खाद्यन्नको छुटले विपन्नलाई राहत

जुम्ला-खाद्य व्यवस्था तथा व्यापार कम्पनी दसैं तिहार र छठ पर्वलाई लक्षित गरी खाद्यन्नमा छुट दिएको छ । देशका ३९ जिल्लाका ४१ स्थानमा सहुलिय पसल सञ्चालन गरेर विपन्न नागरिकको राहतका लागि खाद्यन्नमा छुट दिएको हो । जसअनुसार जुम्लामा पनि असोज १ गतेबाटै सहुलियत पसल सञ्चालनमा आएको छ । विगतको भन्दा प्रतिकेजी चालममा ५ रुपैयाँ र प्रति क्वीन्टलमा ५ सय छुट पाएपछि जुम्लाका विपन्न नागरिकले राहत महशुस गरेका छन् ।
चन्दननाथ ८ की रुपकन्या दमाई भन्छिन्,“खाद्यन्नमा छुट दिँदा आउने जाने भाडा, खाजा खर्च बच्दा पनि राहत भएको छ । दसैं तिहार अवधिमा मात्रै छुट दिनुभन्दा विपन्न नागरिकका लागि सधैं छुट दिनुपर्छ ।”
त्यस्तै पातारासी ५ का मिमबहादुर बुढाले विगत जस्तै चाडपर्व लक्षित खाद्यन्नमा छुट पाएपछि खुुसी व्यक्त गरे । खाद्य व्यवस्था तथा व्यापार कम्पन्नी शाखा जुम्लामा दसैं तिहार र छठ अवधिभर छुट दिनका लागि १ हजार क्वीन्टल खाद्यन्न कोटा स्वीकृत भएको शाखा प्रमुख तिलक सुनारले बताए । “जुम्लामा लागि स्वीकृत भएको ७ सय क्वीन्टल ७ पालिका र ३ सय क्वीन्टल चन्दननाथ नगरपालिकाका लागि छुटाइएको छ” उनले भने, “संक्रमणलाई मध्यनजर गर्दै कुन तहका नागरिकले कुन दिन खाद्यन्न लिने भन्ने समय तालिकासमेत बनाइएको छ ।”
खाद्य संस्थान जुम्लाले बिक्री गर्दै आएको अरुवा मोटा,अरुवा सोना मन्सुली,जिरा मसिनो चालम, मास, मसुरो र अरहरीको दाललगायत अन्य खाद्यन्नमा विगतको मूल्यभन्दा प्रतिकेजी ५ रुपैयाँ र प्रति क्वीन्टलमा ५ सय रुपैयाँ छुट दिइएको छ ।
असोज १ गतेबाट सुरु भएको सुपथ मूल्य पसलबाट जुम्लाका ४७ जनाले सेवा लिएका छन् । पहिलो दिनमै करिब १९ क्वीन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा जुम्लाका लेखापाल दिपक शर्माले बताए ।
उनले भने, “खाद्यन्नमा थोरै भएपनि छुट पाउँदा जुम्ली विपन्न नागरिक खुसी छन् । राहतको खाद्यन्न लिने बढ्दैछन् । विगतमा आबश्यकता अनुसार दिएपनि छुट अवधिभर प्रतिव्यक्ति २ बोरा मात्रै चामल दिने गरेका छौं ।”