‘प्रदेशको स्थायी राजधानी र नामाकरण चाँडै’ «

‘प्रदेशको स्थायी राजधानी र नामाकरण चाँडै’

विराटनगर-प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामाकरण प्रदेशसभाको हिउँदे अधिवेशनबाट टुंगो लगाउने बताएका छन् ।
मुख्यमन्त्रीको कार्यकक्षमा आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरूको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुंगो लाग्ने जानकारी दिए । “यो हिउँदे अधिवेशनबाट प्रदेशको नाम र स्थायी राजधानीको मुद्दा टुंगो लाग्छ,” राईले भने । यसअघि पनि मुख्यमन्त्री राईले सार्वजनिक समारोहहरूमा बर्खे अधिवेशनमै स्थायी राजधानी र नाम टुंगो लाग्ने बताउँदै आएका थिए । उनले साउनभित्रै नाम र राजधानी टुंगो लगाउने बताएका थिए । तर, त्यतिबेला बर्खे अधिवेशन त्यतिकै समापन गरिएको भन्दै सत्तापक्षकै सांसदहरुले विरोध जनाएका थिए ।
प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ वटा विधेयक पारित भइसकेको बताउँदै उनले चालु अधिवेशनमा प्रक्रियामा रहेका आठवटा विधेयक दुईवटा समितिमा छलफल र चारवटा संसदमा दर्तामा रहेको जानकारी दिए । मुख्यमन्त्री राईले तेस्रो अधिवेशन निकै महत्वपूर्ण रहेको बताउँदै सरकार गठन भएको एक वर्षको आगामी फागुन ३ गते समीक्षा एवं मूल्यांकन गर्ने बताए ।
उनले अत्यावश्यक थप १० वटा विधेयक संसदमा सरकारले ल्याउने तयारी गरिरहेको जानकारी दिंदै तेस्रो अधिवेशनमा संसदीय समितिको सभापति चयन गर्ने कार्यसूची रहेको उल्लेख गरे ।

अधिवेशन शुरु

आइतबारदेखि प्रदेश–१ को हिउँदे अधिवेशन सुरु भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठकमा राजनीतिक दलका प्रतिनिधिले प्रदेश नं १ को राजधानी र नामकरणमा प्रदेश सरकारले ढिलाइ गरेमा जनतामा अविश्वास बढ्ने धारणा व्यक्त गरे ।
नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले विकास निर्माणमा गति लिन नसकेकामा चिन्ता गर्दै प्रतिपक्षलाई वास्ता नगरीकन अघि बढे समस्या हुने बताए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता टङ्क आङ्बोहाङले प्रदेश सरकार प्राविधिक कारणले चाहेअनुसार काम गर्न नसकेको भए पनि सरकार प्रतिपक्षलाई सबै कुरामा सहमति लिएर नै अघि बढिरहेको चर्चा गरे ।
संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादवले प्रदेशको राजधानी र नामकरण यसै अधिवेशनबाट टुङ्गो लगाउनुपर्ने माग गरे । संघीय लोकतान्त्रिक गणतान्त्रिक मञ्चका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले जनताका पक्षमा सबैलाई खुशी पार्न प्रदेश सरकारको नीति तथा कार्यक्रम हुनुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता इन्दिरा राईले देश अन्योलतातर्फ लम्किरहेकाले सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।
यसैगरी कार्य व्यवस्था परामर्श समितिमा सदस्य रहेका मोहनबहादुर खड्काको स्थानमा नेकपा संसदीय दलका सचेतक सीता थेवेलाई सदस्य कायम गरिएको सम्बन्धी पत्र सभामुख भण्डारीले पढेर सुनाए । प्रदेशसभाको अर्को बैठक माघ २३ गते अपराह्न २ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्