Logo

सुन्तला बिक्रीबाटै किसान मालामाल

सन्धिखर्क-अर्घाखाँचीमा यसवर्ष सुन्तलाको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष २४ करोड रूपैयाँको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ ।
पाणिनी गाउँपालिका–१ पणेनाको सिम्लेका अधिकांश घरधुरीले यस वर्ष सुन्तला बिक्रीबाट न्यूनतम् ५० हजारदेखि १२ लाख रूपैँयासम्म आम्दानी गरेका छन् । विदेशमा ११ वर्ष वसेका खगेन्द्र पौडेलले ६ रोपनी जग्गामा सुन्तला खेती गरेका छन् । मकै र गहुँ रोपेर २० हजार आम्दानी नगर्ने पौडेलले अहिले सुन्तला खेतीबाट वार्षिक ८ लाख रूपैयाँ आम्दानी गर्ने गरेको बताए ।
गतवर्ष दुई लाख रूपैयाँको सुन्तला बिक्री गरेका इन्द्रमणि पाण्डेले यसवर्ष ६ लाखको बिक्री गरेको बताए । “काम गर्ने हो भने देशमै सुन फलाउन सकिन्छ,” उनले भने, “मेहनत गरे जहाँ पनि आम्दानी गर्न सकिन्छ विदेश धाउनु पर्दैन ।”
दुई वर्ष विदेश बसेर फर्किएका रामप्रसाद पौडेलले सुन्तला खेतीलाई विस्तार गर्दै लगेको बताए । उनले वार्षिक ६ लाख आम्दानी गर्ने गरेका छन् । सरकारले सहयोग गरे अझ धेरै आम्दानी गर्न सकिने विश्वास पलाएको उनले बताए ।
२०५१ सालमा पाल्पाबाट सुन्तलाका विरुवा ल्याएर खेती सुरु गरेका मोहन पौडेलले अहिले राम्रो आम्दानी गरिरहेका छन् । उनले परीक्षणकालमा सुरु गरेको ६ वर्षपछि गाउँका कृषकले मकै, गहुँ खेती गर्न छाडेर सुन्तला खेतीमा लागेको बताए ।
भारतमा सिपाहीको जागिर गर्दै गर्दा ‘खान नपाएर आएका नेपाली’ भन्ने सुनेका कारण भारतीय पल्टनको जागिर चटक्कै छाडेर स्वदेश फर्किएका पणेनाका ७४ वर्षका हुमनाथ पौडेल पनि अहिले अर्घाखाँचीकै सफल नमूना सुन्तला किसान बन्न सफल भएका छन् ।
२०२७ सालमा भारतमा जागिर गर्दै गर्दा भारतीयले नेपालीप्रति गरेको घृणाको वचन सहन नसकी जागिर चटक्कै छाडेर घरमै फर्किएका पौडेल नेपाली माटोमै केही गरेर देखाउन सक्छु भन्ने दृढ संकल्पका साथ सुन्तला खेती गर्न सुरु गरेपछि अहिले नमूना बनेका छन् ।
पौडेलले आफूले मात्रै सुन्तला खेती गर्नन, गाउँका अन्यलाई पनि खेती गर्न प्रेरित गरे । अभियानका साथ आफैं डोकोमा बोकेर घरघरमा सुन्तलाका बिरुवा पु¥याए । पैसा हुनेलाई बिरुवा पैसोमा बेचे, नहुनेसँग श्रम साटे भने कसैसँग अन्न, डोका नाम्ला र दाउरा लिएर पनि सुन्तलाका बिरुवा घरघरमा लगाउन अनुरोध गरे । केहीलाई निःशुल्क बिरुवा दिएर पनि सुन्तला लाउन प्रेरित गरे उनले । उनले आफ्नो घरमा मात्रै सुन्तला खेतीबाट वार्षिक ६ लाख रूपैयाँ आम्दानी हुने गरेको र आफ्नो परिवारलाई खान लाउन पुगेको बताए ।
उनको सुन्तला बगंैचामा अहिले झन्डै साढे ५ सय सुन्तलाका बिरुवा छन् । बारी, खेत, खर्क सबैमा सुन्तलाको खेती गरेका छन् । रेवतीराज पौडेललाई सुन्तला खेती गर्न ३६ वर्षिय चिरन्जीवी पौडेलको साथ छ, छोराले १८ वर्षको उमेरदेखि नै सुन्तला खेती गर्न साथ दिएको हुमनाथले बताए । उत्पादन भएको सुन्तला बिक्री गर्न यातायातको समस्या छैन, अग्र्यानिक सुन्तलाको माग बढ्दो छ, घरबाट पनि बिक्री हुन्छ । जिल्ला सदरमुकाम सन्धिखर्क, पाल्पाको तानसेन र रूपन्देहीको बुटबलमा पनि बिक्रीका पठाइने गरेको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खनलगाएतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो । अर्घाखाँचीमा १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ । यहाँ उत्पादन भएको सुन्तला रूपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घासलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्