लोकसेवाका परीक्षार्थी प्रदर्शनमा उत्रिए «

लोकसेवाका परीक्षार्थी प्रदर्शनमा उत्रिए

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थी आन्दोलित भएका छन् । सोमबार काठमाडौंमा लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका परीक्षार्थीहरुले लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको ठाउँमा नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो भएको बताएका छन् । उनीहरुले लोकसेवा जस्तो गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न पनि लोकसेवाले तत्काल नतिजा प्रकाशन गरिनुपर्ने बताएका छन् । प्रदर्शनकारी परीक्षार्थीले लोकसेवा आयोगको यो कदमले देशमा को प्रति आस्था गर्ने, कसलाई विश्वास गर्ने भन्ने प्रश्न उठेको बताए । उनीहरुले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नुपर्ने माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका परीक्षार्थी सुदिप सापकोटाले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको बताए । उनले लोकसेवा आयोगले सबै परीक्षाहरु सकिसकेपछि पनि नियम, कानुन र ऐनले तोकेको प्रावधानअनुरुप नतिजा प्रकाशन नगरेको आरोप लगाए ।
प्रदर्शनकारी परीक्षार्थीहरुले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेसनको शिकार भइरहेको बताएका छन् । लोकसेवा आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्