४७ करोडको सुन्तला उत्पादन «

४७ करोडको सुन्तला उत्पादन

स्याङ्जामा चालू आर्थिक वर्षमा करिब ४७ करोड रूपैयाँ बराबरको सुन्तला उत्पादन हुने भएको छ । १ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा १४ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन हुने र सो बिक्रीबाट ४६ करोड ८१ लाख २९ हजार २४ रूपैयाँ जिल्ला भित्रिने अनुमान गरिएको छ ।
स्याङ्जामा उत्पादित सुन्तलामध्ये २९ सय २५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७ सय ३ मेट्रिक टन जिल्लाबाहिर पोखरा, बुटवल र काठमाडौं निर्यात हुने जिल्ला कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सन्दीप सुवेदीले जानकारी दिए ।
गतवर्ष स्याङ्जामा १ हजार २ सय ५० हेक्टरमा १३ हजार ६ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट झन्डै ३६ करोड रूपैयाँ भित्रिएको थियो । जिल्लामा सुन्तलाबाट मात्रै वार्षिक रूपमा २५ लाखसम्म नगद आर्जन गर्ने कृषकसमेत रहेको ज्ञान केन्द्रले जनाएको छ ।
पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । सुन्तलाले प्रख्यात वालिङ नगरपालिका–३ मा ‘सुन्तला बारी होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ ।
बढी सुन्तला उत्पादन हुने भएकाले स्याङ्जामा सुन्तला उत्पादक कृषकलाई प्रोत्साहन र प्राविधिक सहयोग गर्न २ वर्ष अघिदेखि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन ईकाइअन्तर्गत सुन्तला सुपरजोन जिल्ला घोषणा गरिएको थियो ।

प्रकाश डोटेल

प्रतिक्रिया दिनुहोस्