सूचना केन्द्रले पर्यटकलाई सहज «

सूचना केन्द्रले पर्यटकलाई सहज

तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल पर्यटकीय क्षेत्र गुफा बजारमा सूचना केन्द्र स्थापना भएपछि पर्यटकहरूलाई सूचना लिन सहज भएकोे छ । केन्द्र स्थापनाले गुराँसको राजधानीको रुपमा परिचित पूर्वि पहाडको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रका सबै सूचना एकै ठाउँमा पाइन थालेको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सूचना प्राप्त गर्न सहज हुने गरी संखुवासभाको चैनपुर नगरपालिका–१ स्थित टिएमजे क्षेत्रको मुख्य गन्तव्य गुफा बजारमा यो क्षेत्रको पहिलो पर्यटन सूचना केन्द्र स्थापना भएको हो । सूचना केन्द्रमा टिएमजेको पर्यटकीय स्थल, विभिन्न जातजातिको भाषा, संस्कृति, भेषभुषा झल्किने सामग्री राखिएको छ ।
केन्द्रबाट पर्यटकहरूले सहजै कुन क्षेत्रमा कहाँ र कसरी पुग्ने लगायतका सम्पूर्ण विवरण जान्न सकिने स्थानीयवासी हिमा खनालले बताइन् । उनले भनिन्, “यहाँ विशेषगरी लिम्बू, तामाङ्ग, शेर्पा समुदायको भेषभुषा, उनीहरूले सांस्कृतिक कार्यक्रममा प्रयोग गर्ने डम्फु, मादलदेखि लिएर लिम्बू समुदायको च्याब्रुङ्ग देख्न सकिन्छ । यसैगरी ग्रामिण वस्तीमा प्रयोग हुने डोको, दाम्लो, नाम्लो, नाङ्लो, थुन्से, हँसिया, खुकुरी लगायतका सामान पनि यस केन्द्रमा राखिएका छन् ।
एउटै वनमा २८ प्रजातिका गुराँस पाइने टिएमजे क्षेत्रमा सूचना केन्द्र स्थापनाले पर्यटन उद्योग तथा व्यवसायको प्रवद्र्धनका साथै सो क्षेत्रका अत्यावश्यक सूचना प्राप्त गर्न सकिन्छ । समुन्द्र सतहदेखि २८ सय ९० मिटरको उचाइमा रहेको यो बजारबाट मौसम खुलेको बेला मकालु, कञ्चनजंघा, ल्होसे र सगरमाथा हिमालसमेत अवलोकन गर्न सकिन्छ । पर्यटन सूचना केन्द्र स्थापना भएपछि पर्यटकलाई सबै कुराको जानकारी लिन सहज भएको सूचना केन्द्रका सचिव सन्तोष लिम्बूले बताए ।
केन्द्र स्थापनाको लागि ग्रामिण पुनर्निर्माण सस्थाले सहयोग गरेको सचिव लिम्बूको भनाइ छ । “पर्यटन सूचना केन्द्रबाट टिएमजे क्षेत्रका सबै सूचना पाउन सकिन्छ,” केन्द्रका अध्यक्ष केदारनाथ लिम्बूले भने । यो क्षेत्र हँुदै कन्चनजंघा, मकालु हिमाल भ्रमण गर्ने र तमोर नदी ¥याफ्टिङ गर्न जाने र यस यस क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सजिलै सूचना प्राप्त गरिरहेका छन् ।
यस क्षेत्रमा ३० प्रकारका स्तनधारी, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइन्छन् । यि सबै कुराको जानकारी यसै सूचना केन्द्रबाट जानकारी पाएकोे विराटनगरबाट घुम्न आएका अर्जुन परीले बताए । उनले भने, “सूचना केन्द्रले आफूहरूलाई यस क्षेत्रका बारेमा जानकारी लिन र घुम्न सजिलो भयो ।”
चौंरीको छुर्पि, भेडाको घिउ, दूध दही, मोही लगायत लिम्बू जातिको खाद्य परिकार याङवेन, तोङ्वा, सुकुटी र बंगुरको मासु यो ठाउँमा धेरै प्रख्यात रहेको छ । यसबारे आफूलाई सूचना केन्द्रले जानकारी गराएकोे काठमाडौंको बबरमहलबाट घुम्न आएका उमेश श्रेष्ठले बताए । “पर्यटन सूचना केन्द्रको माध्यमले यस क्षेत्रको बारेमा धेरै कुरा जानकारी लिएँ,” उनले भने ।
सूचना केन्द्रलाई अझ बढी व्यवस्थित गर्दै लेजानका लागि सहयोग गरिदिन स्थानीय र प्रदेश सरकारलाई अनुरोध गरिरहेको केन्द्रका अध्यक्ष लिम्बूले बताए । सरकारले हालै नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगमस्थल तीनजुरे, मिल्के, जलजले क्षेत्रभित्र यो गुफा बजार, सुके बजार र पर्यटन केन्द्र पनि पर्दछ ।

प्रतिक्रिया दिनुहोस्