साल्ट ट्रेडिङले २० हजार टन चिनी खरिद गर्ने «

साल्ट ट्रेडिङले २० हजार टन चिनी खरिद गर्ने

उद्योगीले बजारमा चिनीमा अस्वाभाविक मूल्य बढाएपछि त्यसलाई नियन्त्रण गर्न कर्पोरेसनले २० हजार टन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

बजारमा चिनीको मूल्य बढीरहेका बेला सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेसनले २० हजार टन चिनी खरिद गर्ने भएको छ । बजार मूल्य नियन्त्रण गर्न स्वदेशी उद्योगसँग चिनी खरिद गर्न कर्पाेरेसनले टेन्डर आह्वान गरेको हो ।
बजारमा चिनीको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँ छ । बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न कर्पाेरेसनले प्रत्येक वर्ष स्वदेश र विदेशबाट चिनी खरिद गर्दै आएको थियो । यो वर्ष पनि कर्पाेरेसनले चिनी खरिद गर्न टेन्डर आह्वान गरेको हो । कर्पाेरेसनका नायव महाप्रबन्धक कुमारराज राजभण्डारीले बजार मूल्य नियन्त्रण गर्न स्वदेशी उद्योगबाट २० हजार टन चिनी खरिद गर्न लागिएको जानकारी दिए । “स्वदेशी उद्योगसँग चिनी खरिद गर्न टेन्डर आह्वान गरेका छौं,” उनले भने, “जुन उद्योगले सस्तोमा चिनी उपलब्ध गराउँछ, सोही उद्योगबाट खरिद गर्छौं ।”
उद्योगीले बजारमा चिनीमा अस्वाभाविक मूल्य बढाएपछि त्यसलाई नियन्त्रण गर्न कर्पोरेसनले २० हजार टन खरिद गर्ने प्रक्रिया अगाडि बढाएको हो । गत वर्ष कर्पाेरेसनले विदेशबाट चिनी आयात गरेको थियो ।
चिनीको लागत मूल्य बढेको भन्दै उद्योगीले मूल्य बढाउन प्रस्ताव गरेका छन् । नेपाल चिनी उद्योग संघले कारखाना मूल्य ७८ रुपैयाँ १० पैसा हुने गरी मूल्य बढाउन प्रस्ताव गरेको छ ।
संघका अध्यक्ष शशीकान्त अग्रवालले लागत मूल्य बढेकाले चिनीको मूल्य बढाइएको बताए । “हामीले घाटा खाएरै चिनी बिक्री गरेका थियौं,” उनले भने, “उखुको मूल्यवृद्धि हुँदा बाध्य भएर चिनीको मूल्य बढाउनुपरेको हो ।” स्वदेशी उद्योग जोगाउन भन्दै राज्यबाट सुविधा लिएका उद्योगीले अहिले चिनीको लागत मूल्य वृद्धि गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसहित अर्थ मन्त्रालयसँग लविङ गर्दै आएका छन् ।
संघले उपभोक्ता मूल्य प्रतिकिलो आठ रुपैयाँसम्म बढाउने उद्देश्यले प्रतिकिलो चिनीको लागत मूल्य भ्याटबाहेक ७८ रुपैयाँ १० पैसा कायम हुनुपर्ने माग गरेको छ । कर्पोरेसनसँग अहिले करिब ६ हजार टन चिनी मात्रै मौज्दात छ । कर्पाेरेसनले प्रतिकेजी ६८ रुपैयाँमा चिनी वितरण गर्दै आएको छ । भारतसँग खरिद भएको २ हजार ५ सय टन चिनी वीरगन्जस्थित सुक्खा बन्दरगाहमा गत भदौदेखि अलपत्र छ । सरकारले स्वदेशी उद्योगीको मागअनुसार भदौ ३० गते चिनी आयातमा एक लाख टन कोटा निर्धारण गरी परिमाणात्मक बन्देज लगाएपछि उद्योगीले चिनीको मूल्य बढाएका हुन् ।
मुलुकमा १ लाख २० हजार टन चिनी उत्पादन हुने गर्छ । स्थानीय उत्पादनले ४० प्रतिशत माग धान्ने र बाँकी ६० प्रतिशत बाहिरबाट आयात हुने गरेको छ ।
यसैबीच, स्वदेशी उद्योग जोगाउने नाममा चिनीको भन्सार शुल्क फेरि वृद्धि गरिने भएको छ । संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले भन्सार शुल्क थप वृद्धि गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमभित्र रहेर अधिकतम् ६० प्रतिशतसम्म चिनीको भन्सार शुल्क वृद्धि गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्