व्यवसायीको नजरमा हङकङ निर्यात व्यापार «

व्यवसायीको नजरमा हङकङ निर्यात व्यापार

नेपालदेखि कोलकातासम्म नेपाली उत्पादन ढुवानी गर्दा लाग्ने यातायात खर्च बढी पर्ने गरेकै कारण नेपाली उत्पादन हङकङमा महँगो पर्ने गरेको छ ।

नेपालमा वैदेशिक व्यापारको सन्तुलनको अवस्था विगत केही वर्षदेखि निरन्तर बिग्रँदै आएको छ । आव २०७६-०७७ को व्यापारको प्रवृत्तिलाई हेर्दा कुल व्यापार १२ सय ९४ अर्ब भएको छ । त्यसमा आयात ११ सय ९६ अर्ब र निर्यात ९७ अर्ब भई व्यापार घाटा १ हजार ९९ अर्ब हुन पुगेको छ । व्यापारको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा घट्दो रहेको छ । आव २०५६-०५७ मा यो क्षेत्रको योगदान १६ प्रतिशत थियो भने आव २०७६-०७७ मा आइपुग्दा यो घटेर १३.५ प्रतिशतमा सीमित हुन पुगेको छ । त्यसमा पनि उत्पादन क्षेत्रको योगदान १५ बाट ५ प्रतिशतमा झरेको छ । सोही अवधिमा निर्यात परिमाणमा कुल गार्हस्थ्य उत्पादनको १३ प्रतिशत रहेकोमा यो घटेर ३ प्रतिशतमा आइपुगेको छ । त्यसैगरी निर्यात तथा आयातको अनुपात आव २०५६-०५७ मा २ः२.३५ रहेकामा आव २०७६-०७७ मा आइपुग्दा बढेर १४.४ पुगेको छ । कुल व्यापारमा निर्यातको अंश ७.५५ प्रतिशत छ भने आयातको अंश ९२.४५ प्रतिशत रहेको छ । नेपालले हाल विश्वका १ सय २० देशका ९ सय ५० प्रकारका वस्तुहरू निर्यात गर्दै आएको छ । प्रमुख व्यापार साझेदार देशहरूमा भारत, चीन, अमेरिका तथा जर्मनी छन् ।
चीन नेपालको पुरानो व्यापारिक साझेदार देश हो । त्यसमा हङकङ चीनको ठूलो व्यापारिक केन्द्र भएकाले हङकङसँग नेपालको व्यापार हुँदै आए तापनि यसको अंश भने ठूलो छैन, तथापि नेपाल र हङकङबीचको व्यापारको प्रवृत्तिलाई हेर्दा ठूलो घाटा रहेको छ । सन् २०१९ को तथ्यांकलाई अवलोकन गर्दा निर्यात ३३ करोड र आयात १ सय ३० करोड छ । यो अवस्थाले व्यापार घाटा ८१.६ प्रतिशत रहेको देखिन्छ । अर्कातर्फ व्यापारको परिणाम गत विगतमा भन्दा बढ्नुपर्नेमा त्यो अवस्था पनि देखिँदैन । व्यापार घाटालाई न्यून गर्न पनि नेपालको निर्यात व्यापारलाई प्रवद्र्धन गर्न आवश्यक छ । व्यापार घाटा घटाउनका लागि के–कस्तो वस्तुको माग हङकङको बजारमा छ ? ती वस्तुहरू नेपालबाट निर्यात गर्दा के–कस्ता समस्याहरू छन् ? ती समस्या समाधान गर्न केकस्ता उपायहरू अपनाउन सकिन्छ ? भन्ने विषयमा अध्ययन गर्न आवश्यक भई नेपाल वाणिज्य संघ, हङकङ र नेपाली महावाणिज्य दूतावास, हङकङको संयुक्त पहलमा यो सर्भेक्षण गरी त्यसको नतिजाको आधारमा विश्लेषण गरिएको छ ।
हङकङमा रहेका नेपाली व्यवसायीहरूले कस्ता प्रकारका व्यवसाय गर्दै आएका छन् भन्ने सर्वेक्षणबाट प्राप्त नतिजा अनुसार हङकङमा बस्ने नेपालीहरूले विभिन्न १२ प्रकारको व्यवसाय गर्दै आएका देखियो । ३१ प्रतिशत नेपाली व्यापारीहरूले ग्रोसरी व्यवसाय गर्दै आएका छन् भने २० प्रतिशतले रेस्टुरेन्ट व्यवसाय तथा १६ प्रतिशतले खाद्यान्न सप्लायर सम्बन्धित व्यवसाय गर्दै आएको छ र १२ प्रतिशतले हस्तकलाको व्यवसाय गर्दै आएको छ । यो तथ्यले हङकङमा ग्रोसरीका वस्तुहरू, रेस्टुरेन्ट, नेपालमा उत्पादित पेय पदार्थहरू, खाद्यान्नमा दाल, दालमोठ, चाउचाउ, नुन, मसला, तरकारी र कस्मेटिक्सका सामानहरू खपत हुने गरेको पाइयो । त्यसकारण यस्ता समानहरूको माग पनि बढी छ । त्यसैगरी हस्तकलाका समानहरूमा नेपाली खुकुरी, बुद्धका मूर्ति, थाङ्का, ढलोटका मूर्तिहरू तथा अन्य सोभेनियरका समानहरूको माग बढी छ ।
