सडक निर्माणकार्य रोकियो «

सडक निर्माणकार्य रोकियो

सल्यान- सल्यानको छत्रेश्वरी शक्तिपीठ छायाक्षेत्र मन्दिर प्रवेश गर्ने प्रमुख सडकको निर्माणकार्य रोकिएको छ । छत्रेश्वरी गाउँपालिका–६ स्थित शंखमूल हुँदै छत्रेश्वरी मन्दिर जोडने करिब ४ किमि सडक निर्माणको काम डिभिजन वन कार्यालय सल्यानले रोक्न आदेश दिएको हो ।
वडा नम्बर ५ निवासी दिपेन्द्रप्रकाश कुँवरले सडक निर्माणकार्य रोक्न डिभिजन कार्यालयमा निवेदन दिएका कारण उक्त सडक निर्माणकार्य रोकेको डिभिजन वन कार्यालय सल्यानका कर्मचारी युवराज पोख्रेलले बताए । निवेदन दिएका कुँवरले हजारौको संख्यामा रुख काटेर बाटो बनाउन लागिएकोले बाटो निर्माणकार्य रोक्न र कारबाही गरी पाउँ भनी डिभिजन वन कार्यालय सल्यानमा उजुरीसहितको निवेदन पेस गरेका थिए । तर सडक निर्माणका क्रममा ठूला रुख नढलेको र साना साना रुखमात्रै न्यून रूपमा ढलेको गाउँपालिकाले दाबी गरेको छ । सतीदेवीको अन्तिम अंगपतन भएको क्षेत्रका रूपमा परिचित धार्मिक तथा पर्यटकीयस्थलको विकास गर्ने तथा मन्दिरसम्म पुग्ने पुरानो सडक साँघुरो र यातायातका साधन आवतजावतमा समस्या देखिएपछि गाउँपालिकाले आफ्नै बजेटबाट सडकलाई ११ मिटर चौडा बनाउने कार्य सुरु गरेको थियो ।
बाटोको काम रोकिएपछि सवारी साधन लिएर मन्दिर पुग्ने भक्तजनले सास्ती बेहोर्नु पर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष सन्तोष केसीले काम रोक्न वनका कर्मचारी सडक निर्माणस्थलमै आएका र आफूले सम्मानपूर्वक काम रोकेको बताए । उनले भने, “हामीले मन्दिरसम्म पुग्ने भक्तजनलाई यातायातमा सहज होस् भन्ने उद्देश्यका साथ बाटो चौडा बनाउन लागेको काममा वन कार्यालयले गरेको अवरोध निन्दनीय छ ।”

प्रतिक्रिया दिनुहोस्