लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइयो : ओली «

लोकप्रिय सरकारविरुद्ध लेख्ने पत्रकार र तिनका मालिकलाई विभूषण दिइयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको विरोध गर्ने, मिडियाका मालिक र पत्रकारलाई अहिलेको सरकारले विभूषण प्रदान गरेको भन्दै आक्रोश पोखेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले संविधान दिवसको दिनमा भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
‘अघिल्लो सरकार, जो लोकप्रिय सरकार थियो, जो विकासप्रेमी सरकार थियो । सुशासनका लागि लड्थ्यो। त्यो सरकारको विपक्षमा खोइरो खनेर निराधार एउटा पनि सकारात्मक समाचार नदिने सबै बेठिक, बेठिक समाचार दिएर देशलाई भड्खालामा हाल्न खोज्ने सञ्चार माध्यम र तिनका मालिकहरू ठूला ठूला पदकहरूबाट विभूषित भए’, उनले भने ।
उनले कमसेकम खोज पत्रकारिता गर्ने, लोकतन्त्रको पक्षमा र पत्रकारिकताको पक्षमा पत्रकारिताको धर्म निर्वाह गर्ने पत्रकारलाई सम्मान गर्नुपर्ने बताए ।
‘जे पायो त्यही विषयमा मुद्दा हाल्ने, जे पायो त्यही बोल्ने, झगडीयाहरू सम्मानित,’ ओलीको भनाइ थियो, ‘दुई चार जना छुटेको जस्तो लाग्यो तर नाम भन्दिनँ ।’
उनले अदालत र न्यायाधीशहरुको पनि चर्को आलोचना गरे । ‘मुद्दा जिताइदिने हराइदिने, आँखामा पट्टी बाँध्ने । आँखामा पट्टी बाँधे पनि तराजु त छामे पनि देखिन्थ्यो नि,’ ओलीले भने,‘ यो सबैका लागि लज्जाजनक विषय हो। इतिहासले निर्मम मूल्याङ्कन गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्