फेवातालमा ढल मिसाइयो
पोखराको मुख्य पर्यटकीयस्थल फेवातालमा ढलको दूषित फोहोर पानी मिसिँदा पनि कसैको ध्यान जान सकेको छैन । फेवातालको नाममा स्थापना भएका दर्र्जनभन्दा बढी संघसंस्था र प्रत्यक्ष सरोकार राख्ने पोखरा–लेखनाथ महानगरपालिका कार्यालय भने यस विषयमा मौन छ ।
स्थानीय निकायको निर्वाचनबाट जनप्रतिनिधि निर्वाचित भएर आएपछि पोखराको मुख्य पर्यटकीय गन्तव्य संरक्षण हुने आशामा रहेका पोखरेली ८ महिनाभन्दा बढी समय बित्दा पनि ताल संरक्षणमा खासै ध्यान नदिएपछि निरासा छाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले बताए । पोखरा सफाइ अभियानका अभियान्तासमेत रहेका पौडेलले फेवाताल संरक्षण गर्ने जिम्मा पाएको महानगरपालिकाका जिम्मेवार पदाधिकारीलाई यस विषयमा कुनै चासो नभएको दाबी गरे । उनले भने, “महानरपालिकालाई फेवाताल संरक्षण गर्न हामीले पटकपटक आव्हान गर्दा पनि कुनै सुनुवाइ भएको छैन, महानगरपालिकालाई कसैको होटल तथा रेस्टुराँको उद्घाटन गर्न भ्याइनभ्याई छ ।” अझै पनि फेवातालमा दिनदहाडै दुर्गन्धित ढलको फोहोर पानी मिसिएको दाबी गर्दै संयोजक पौडेलले यसलाई नियन्त्रण गर्न जनप्रतिनिधिसमेत उदासीन भएको दाबी गरे ।
करिब ८-१० वटा स्थानबाट दुर्गन्धित ढलको पानी सिधै फेवातालमा मिसिँदा पनि सरोकारवाला निकाय मौन रहेको सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामका अध्यक्ष भीम पराजुलीले बताए । उनले भने, “अहिले हिउँदको समयमा त दिनदहाडै ढलको पानी सिधै फेवातालमा मिसिएको छ भने, पानी पर्दा अर्थात् वर्षात्मा ताल छेउछाउमै दुगन्र्धले बसिसक्नु हुँदैन, यसलाई समयमै नियन्त्रण गर्न नसके फेवातालको अस्तित्व नै संकटमा पर्न सक्छ ।” फेवातालमा दूषित पानीमात्र नभई हरेक वर्ष खहरे खोलाले ल्याएको ढुंगामाटो र बालुवाले पुर्दै जाँदा फेवातालको भविष्य संकटमा पर्दै गएको पराजुलीले बताए । केन्द्रको अगुवाइमा केही समयअघि महानगरपालिका, स्थानीय, केन्द्रसहितको एक टोलीले अनुगमन गर्दा करिब २५ वटा विभिन्न होटल तथा रेस्टुराँ र स्थानीयले ढल तथा सेफ्टी ट्यांकीको फोहोर सिधै फेवातालमा मिसाएको भेटिएको अध्यक्ष पराजुलीले दाबी गरे ।
पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखराको फेवातालमा ढलसहितको फोहर दूषित पानी मिसिएको बारे आफूलाई थाहा नभएको बताए । उनले भने, “फेवातालमा फोहोरसहितको दूषित पानी जाने गरेको भए अब हामी त्यसलाई नियन्त्रण गछौं ।”