क्यानडा, लाभांश र पुँजीगत लाभकर «

क्यानडा, लाभांश र पुँजीगत लाभकर

व्यक्तिगत लगानीकर्ताले सेयरमा लगानी गरेर कमाएको नाफामा ७.५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्छ ।

कहाँ मर्दा (मृत्युवरण गर्दा) सस्तो पर्छ भन्नेबारेमा पनि हामीले विचार गर्नुपर्छ, कर विषयको कक्षामा प्राध्यापकले यसो भनेर कक्षा सुरु गर्दा धेरै सहभागी अचम्म मानिरहेका थिए । मोबाइल, पत्रिका तथा अन्य आफ्नै धुनमा व्यस्त विद्यार्थी ती प्राध्यापकको सुरुवाती कुरा सुनेर उनैतर्फ केन्द्रित भए । म पनि अचम्ममा परें । के मृत्यु पनि ठाउँअनुसार सस्तो र महँगो हुन्छ ? आखिर मरेपछि लाने त केही हैन ? विभिन्न प्रदेशमा विभाजित क्यानडामा मानिसको मृत्यु हुँदा बाँकी सम्पत्तिमा लाग्ने करका दर तथा शुल्कहरू प्रदेशअनुसार फरक–फरक छन् । यसै प्रसंगमा ती प्राध्यापकले सस्तो र महँगो मृत्युको कुरा उठाएका थिए । मृत्युपछि बाँकी सम्पत्तिमा लाग्ने कर कम भएको ठाउँ वा प्रदेशमा मर्न पाए बाँकी सम्पत्तिमा लाग्ने करमा केही बचत हुन सक्छ भन्ने उनको आशय थियो । यसबाट हामी के बुझ्न सक्छौं भने जीवनमा दुईवटा कुरा निश्चित छन्, ती हुन् मृत्यु र कर । जन्मेपछि मर्नुपर्छ, तर बाँचुन्जेल मात्र नभई मरेपछि पनि राज्यलाई कर तिर्नैपर्छ । त्यसैले पनि मानिस बाँचुन्जेल मात्र नभई मरेपछि पनि कम कर तिर्ने बारेमा चिन्ता गर्छ ।
करकै बारेमा सेयरमा लगानी गर्नेले बारम्बार बढी र दोहोरो कर तिर्नुपरेको गुनासो गरिरहेको पाइन्छ । जस्तो सेयरमा लगानी गरेर कम्पनीबाट पाउने लाभांशमा कर तिर्नुपर्छ । लाभांशमा अग्रिम रूपमा ५ प्रतिशत कर कम्पनीबाटै कट्टा गरेर बाँकी लाभांश हाम्रो बैंक खातामा जम्मा हुन्छ । यदि हामीले आय विवरण बुझाउने हो भने आम्दानीको सीमाअनुसार थप कर बुझाउनुपर्छ । कम्पनीले कमाएको नाफामा पहिले नै कर तिरिसकेको हुन्छ, तर पुनः त्यही पैसामा सेयरधनीले पनि कर तिर्नुपर्दा दोहोरो कर तिर्नुपरेको लगानीकर्ताको गुनासो हो । उनीहरूको गुनासो सरकारको कर प्रणाली न्यायसंगत भएन भन्ने नै हो ।
त्यस्तै व्यक्तिगत लगानीकर्ताले सेयरमा लगानी गरेर कमाएको नाफामा ७.५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्नुपर्छ । लगानीकर्ताको अर्को गुनासो सेयर बिक्री गर्दा नाफा भएमा सुरुमै ब्रोकरले कर कट्टा गरेर बाँकी रकम दिन्छ, तर घाटा भए घटाउन पाइँदैन । घाटा भए नाफाबाट घटाएर बाँकीमा मात्र कर तिर्न पाउनुप¥यो भन्ने सरकारसँग लगानीकर्ताको अर्को आग्रह होे । पुँजीगत लाभकर लगाउने वा गणना गर्ने बारेमा पनि सरकारबाट न्यायसंगत काम हुन सकेको छैन । यी दुवै विषयमा लगानीकर्ता भनिरहेका छन्, यो फेयर भएन ।