यहाँका व्यवसायीहरूले बिक्री गर्ने वस्तु मूलतः नेपालमा उत्पादित र बाह्य देशबाट आयातित दुवै प्रकारका वस्तुहरूको बिक्री गर्ने व्यवसायीहरूमा ६७ प्रतिशत व्यवसायी छन् । तर, अधिकांश नेपाली वस्तुको व्यापार गर्दै आएका नेपाली व्यापारीहरूको भनाइअनुसार भारतीय समानको तुलनामा नेपाली वस्तुको गुणस्तर, प्याकेजिङ तथा ब्रान्डिङमा समस्या रहेको छ । ढुवानी लागतसमेत बढी पर्नाले नेपाली वस्तुको खपत आशा गरेअनुसार हुन सकेको छैन । साथै, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय स्तरमा समेत प्रमोसन नहुने हुँदा नेपाली उत्पादनको उपभोक्ता नेपाली मात्रमा सीमित हुन पुगेको छ ।
नेपालमा उत्पादित वस्तुहरूको नियमित रूपमा आपूर्ति नभएकाले हङकङमा नेपाली उत्पादनको बजार बढ्न सकेको छैन । २७ प्रतिशत व्यापारीहरूले नियमित आपूर्ति नहुनु नै यसको प्रमुख समस्या मानेका छन् । १८ प्रतिशतले प्याकेजिङ तथा ब्रान्डिङ आकर्षक नहुनुलाई समस्या मानेका छन् । वस्तुको गुणस्तर नै बाधक भएको भन्नेको संख्या १६ प्रतिशत छ भने निर्यात व्यापारको प्रक्रिया नै लामो भयो भन्नेको संख्या १५ प्रतिशत छ ।
नेपालबाट हङकङ निर्यात व्यापारका लागि उपलव्ध सतह मार्गमध्ये छिटो छरितो मार्ग भनेको कोलकाता भए तापनि निर्यात योग्य समान छुटाउन नै बढी समय लागेको अध्ययनले देखाएको छ । त्यसैगरी ४० प्रतिशत उत्तरदाताले यस मार्गबाट निर्यात गर्दा निर्यातका लागि लागि चाहिने डकुमेन्टको संख्या धेरै भएकाले व्यापार गर्ने कार्य कठिन छ । कोलकातामा समान छुटाउनका लागि बढी समय लाग्ने गरेकै कारण लागत बढी नेपालको निर्यात व्यापार कम भएको देखियो । नेपालदेखि कोलकातासम्म नेपाली उत्पादन ढुवानी गर्दा लाग्ने यातायात खर्च बढी पर्ने गरेकै कारण नेपाली उत्पादन हङकङमा महँगो पर्ने गरेको छ ।
नेपालको निर्यात व्यापार बढाउनका लागि नेपाल सरकारले ढुवानीमा अनुदान बढाउनुपर्नेमा भन्नेमा ३९ प्रतिशत व्यवसायी रहेका छन्, साथै अनुदानस्वरूप वस्तुको उत्पादनमा नै करमा छुट दिनुपर्छ । ढुवानीमा अनुदान र सहज पहुँच नहुँदा हङकङमा नेपाली उत्पादनले पर्याप्त मात्रामा बजार पाउन सकेको छैन ।
नेपालको व्यापार नीति तथा कर छुटका प्रावधानहरू व्यावहारिक नभएको, भन्सारका दरहरू उच्च रहेकाले भन्सार छल्नका लागि व्यापारीले खरिद मूल्यभन्दा कम मूल्यको बिजक जारी गरेर भन्सार छल्ने गरेको भन्ने सेमिनारमा उपस्थित व्यवसायीहरूको धारणा छ । त्यसका साथै सरकारले व्यक्तिगत प्रयोजनका लागि प्रदान गरिने सुविधाअन्तर्गतको सामानको नाममा भन्सार छली हुने गरेको छ । व्यापारीले हवाई मार्गबाट समान पठाउँदा प्रत्येक नेपाली यात्रुहरूलाई सुविधाअनुसारको सामान बोकाएर नेपाल पठाउने र नेपाल पुगेर व्यापारीले नै संकलन गरेर बिक्री गर्ने गरेको भन्ने छ । विशेषतः यसरी पठाउने समानहरूमा घडी, मोबाइल, क्यामेरा, सुन तथा इलेक्ट्रोनिक्स सामानहरू बढी हुने गरेको छ । यसरी व्यक्तिलाई दिइएको सुविधाको गलत प्रयोग गरेर गैरकानुनी ढंगबाट राजस्व छली हुने गरेको छ ।
