नेताको व्यवहारले संविधानप्रति वितृष्णा बढ्यो : पौडेल

स्याङ्जा- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहारले छोटो सयममै संविधानप्रति नागरिक तहमा वितृष्णा बढेको बताएका छन् । सत्तामा पुगेपछि नेताहरुले शक्तिको दुरुपयोग गरेर भ्रष्टाचार गर्नाले संविधानमा वितृष्णा बढेको उनले दाबी गरे ।
“सत्तामा पुग्न जस्तोसुकै जालझेल गर्न तयार हुने नेताले सत्तामा पुगेपछि शक्तिको दुरुपयोग गर्ने प्रतिस्पर्धा गरेका छन्,” नेपाली कांग्रेस स्याङ्जाले संविधान दिवसको अवसरमा आइतबार जिल्ला पार्टी कार्यालयमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले भने, “नेताको आचरणले गर्दा संविधान र व्यवस्थाप्रति नागरिकस्तरमा वितृष्णा बढेको छ ।”
संविधान बनेको ६ वर्षमै संविधानप्रति प्रश्न उठ्नु दुखद् कुरा भएको स्पष्ट पार्दै उनले लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प नभएको जिकिर गरे । नेता पौडेलले संविधान बनेपछि भएको निर्वाचनपछि दुईतिहाई बहुमत ल्याएर प्रधानमन्त्री भएका केपी ओली नयाँ तानाशाह र डोनाल्ड ट्रम्पको नयाँ रुपमा प्रस्तुत भएको आरोप लगाए ।
संसदीय व्यवस्थालाई सुधार गर्दै लैजान सकिने भएकाले संविधानप्रति विश्वास गर्न उनले आमनागरिकलाई आग्रह गरे । कांग्रेसले २००७ सालमा परिकल्पना गरेको संविधानसभाबाट संविधान बनाउने २०७२ मा पूरा भएकाले व्यवस्थालाई सुधार गर्दै जान सकिने नेता पौडेलको विचार थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेता पौडेलले ओलीले चलाएको सरकार र देउवाले चलाएको पार्टी उस्तै रहेको टिप्पणी गरे । सत्ता र शक्तिको दुरुपयोग गरेर शक्ति आफ्नै कब्जामा राख्न पाए राम्रो त्यसप्रति कसैले प्रश्न गरे त्यो नराम्रो भन्ने प्रवृत्ति सरकार र पार्टीमा मौलाएको नेता पौडेलको भनाइ थियो ।