनि अध्ययन हुन आवश्यक छ । कोभिडपछिका पछिल्ला दुई वर्षमा इन्टरनेट प्रयोगकर्ताको संख्यामा वृद्धि भएको सत्य हो । स्कुल, कलेजदेखि कार्यालयका कामहरू भर्चुअल माध्यमबाट गरिने हुँदा फिक्स्ड तथा मोबाइल इन्टरनेट दुवैमा वृद्धि भएको पनि हो । तर, यसको अध्ययन गर्न आवश्यक भने छ । मोबाइलमा थ्रीजी तथा फोरजी सेवाको प्रयोग बढ्दै जाँदा प्रविधिमा गरिएको लगानीले कति उत्पादकत्व बढायो भन्ने पनि अध्ययन हुनु आवश्यक छ । हाल सरकारले सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पु-याउन १ हजार सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार पु¥याएको बताए तापनि त्यसले विद्यार्थीको अध्ययनलाई कति सहयोग ग-यो र यसबाट डिजिटल ग्याप कम गर्न कति मद्दत भयो, यसको पनि प्राधिकरणले अध्ययन गर्न आवश्यक छ । अन्यथा सरकारी कागजमा पहुँच पुग्ने तर विद्यार्थीको अध्ययन र उत्पादकत्वमा भने वृद्धि नहुने देखिने खतरा पनि छ । त्यसैले, प्राधिकरणले सेवा विस्तारसँगै सेवाबाट अर्थतन्त्रमा भएको योगदानका बारेमा पनि स्पष्ट हुनु आवश्यक छ । अन्यथा सेवाका लागि शुल्कमात्र तोक्ने तर सेवाको गुणस्तर तथा त्यसको योगदान नहुने हो भने प्रविधिमैत्री समाज तथा मुलुक हुन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्