नेपाल र हङकङबीचकोे निर्यात व्यापार बढाई व्यापार घाटा कम गर्नका लागि नेपाल र चीनसँग व्यापार, लगानी र सेवाहरूमा द्विपक्षीय सम्झौता गर्दा हङकङको विषयसमेत स्पष्ट खुलाई गर्नुपर्छ । व्यापारका लागि वार्ता गर्दा वार्ताकारमा सीप तथा ज्ञानको कमीकै कारण त्यस्ता वार्ता नेपालको पक्षमा हुने नगरेको सन्दर्भमा सक्षम जनशक्तिको विकासमा ध्यान दिनुपर्छ । नेपालको वस्तुको बजार हङकङमा बजारको सम्भावना रहेको भए तापनि पर्याप्त मात्रामा र नियमित रूपमा उपलब्ध छैन । अतः नेपाली उत्पादनका वस्तुहरूलाई सहज र नियमित रूपमा उपलव्ध गराउने वातावरण बनाउनुपर्छ । नेपाली उत्पादनको बजार राम्रो हुँदाहुँदै पनि प्याकेजिङ कमजोर भएकाले बजारमा पर्याप्त मात्रामा स्थान पाउन सकेको छैनन । यस्तो अवस्थामा नेपाली उत्पादनलाई हङकङमा बढीभन्दा बढी बिक्री गर्नका लागि नेपाली बस्तुको प्याकेजिङमा सुधार गरी आकर्षक बनाउनुपर्छ ।
नेपाली उत्पादनलाई हङकङमा बढीभन्दा बढी बिक्री गर्नका लागि नेपाली बस्तुको ब्रान्डिङमा विशेष ध्यान दिनुपर्छ । नेपालमा उत्पादित वस्तुहरू हङकङसम्म ढुवानी गर्ने छोटो मार्ग हवाई सेवा नै हो, तर हवाई भाडा महँगो भएको हुनाले अन्य देशमा उत्पादित वस्तुहरूसँग नेपाली उत्पादनको ढुवानी लागत बढी पर्नाले प्रतिस्पर्धी बन्न सकिरहेको छैन । तसर्थ नेपाली वस्तुलाई प्रतिस्पर्धी बनाउनका लागि हवाई भाडामा सहुलियत दिनुपर्ने देखिन्छ । त्यसका लागि नेपालबाट समान ढुवानीको गर्न दैनिक रूपमा कार्गो उडानको व्यवस्था गरिनुपर्छ । नेपाली उत्पादनका वस्तु निर्यात गर्ने सतही पोर्टहरूमध्ये भारतको कोलकाता प्रमुख पोर्ट हो । यो पोर्टबाट वस्तु निर्यात गर्दा गरिने जाँचपासमा बढी डकुमेन्ट चाहिनुका साथै म्यानुयल कार्य प्रणालीले जाँचपासको कार्य ढिला हुन गरेको छ ।
यो पोर्टका अधिकांश प्रक्रियालाई सूचना प्रविधिको प्रयोग गरी प्रक्रिया र समय दुवै घटाउँदै निर्यात सहजीकरण गरिनुपर्छ । नेपालको वैदेशिक व्यापारमा निर्यातयोग्य वस्तुहरूको बास्केटमा रहेका सूची कमी रहेकाले थप वस्तुहरूको पहिचान गरिनुपर्छ । नेपालमा उत्पादित अर्गानिक वस्तुले विश्व बजारमा स्थान लिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्छ । हङकङमा व्यापार हुने किरानाका वस्तुहरूले भारतीय वस्तुसँग मूल्य प्रतिस्पर्धा गर्न सक्ने अवस्था नभएकाले तुलनात्मक रूपमा कम तौल बढी मूल्य पर्ने नेपाली वस्तुहरूलाई निर्यात गर्नुपर्छ । निर्यातमा नगद अनुदानसम्बन्धी व्यवस्थाको कार्यान्वयनपश्चात् जडीबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पस्मिना, जुट र जुटका सामान, तयारी पोसाक आदिले निर्यातमा सकारात्मक योगदान पु-याएको भए तापनि हङकङसँगको व्यापारमा उल्लेखनीय योगदान देखिँदैन । तसर्थ हङकङको बजारमा नै खपत हुने वस्तुहरूमा निर्यातमा अनुदान दिने तर्फ ध्यान जानुपर्ने देखिन्छ । यी पक्षहरूलाई ध्यानमा राख्दै अगाडि बढेको खण्डमा नेपालको औद्योगिक उत्पादनमा बढोत्तरी भई निर्यात व्यापार बढ्न जाँदा व्यापार घाटा कम गर्न सकिन्छ ।
(लेखक हडकङका महावाणिज्यदूत हुन् ।)

प्रतिक्रिया दिनुहोस्