बोर्ड अध्यक्ष ढुंगानालाई कारवाही सिफारिस

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले सुझाव दिएको छ । उच्च अदालतका पूर्व न्यायाधिश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित जाँचबुझ समितिले अध्यक्ष ढुंगाना पदीय मर्यादा विपरीत सेयर कारोबारमा संलग्न भएको र उनले पुँजी बजारको विकास विपरीत हुने गरी काम गरेको भन्दै बर्खास्त गर्न सुझाव दिएको हो ।
समितिले यससम्बन्धी प्रतिवेदन मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको छ । स्रोतका अनुसार प्रतिवेदनमा अध्यक्ष ढुंगानाले ऐनको बर्खिलाप हुनेगरी सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको साथै हचुवामै ५१ वटा कम्पनीको सेयर जोखिमयुक्त रहेको भन्दै विज्ञप्ति जारी गरेको पनि आंैल्याइएको छ ।
“सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदका साथै ५१ वटा कम्पनीको सेयर जोखिमयुक्त रहेको सूची सार्वजनिक गरेको विषयलाई पनि अध्यक्ष ढुंगानाको गल्तीका रुपमा औंल्याइएको छ,” स्रोतले भन्यो, “अब धितोपत्र ऐनको व्यवस्था अनुसार उनलाई कारवाही गर्ने जिम्मेवारी सरकारको हो ।”
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ७ (७) मा ‘अध्यक्षले बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गरी सो समितिको सिफारिसमा निजलाई अध्यक्षको पदबाट हटाउन सक्ने’ व्यवस्था छ ।
यसै प्रावधानका आधारमा गत भदौ १६ गतेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्नुका साथै छानविन गर्न जाँचबुझ समिति गठन गरेको थियो । ऐनकै दफा ११ मा धितोपत्र व्यवसायमा संलग्न व्यक्ति बोर्डको अध्यक्ष बस्न नमिल्ने र धितोपत्र लगानीकर्ताको हित विपरीत वा पूँजी बजारको विकासमा हानी नोक्सानी पुग्ने कार्य गरेमा सरकारले बर्खास्त गर्न सक्ने प्रावधान छ ।
जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने उनको दावी थियो ।
बोर्ड अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा बुक बिल्डिङमार्फत साधारण सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सञ्चारमाध्ममार्फत सार्वजनिक भएको थियो । यस आरोपमा मुछिएका साउदले भने छानविन समिति गठन गर्नुअघि नै राजीनामा दिइसकेका छन् ।
यसअघि अर्थ मन्त्रालयले साउन १३ गते बोर्डलाई र १४ गने नेपाल स्टक एक्सचेन्जलाई स्पष्टीकरण सोधेको थियो । यसैगरी सेयर खरिद प्रकरण विवादमा तानिएका नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्षका रुपमा बोर्डका पदेन सञ्चालक बनेका चन्द्रप्रसाद ढकाल पनि बोर्डबाट बाहिरिएका छन् ।