३ सय घरमा सोलार वितरण «

३ सय घरमा सोलार वितरण

लमजुङ-लमजुङका उत्तरी भेगमा रहेका ३ सय घरमा सोलार प्यानल वितरण गरिएको छ । मस्र्याङ्दी गाउँपालिका अन्तर्गत वडा नं. ४, ५ र ६ का विभिन्न समूह, घर, मठमन्दिरसहित ३ सय घरमा सोलार प्यानल वितरण गरिएको हो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा उत्तरी लमजुङका विशेषगरी पर्यटकीय गाउँमा ५१ वाटको ३ सय थान सोलार प्यानल वितरण भएको हो । स्थानीय र पर्यटकलाई लक्षित गरी विद्युत् अवरोधका बेला पनि सेवा सुविधा सहज बनाउन सोलार प्यानल वितरण गरिएको स्थानीय समाजसेवी एवं सोलार वितरण समन्वयकर्ता नरबहादुर गुरुङले बताए ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग आसपास रहेका गाउँमा स्थानीयसँगै पर्यटन व्यवसायलाई सहज बनाउन सोलार सेट वितरण गरिएको हो । पर्यटकको आगमन भइरहने सो क्षेत्रमा पटकपटक विद्युत् अवरुद्ध भई सास्ती भएकाले विकल्पको रूपमा सोलार सिस्टम जडान गरिएको गुरुङले बताए । “हाम्रो क्षेत्रमा अत्यधिक लोडसेडिङ हुन्छ,” गुरुङले भने, “विद्युत् अवरोधका कारण पर्यटन व्यवसायमा धेरै असर परेकोले विकल्प खोजिएको हो ।” पहिलो चरणमा ३८ थान, दोस्रो चरणमा ९० थान सोलार सेट वितरण गरिसकिएको छ । बाँकी घर परिवारलाई वितरणको क्रममा रहेको र जडान कार्य पनि सुरु गरिसकिएको छ ।
प्रत्येक घरमा सोलार जडान भएपछि स्थानीय खुसी भएका छन् । विद्युत्कै कारण टेलिफोन, रेडियो टिभीलगायतका सञ्चार सुविधा पनि अवरुद्ध हुँदा सास्ती भोग्नुपरेको स्थानीय पर्यटन व्यवसायी बलबहादुर गुरुङले बताए । “विद्युत् नहुँदा धेरैकुरा बन्द हुन्थ्यो,” गुरुङले भने, “अब विकल्प भएपछि त्यो सास्ती खेपिरहनु पर्दैन ।”
एक कार्यक्रमका बीच नेपाल सरकारका पूर्वजलस्रोत राज्यमन्त्री रामबहादुर गुरुङद्वारा स्थानीयलाई सोलार प्लेट दिएर वितरण सुरु गरिएको थियो । कार्यक्रममा बोल्दै पूर्वराज्यमन्त्री गुरुङले प्रविधिलाई प्रयोग गर्नुमात्र नभई त्यसबाट लाभ लिन सक्नुपर्नेमा जोड दिए । “हामीले प्रविधि पाएका छौँ,” गुरुङले भने, “यसको प्रयोगमात्रै हैन लाभ लिन सक्नुपर्छ ।” मन्त्री गुरुङले उत्तरी लमजुङ पर्यटकीय हिसाबले निकै अघि रहेको भन्दै आँफूसँग भएका स्रोत र साधन भरपुर प्रयोग गरी व्यावसायिक बन्न आग्रह गरे ।
४० हजार रुपैयाँ लागतको सोलार प्यानलमा स्थानीयले जनही ५ हजार रुपैयाँ लगानी परेको स्थानीयले जनाएका छन् । मस्र्याङदी–४ अन्तर्गत होमस्टे सञ्चालित गाउँ छापा, मिप्रा, सिलढुंगा, कालाघिरिङ गाउँसँगै वडा नं.–५ को घेर्मु, खानीगाउँ, सञ्जापु र वडा नं. ६ को बाहुनडाँडालगायतका गाउँमा पनि सोलार वितरण गर्ने समन्वयकर्ता नरबहादुर गुरुङले बताए ।

सन्देश पौडेल

प्रतिक्रिया दिनुहोस्