नेपालले पहिलोपटक जित्यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला «

नेपालले पहिलोपटक जित्यो ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला

नेपालले पहिलो पटक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको तेस्रो तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १४ रनले विजयी भएको हो ।
वर्षाका कारण झन्डै २ घन्टा वबरुद्ध भएपछि सुरु भएको खेलमा यूएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका थिए । दश ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाएर १०४ रन बनायो । १ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले ८ विकेट गुमाएर ९० रनमात्र जोड्न सक्यो ।
जितसँगै तीन खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ । पहिलो खेल यूएईले २१ रनले जितेको थियो भने दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । त्यसअघि सम्पन्न ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि नेपाल २–१ ले विजयी भएको थियो ।
१ सय ५ रनको लक्ष्य पछ्याएको यूएईले आक्रामक शुरुआत गरेको थियो । पहिलो ओभरमै २० जोडेको यूएईले ७ ओभर सकिँदा ३ विकेट विकेट गुमाएर ७२ रन बनाइसकेको थियो । तर, त्यसपछि यूएईले निरन्तर विकेट गुमाएपछि नेपालले १४ रनको नतिजा निकालेको हो ।
एकै ओभरमा २ विकेट लिएका करणले ३० रन बनाएका शाइमन अनवरलाई ज्ञानेन्द्र मल्लमार्फत् क्याच गरेका थिए भने मोहम्मद नाभीदलाई पवन सर्राफमार्फते क्याच गरेपछि घरेलु टोली दबाबमा परेको थियो । दशौं ओभरमा ललितनारायण राजवंशीले पनि लगातार २ विकेट लिए । ललितनारायणले सीपी रिजवान र अमिर हायतलाई पवेलियन फर्काएका थिए ।
पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाएका सन्दीपले २८ रन बनाए । ११ बलमा ३ छक्का हानेका सन्दीपले विनोद भण्डारीसँग पाँचौं विकेटका लागि ३७ रनको साझेदारी गरे । करण केसी १० रन बनाएर आउट हुँदा विनोद २१ रन बनाएर पवेलियन फर्किएका थिए ।

प्रचण्डले दिए बधाइ
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टी–२० सिरिज विजेता नेपाली क्रिकेट टोलीलाई बधाइ तथा शुभकामना दिएका छन् ।
अध्यक्ष दाहालले नेपाली टोलीले यूएईमा सम्पन्न ट्वान्टी–२० सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै ऐतिहासिक जित हासिल गरेलगत्तै बधाइ दिएका हुन् । अध्यक्ष दाहालले खेलाडीलाई बधाइ ज्ञापन गर्दै विश्वस्तरीय प्रतिष्पर्धामा नेपाली खेलाडीको एकपछि अर्को जितले सम्पूर्ण नेपालीमा उत्साह र उमंग छाएको उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्