१२ लाख पर्यटक र तीन विमानस्थल «

१२ लाख पर्यटक र तीन विमानस्थल

नेपालमा औपचारिक रूपमा पर्यटन व्यवसाय सुरु भएको लगभग ६५–६६ वर्षको पर्यटन इतिहासमा सन् २०१७ मा बल्ल नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्याले १० लाख नाघेको छ । स्मरणीय छ, सो वर्ष ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो संख्या भनेको लगभग १२ लाखको हो । त्यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये छिमेकी देश भारत र चीनका पर्यटक संख्याले पहिलो र दोस्रो स्थान ओगटेको छ ।
नेपाली पर्यटनको कुरो गर्दा पहिलो कुरो भनेको पूर्वाधार नै हो । त्यसमा पनि हाम्रो जस्तो भूगोल भएको देशमा हवाई यातायात र सडक यातायात नै यातायातको प्रमुख साधन हुन् । यसमा कुनै शंका रहेन । फेरि हामीसँग सन् २०२० मा २० लाख विदेशी पर्यटकलाई नेपालको भ्रमण गराउने लक्ष्यसहित नेपाल भ्रमण वर्षको कार्यक्रमको योजना पनि छँदैछ । यसका लागि हामीलाई सबैभन्दा टड्कारो आवश्यकता हवाई यातायातको छ । त्यसमा पनि अन्तर्राष्ट्रिय हवाई यातायात प्रमुख समस्याका रूपमा रहेको छ । नेपालमा चालू रहेका सबै हवाई यातायात कम्पनीहरूमाथि युरोपका विभिन्न देशको साझा संगठन युरोपियन युनियनअन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीहरूलाई युरोपियन युनियन सम्बद्ध देशहरूमा उडान गर्न प्रतिबन्ध लगाएको अवस्था छ ।
हुन त जुलाई ४–११ २०१७ मा क्यानडाको मन्ट्रियल सहरमा मुख्यालय रहेको ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन’ (आइकाओ) को प्राविधिक टोली नेपाल आएर विस्तृतमा अध्ययन गरेर अबदेखि नेपाललाई ‘गम्भीर सुरक्षा चासो’ (एसएससी) बाट हटाउँदा हुन्छ भनी आफ्नो मुख्यालयलाई प्रतिवेदन बुझाएको थियो । सोअनुसार ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन’ (आइकाओ) को नेपालमाथिको हवाई प्रतिबन्ध हटाइसकेको छ । तर, समय सधैं कहाँ एकैनासको हुन्छ र ? फलतः गत सेप्टेम्बर महिनामा आउने भनिएको युरोपियन आयोगअन्तर्गत रहेको, एयर सेफ्टी कमिटिको प्राविधिक टोली नेपाली आकाशबारे अध्ययन गर्न आएनन् । बरु पुनः सन् २०१९ मा पनि युरोपियन युनियनले नेपाली आकाशमाथि लगाएको प्रतिवन्ध जारी नै रहेको भनेर नेपाललाई सूचित ग¥यो । धन्य आपूmलाई युरोपियन देश ठान्ने टर्कीको टर्किस एयरले भने अपवादका रूपमा नेपालमा सीधा हवाई उडान गर्दै आएको छ ।
हुन त नेपालमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि हाल केही स्तरोन्नति गरिएको छ भने, सन् २०१९ को जुलाईसम्ममा चालू गर्न सकिने गरी भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि बनिसक्ने गरी काम हुँदैछ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि सकेसम्म सन् २०२० मा बनी सक्ने गरी काम गरार्इँदै छ । त्यसैले गत वर्ष (सन् २०१७) नेपालकै पर्यटन इतिहासमा जसरी लगभग १२ लाख विदेशी पर्यटक नेपालको भ्रमण गर्न आए, त्यसरी नै सन् २०२० मा पनि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या २० लाख पुग्ला कि त ! भनी आशा गर्ने ठाउँ भने बाँकी नै छ । त्यसो त पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सानो खाले (अन्तर्राष्ट्रिय उडानमा रहेका विमानहरूको तुलना गर्दा) १ सय ८० सिटे विमानहरूलाई मात्रै थेग्न सक्ने क्षमताको बन्दै छ । तापनि भैरहवास्थित गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नेपाली पर्यटन उद्योगमा साँच्चै कायापलट हुने÷आउने आशा गर्न सकिन्छ । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढाउने कुरोको साथसाथै हामीले गुणस्तरीय पर्यटनलाई पनि ध्यान दिन भने छाड्नु हुँदैन ।
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्