बन्दको मारमा व्यवसायी «

बन्दको मारमा व्यवसायी

कञ्चनपुरका व्यवसायीहरूले साउनयता सहज रुपमा व्यवसाय सञ्चालन गर्न नपाएको गुनासो गरेका छन् । साउनयता भएको निर्मला पन्त हत्याकाण्ड आन्दोलनले बिग्रिएको कञ्चनपुरको व्यापार अझै माथि उठ्न नसकेको यहाँका व्यापारीहरू बताउँछन् ।
महेन्द्रनगर नगर विकास समितिको जमिन लिज प्रकरणविरुद्ध मंगलबारदेखि अनिश्चितकालीन जिल्ला आमहड्ताल घोषणा गरेर आन्दोलनमा उत्रिएपछि यहाँ व्यवसायी र दैनिक मजदुरी गरेर खाने मजदुरहरूलाई झनै समस्या भएको छ ।
बन्दले यातायात, कलकारखाना, होटल, शिक्षण संस्था र वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द छन् । दिनहुँ हुने बजार बन्दले न व्यवसायीहरूले सहज रूपमा व्यवसाय गर्न पाएका छन् । न त सेवा ग्राहीले सेवा नै पाएका छन् । राजनीतिक दलका भ्रातृ संगठनहरूले नगर विकास समितीको जग्गामा बनेका अवैध संरचना नहटाएसम्म आन्दोलन जारी राख्ने बताएका छन् भने व्यवसायीहरूले बन्दको विकल्प खोजिनुपर्ने धारणा राखेका छन् ।
बन्दले बैंकिङ कारोबार समेत प्रभावित भएको कञ्चन डेभलपमेन्ट बैंकका सीईओ विरुराम जैसीले बताए । उनले भने, “बन्दले कर्जा लगानी र निक्षेप संकलनमा समस्या भयो ।” आमहडतालले सेवाग्राही नआउँदा बैंकको दैनिका कारोबारमा अवरोध भएको जैसीले बताए ।
बन्दले होटेल व्यवसायीहरूले किसानको दूध नकिनिदिँदा किसान पनि मार्कामा परेका छन् । भिमदत्तनगरस्थित मदर वेकर्सका सञ्चालक गोपाल मिश्रले वेकरीले उत्पादन गरेका खाद्य पदार्थ बिक्री नभएको बताए । उनले भने, “हामीले उत्पादन गरेका पाउरोटी, पप, क्रिमरोल बजार बन्दहुदा बिक्री भएका छैनन्, यी वस्तुको म्याद २ दिन मात्रै हुन्छ त्यसपछि खराब हुन्छ ।” उनका अनुसार साउन यता बेकरीले घाटा बेहोर्दै आएको छ । मिश्रले भने, “एक दिनको बन्दले २०–२५ हजार घाटा हुन्छ ।” उनले निर्मला हत्याकाण्ड आन्दोलनको बेला २ लाख ४० हजार घाउनले निर्मला हत्याकाण्ड आन्दोलनको बेला २ लाख ४० हजार घाटा भएको भन्दै त्यतिबेलादेखि व्यवसाय घाटामा रहेको दुखेसो पोखे ।
उनले भने, “लाखांै लगानी डुब्दै छ यस्तै हो भने बेकरी बन्द गरेर भारत तिर जान्छु ।” मदर वेर्कसमा ११ जना कामदार रहेको बताउँदै मिश्रले कामदारलाई तलब दिन पनि ऋण निकाल्नु परेको बताए ।
मिश्र मात्र नभई कञ्चनपुरका व्यवसायीहरूले सहजरुपमा व्यवसाय सञ्चालन गर्न पाएका छैनन । युवा शक्ति विदेश पलायन भईरहेको बेला स्वदेशमै व्यवसाय गरिरहेका व्यवसायीहरू पनि सहज रुपमा व्यवसाय गर्न नपाउनु दुःखद् हो ।
आन्दोलनका विरुद्ध आन्दोलन
६ राजनीतीक दलका भ्रातृ संगठनहरूले नगर विकासको जग्गामा बनेका संरचना अवैध भएको भन्दै भत्काउन आमहडताल गरेर आन्दोलनमा उत्रिएको छ । संघीय कार्यान्वयन एकाइले पहलमा मंगलबार साझ भाडामा डोजर ल्याएर खोकाछाप्रावालाका निर्माण हुन लागेका एक दुइटा घर टहरा भत्काएपछि खोका छाप्रा समिति आन्दोलनमा उत्रिएका छन् । निर्मला हत्याकाण्ड आन्दोलनले शान्ति पाएको कञ्चनपुर बजार एक महिना नपुग्दै फेरि अशान्त बनेको छ ।
एकातर्फ विद्यार्थी संगठन अवैध संरचना भत्काउन पर्ने भन्दै आन्दोलनमा छन् भने अर्कोतर्फ खोका छाप्रा समिति नागरिकता जिल्ला प्रशासनमा बुझाउने चेतावनीसहित घर भत्काएको विरोध गर्दै आन्दोलनमा छ । आन्दोलनका विरुद्ध आन्दोलन भएपछि सदरमुकाम भीमदत्तनगर बिहानैदेखि आक्रान्त छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले घर टहरा हटाउन एक महिनाको समय दिएको थियो । यसका विरुद्ध केहि व्यक्ति अदालत गएका थिए । उच्च आदालतले भीमदत्त नगरपालिका र प्रशासनलाई १५ दिनभित्र कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ मागेको अवस्थामा एकाएक आएर बस्तीमै डोजर लगाएर कानुन लत्याएको भन्दै खोकाछाप्रा समिती आन्दोलित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्