रामारोशनलाई सिमसारमा सूचीकृत गर्न माग «

रामारोशनलाई सिमसारमा सूचीकृत गर्न माग

अछाम- बाह्र बण्ड अठार खण्ड रहेको सुन्दर पर्यटकीय क्षेत्र रामारोशनलाई सिमसार तथा रामसार सूचीमा सूचीकृत गर्नुपर्ने भन्दै रामारोशनको रामेमा सिमसार दिवस मनाइएको छ । रामारोशन गाउँपालिकाको आयोजना र डिभिजन वन कार्यालय अछामको आयोजनामा सिमसार दिवस मनाउँदै यहाँका सरोकारवालाले रामारोशनलाई सिमसार तथा रामसार क्षेत्रमा सूचीकृत गनुपर्ने आवाज उठाएका हुन् ।
स्थानीय अनुराधा स्वारले भनिन्, “गाउँपालिकाले रामारोशनको विकासका लागि गरिरहेको प्रयास सकारात्मक छ । यसको प्रचार र संरक्षण तथा विकासमा सबै जिम्मेवार बन्नुपर्छ ।” यहाँका १२ वटा ताल, १८ वटा मैदान तथा पाटन, घनघोर जंगल, जडीबुटी र वन्यजन्तुको संरक्षणका लागि सबै तहका सरकारको ध्यान जानुपर्ने स्थानीय खडक सिंह रोकायाले बताए । उनले पर्यटनबाट नै रामारोशनको आर्थिक विकास हुने उल्लेख गरे ।
सहायक डिभिजन वन अधिकृत भक्तराज गिरिले यसलाई सिमसार क्षेत्र बनाउनको लागि पहलकदमी जरुरी रहेकोमा जोड दिए । गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले रामारोशनलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटन गन्तव्य बनाउन तथा पर्यटन गतिविधि बढाउन जरुरी रहेको बताइन् । गाउँपालिकाले रामारोशनको विकासका लागि विभिन्न प्रयासहरु गरिरहेको भन्दै उनले यसमा सबैको सकारात्मक साथ जरुरी रहेको उल्लेख गरिन् ।
गाउँपालिका अध्यक्ष झंकर साउदले गाउपालिकालाई समृद्ध बनाउन रामारोशन पर्यटन क्षेत्रलाई फोकस गरिएको बताए । पर्यटन गुरुयोजना बनाएर गाउँपालिका अघि बढिरहेको बताउँदै उनले रामारोशन क्षेत्रको संरक्षण र विकासका लागि सबै प्रकारका प्रयासहरु गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्