स्वदेशी बिजुली पोललाई प्राथमिकता दिन माग «

स्वदेशी बिजुली पोललाई प्राथमिकता दिन माग


ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल समक्ष पोल उत्पादक व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रले उत्पादन गरेका पोल नकिन्ने र विदेशबाट महंगो दरमा नेपाल ल्याउने गरेको गुनासो गरेका छन् ।
नेपाल पोल एशोसिएशनको आठौं वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनमा पुगेकी मन्त्री भुसाललाई व्यवसायीहरुले विद्युत् प्राधिकरणले नकिनेकै कारणले उद्योग बन्द हुने अवस्थामा पुगेको र स्वदेशी उत्पादनमै प्रयोग गर्ने गरी आवश्यक प्रबन्ध सरकारले गर्नुपर्ने माग गरेका हुन् ।
नेपाल पोल उत्पादक संघका अध्यक्ष किशोरकुमार प्रधानले प्राधिकरणले उत्पादन गरेका पोल महङ्गोमा खरिद गर्ने तर निजी क्षेत्रले उत्पादन गरेका पोल प्राधिकरणले नकिन्दा आफूहरूले सञ्चालन गरेका उद्योग बन्द हुने अवस्थामा पुगेको गुनासो गरे । स्वदेशी उत्पादनलाई सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा मन्त्री भुसालले स्यालो ट्युबेल प्रयोग गर्ने किसानलाई निःशुल्क र डीप ट्युबेल प्रयोग गर्नेलाई ८० प्रतिशतसम्म विद्युत्् छुट दिएको जानकारी दिँदै आफ्नो निर्णय उत्पादकत्वमा वृद्धि भई व्यापार घाटा न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिन् । मन्त्री भुसालले घरायसी प्रयोजनमा हुने विद्युत्् खपतको महसल घटाएको बताउँदै आफ्नै देशको उत्पादन विद्युत्् प्रयोग गर्न सबैलाई आग्रह गरिन ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारी एवं निजी क्षेत्रलाई राज्यले समान व्यवहार गर्नुपर्ने बताए । महासंघका पूर्वउपाध्यक्षद्वय कुशकुमार जोशी र चण्डीराज ढकालले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने राज्यको नीतिलाई व्यवहारमा लागू गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्