अदुवाको सिजन सुरु «

अदुवाको सिजन सुरु

अघिल्ला वर्षको तुलनामा यो वर्ष अदुवाको मूल्यमा सुधार आएपछि हौसिएका किसान यस वर्ष बेलैमा अदुवा रोप्ने तयारीमा लागेका छन् ।

पाँचथर-कहिले निकासीमा त कहिले मूल्यमा समस्या देखिँदै आएको अदुवाको मूल्यमा सुधार आएसँगै अदुवा उत्पादक कृषकमा खुसी छाएको छ । कृषकहरू यो वर्ष अदुवाको उत्पादन बढाउने तयारीमा लागेका छन् ।
जिल्लामा अदुवा उत्पादक कृषकको संख्या निकै ठूलो छ । जिल्लामा कूल ७ सय ५० हेक्टरमा अदुवा खेती हुने गरेको छ । तथ्यांक अनुसार जिल्लामा ९ हजार ५ सय मेक्ट्रिक टन अदुवा उत्पादन हुने गरेको छ । पाँचथरको भारपासहित सुभाङ, पञ्चमी, यासोक, नाङ्गिन, चोकमागुलगायतका क्षेत्रमा उदुवाको राम्रो उत्पादन हुने गरेको छ । यहाँका कृषक अहिले अदुवाका लागि माटोको तयारीमा जुटेका छन् ।
अघिल्ला वर्षसम्म प्रतिकिलो ५ रूपैयाँमा बिक्री गर्नुपर्दा निरास कृषकलाई यस वर्ष भने केही राहत भएको छ । यो वर्ष अदुवाको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ । व्यापारिक प्रयोजनका लागि बिक्री वितरण गर्ने समय सकिए पनि हाल बीउका लागि कृषकले अदुवा किन्ने र बेच्ने गरिरहेका छन् । “व्यापारिक प्रयोजनाका लागि अहिले प्रतिकिलो अदुवा ८५ रूपैयाँमा किनबेच भइरहेको छ, तर यो लामो समयसम्म रहन्न” नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष गणेश पोख्रेलले भने, “अहिले कृषकसँग ब्यापारिक प्रयोजनका लागि अदुवा छैन ।”
अघिल्ला वर्षको तुलनामा यो वर्ष अदुवाको मूल्यमा सुधार आएपछि हौसिएका किसान यस वर्ष बेलैमा अदुवा रोप्ने तयारीमा लागेका छन् । अघिल्लो वर्षको फसल सप्रिएपछि कृषक यो बर्ष अदुवा बढाएर लगाउने तयारीमा छन् । अदुवा फेसन नै भएको भन्दै विगत वर्षमा आलोचनासमेत हुने गरेको थियो । यो वर्ष राम्रो बिक्री भएपछि कृषक फेरि खेतीमा फर्किएका हुन् ।
नेपालबाट अदुवा निकासीलाई सहज बनाउन नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघले पहल थालेको छ । संघसहितको टोली एक साता अघि बंगलादेशको भ्रमणमा गएको थियो । भ्रमणका क्रममा टोलीले अदुवाको दिगो निकासीका विषयमा त्यहाको बाणिज्य विभागसँग छलफल गरेको थियो ।

दिपक बोहोरा

प्रतिक्रिया दिनुहोस्