च्याउ खेतीमा अन्तर्राष्ट्रिय पुरस्कार विजेता किसानको संघर्ष «

च्याउ खेतीमा अन्तर्राष्ट्रिय पुरस्कार विजेता किसानको संघर्ष

बाँकेको खजुरा गाउँपालिका–२ सितापुरका ४० बर्षिय कृषक लालबहादुर सुनारलाई च्याउ खेती गरेर सार्कस्तरीय अन्तर्राष्ट्रिय अवार्ड पाउँदा खुसीको सिमा थिएन । च्याउ खेतीबाटै नयाँ जीवनको सुरुवात गरेका सुनारलाई अहिले त्यही खेतीले करोडपती त बनाएको छ तर, खेती गर्दा नोक्सानी ब्यहोर्नु परेपछिको अवस्थाले भने उनलाई ऋण तिरेर नमूना कृषकको आफ्नो अस्तित्व जोगाउन निकै सकस भएको छ ।
२०६२ सालमा १ लाख १० हजार रूपैयाँ ऋण लिएर रोजगारीको सिलसिलामा कुवेत गएका सुनार ६ वर्षपछि घर फर्किएका थिए । घर फर्किदा न त घरमा श्रीमती थिइन न पैसा नै । सँगै मर्ने सँगै बाँच्ने कसम खाएकी जीवन संगिनीले लालबहादुरलाई सहाराविहीनका साथै ऋणको भारी बोकाएर गएपछि उनले आफूलाई सम्हाल्न निकै गाह्रो भएको बताउँछन् ।
विदेशबाट फर्किंदा त्यहाँको दुःख सम्झेर लालबहादुरले स्वदेशमै केही गर्ने निधो गरेर विमानस्थलमै राहदानी च्यातेका थिए । विदेशमा कमाएको पैसा जती श्रीमतीले लगाएको ऋण तिर्नमै ठीक्क भएपछि उनले जीवनको संघर्षपूर्ण यात्रा ठेलामा फलफूल तथा तरकारी बेचेर सुरु गरे । अरुसँग तरकारी खरिद गरेर बेच्दै गर्दा उनले आफैं तरकारी लगाउँदा झनबढी नाफा हुने अड्कल गरे । अनि २०६९ सालमा आफैं सुरु गरे घरजिीकैको १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती । कृषि कार्यालयवाट युवा स्वरोजगार कार्यक्रमअन्तर्गत ६० हजार रूपैयाँ पाएपछि आफूमा व्यावसायिक खेती विस्तार गर्ने उर्जा थपिएको उनले बताए ।
कृषिमै अवसर नियाल्दै गर्दा २०७१ सालमा १६ हजारको लगानीमा १ सय २१ पोकाबाट च्याउ खेती सुरु गरे । अरु तरकारीभन्दा च्याउमा बढी नाफा भएपछि अर्को सिजनमा ५ वटा टनेल बनाएर २ हजार ५ सय पोका च्याउ थपे । त्यो खेतीले विदेशमा खेपेको दुःख र श्रीमतीले छाडेर गएको पीडा बिर्साउने गरी मनग्ये आम्दानीका साथै राष्ट्रपतिबाट १ लाख रूपैयाँ राशीको पुरस्कार पाउन सफल भएको उनले बताए । “थोरै मेहनतबाट त्यो बेला धेरै राम्रो आम्दानी भयो,” उनले भने, “झन् राष्ट्रपतिको हातबाट पुरस्कार पाउँदा त विगतका सवै पीडा विर्सिएँ ।”
उनको सफलतासँगै साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले आधुनिक च्याउ खेतीका लागि ७४ लाख रूपैयाँको परियोजना स्वीकृत ग¥यो । तर, आयोजनाको नियमअनुसार ५० प्रतिशत आफ्ैले लगानी गर्नुपर्ने र सम्पूर्ण संरचना बनिसकेपछि मात्र भुक्तानी हुने भएपछि उनले लक्ष्मी बैंक नेपालगन्जबाट ३५ लाख र अन्य समूहबाट १९ लाख ऋण लिएर विभिन्न संरचना बनाएको बताए । च्याउ लगाउने बेलासम्म सिजन ढिला हुनुका साथै कृषिको कर्मचारीबाटै लिएको बीउ पनि गुणस्तरहीन भएपछि ७ हजार ४ सय पोका च्याउ ब्लास्ट भएर करिव १७ लाख उल्टै घरबाट तिर्नुपरेको उनले सुनाए । त्यसयता ऋणको ब्याज तिर्नै नसक्ने गरी ऋणले थिलिएको उनले दुखेसो पोखे ।
च्याउ खेतीमा लालबहादुरले करिव १ करोड १७ लाख रूपैयाँ लगानी गरिसकेका छन् । उनले वर्षमा करिव ३० हजार पोका च्याउ बिक्री गर्दै आएका छन् । त्यसबाट बार्षिक करिव ४० लाख आम्दानी हुने गरे पनि खर्च कटाउँदा २६ लाख नाफा हुने गरेको उनले बताए । त्यही नाफाले ऋणको ब्याज तिर्न ठीक्क भएको उनको भनाइ छ । ऋण तिर्न नसक्दा भएको घरजग्गालगायत संरचना लिलामी गर्ने अवस्थामा भए पनि आफूले गरेको परिश्रम र ईमान्दारिताका कारण बैंकबाट निकै सहयोग पाएको उनको भनाइ छ । सरकारले कृषिकर्ममा लागेका परिश्रमी कृषकलाई सहुलियत ऋण दिन्छ भन्ने सुनेका लालबहादुर धेरै बैंकमा गए पनि नपाएको बताउँछन । “धेरै ठाउँमा प्रयास गरे सहुलियत कर्जा पाउन सकिनँ,” उनले भने, “खै कस्ताले पाउँछन् त्यो कर्जा ।” बैंकको चर्को ब्याजले यता आफ्नो फर्मसहितको जग्गा लिलामी हुने अवस्थामा पुगे पनि सरकारको सहुलियत कर्जा आफूजस्ताले नपाएको दुखेसो उनको छ ।
लालबहादुर अहिले ऋण तिर्दै च्याउ खेती गरेर नमूना कृषकको पहिचान जोगाउने ध्याउन्नमा छन् । मासिक ९ हजारदेखि १७ हजार तलब पाउने गरी ११ जना कर्मचारीलाई रोजगारीसमेत दिएका लालबहादुरले अझै च्याउ खेतीमै भविष्य देखेका छन् । “अहिलेको समस्याबाट छुटकारा पाएँ भने च्याउमै नवीनतम कार्यगर्ने सोच बनाएको छु,” उनले भने ‘भाग्यले साथ दियो भने बाँकेमै मसरुम रेस्टुरेन्ट खोल्ने धोको छ ।” च्याउ खेती गर्ने कृषक राम्रो बीउ नपाएर समस्यामा परेको स्मरण गर्दै उनले विभिन्न प्रविधि भिœयाएर गुणस्तरीय बीउ उत्पादन गर्ने सोच बनाएको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्