मादी हत्याकाण्डका मुख्य योजनाकार खड्गबहादुरसहित चारजना पक्राउ «

मादी हत्याकाण्डका मुख्य योजनाकार खड्गबहादुरसहित चारजना पक्राउ

संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित थप चार जनालाई पक्राउ गरेर प्रहरीले सोमबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले अनुसन्धानका क्रममा चारै जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको जानकारी दिए ।
४७ वर्षीय खड्गबहादुर कार्की घटनाका मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । त्यस्तै २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की पनि पक्राउ परेका छन् ।
घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । नियन्त्रणमा लिइएका अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको डीएसपी सुवेदीले बताए । लोकबहादुरले दिएको बयानका आधारमा थप चार जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा लोकबहादुरका भाइ नरेश र उनका बुवा रनबहादुर कार्की छन् । यस्तै उनीहरूसँगैका छिमेकी खड्गबहादुर कार्की र हस्तबहादुर कार्कीलाई पक्राउ गरिएको डीएसपी सुवेदीले बताए । उनीहरूले अपराध स्वीकार गरिसकेका छन् ।
प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा पुगेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि संघीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरेको थियो ।
गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

संखुवासभा प्रहरीले घटनाको सातौं दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्