एनआरएनए अध्यक्षका लागि कुल आचार्यको तयारी «

एनआरएनए अध्यक्षका लागि कुल आचार्यको तयारी

पर्वत-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अध्यक्षमा पर्वतका कुल आचार्यले उम्मेवारी दिने भएका छन् । अघिल्लो अधिवेशनमा गोरखाका कुमार पन्तसँग पराजित भएका आचार्यले आइतबार गृहजिल्ला पर्वत सदरमुकाम कुश्मा बजारमा पत्रकार सम्मेलन आयोजना गरी उम्मेदवारी दिने तयारी भइरहेको घोषणा गरेका हुन् ।
२० अक्टोबर अर्थात् आगामी कात्तिक ३ गतेदेखि आयोजना हुने एनआरएनएको दशौं सम्मेलनमा उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा समेत गरे । पहिलोपटक आफ्नो गृह जिल्लाका शुभेच्छुकहरुमाँझ शुभकामना लिने उद्देश्यले आइतबार बिहान पत्रकार सम्मेलन आयोजना गरी पुनः अध्यक्ष पदको लागि आफू तयारी अवस्थामा रहेको बताए । उनले अघिल्लो पटक भन्दा थप तयारी र सशक्त रुपमा उम्मेदवारी दिन लागेको जानकारी समेत दिए । “औपचारिक उम्मेदवारी घोषणा भने राजधानीमा विशेष समारोहका बीच गर्नेछु,” आचार्यले भने ।
गैरआवासीय नेपालीहरुको हक हितलाई सुनिश्चित गर्नका लागि आफू अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ । आचार्यले पैत्रिक सम्पत्तिको अधिकार, राहदानी तथा तेस्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने सर्वोच्च प्राथमिकता दिने बताए ।
त्यसैगरी म्यान्मार, थाईल्याण्ड लगायत मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका नागरिकहरुलाई पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन प्रयास गर्ने, संघका पञ्जीकृत सदस्यहरुको संख्या ५ लाख पु¥याउने, राष्ट्रिय समन्वय परिषद एनसीसीको संख्या १ सय पु-याउने उनको कार्ययोजना रहेको छ । नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा एनआएनए सीप विकास केन्द्र स्थापना गरिने, कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि एक एनआएनए एक रोजगार अभियान शुरु गर्ने कार्ययोजना समेत आचार्यले बनाएका छन् ।
गैरआवासीय नेपाली र नेपालमा रहेका उनीहरुका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलव्ध गराउन विभिन्न स्वास्थ्य संंस्थाहरुसँग सम्झौता गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोवाइल एप निर्माण गरी अनलाइन कक्षाहरु संचालन गर्ने, एनआरएनए खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने उनका प्रतिवद्धता रहेका छन् ।
पर्वतको जलजला गाउँपालिकामा २०२९ सालमा जन्मेका आचार्यले एनआरएनएका विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।
उम्मेदवारी घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा आचार्यले आफ्नो जन्मभूमि धाईरिङमा यस वर्षको बाढीपहिरोले विस्थापित बनेका परिवारहरुको पुनस्र्थापनाका लागि १० लाख व्यक्तिगत रुपमा दिने घोषणा गरे । त्यस्तै सदरमुकाम कुश्माबजारको गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर कक्षा संचालनका लागि १ लाख ५५ हजार रुपैयाँ सहयोग गरे ।

प्रतिक्रिया दिनुहोस्