मेरो म्यासेज बक्स तथा सामाजिक सञ्जालका स्टाटसको कमेन्टमा विकसित देशजस्तो क्यानडामा सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर र लाभांश कर कसरी फेयर बनाउने कोसिस गरिएको छ भन्ने धेरैको जिज्ञासा छ ।
करकै कक्षामा ती प्राध्यापकले तीन फरक आम्दानीमा सबैभन्दा कम कर लाग्ने स्रोतको पहिचाहन गर्न गृहकार्य थमाए । यी तीन आम्दानीमा लाभांश (डेभिडेन्ड), पुँजीगत लाभ (क्यापिटल गेन) र ब्याज आम्दानी थिए । यो गृहकार्यले तीन आम्दानीमा क्यानडाले लगाउने कर र त्यसको नेपालसँग तुलना गर्ने राम्रै अवसर मिल्यो ।
क्यानडामा बसोबास गर्ने हरेकले सरकारलाई प्रत्येक वर्ष कर विवरण बुझाउनुपर्छ । नबुझाए सरकारबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनुपर्छ । यही कर विवरणमा अन्य आम्दानीसहित यी तीनवटा आम्दानी भए त्यो पनि उल्लेख गरी कुल कर योग्य आम्दानी निर्धारण गरिन्छ । यी तीनवटा कुनै पनि आयमा स्रोतमै अग्रिम कर कट्टा गरिँदैन । तर, हामीले गर्ने हरेक कारोबार यहाँको कर कार्यालयसँग जोडिएको हुन्छ, जस्तो सेयर कारोबार गर्न ब्रोकरकहाँ खोलिएको खाता कर कार्यालयमा जोडिने भएकाले हामीले गर्ने सेयरको हरेक कारोबार, सेयरमा पाएको लाभांश तथा ब्याज आम्दानीको रेकर्ड कर कार्यालयसँग पनि हुने गर्छ । सेयरको हरेक किनबेचको रेकर्ड लागानीकर्ताले कर कार्यालयमा रहेको आफ्नो खाता र सेयर ब्रोकरकहाँ खोलिएको कारोबार खाता दुवैमा देख्न सक्छ । यी कुनै पनि आम्दानीमा व्यक्तिले तलमाथि गर्न सक्ने अवस्था रहँदैन ।
सेयर किनबेचबाट प्राप्त पुँजीगत लाभ (नाफा) मा आधा रकममा मात्र कर लाग्ने व्यवस्था छ । उदाहरणका लागि यदि सेयर किनबेच गर्दा १० हजार डलर नाफा भए यसको आधा अर्थात ५ हजारमा मात्र कर लाग्छ, बाँकी ५ हजारमा कर लाग्दैन (कर तिर्नु पर्दैन) । कर विवरण बुझाउँदा ५ हजार मात्र कर योग्य आम्दानीमा जोडिन्छ । तर, यसरी कर योग्य पुँजीगत लाभकर निर्धारण गर्दा वर्षभरि गरेको सेयर कारोबारबाट कुल घाटा जोडिन्छ र त्यसको आधा गरिन्छ । त्यस्तै कुल नाफा जोडिन्छ र त्यसको आधा गरिन्छ । यसरी आधा गरिएको नाफाबाट आधा गरिएको घाटा घटाइ कर लाग्ने पुँजीगत लाभ निर्धारण गरिन्छ । उदाहरणका लागि वर्षभरि गरिएको सेयरको विभिन्न कारोबारमा १० हजार नोक्सान भयो । यसको आधा ५ हजार मात्र भएको नाफाबाट घटाउन पाइन्छ । यस्तै वर्षभरिमा २० हजार नाफा भयो, यसको आधा १० हजार मात्र कर तिर्नका लागि प्रयोग गरिन्छ । कर विवरणमा १० हजार नाफाबाट ५ हजार घाटा घटाएर बाँकी ५ हजार मात्र कर योग्य आयमा जोडिन्छ र कुल आयअनुसार कर तिरिन्छ । बढी आय हुनेले बढी कर कम आय हुनेले कम कर तिर्छ ।
तर करयोग्य पुँजीगत लाभ निर्धारण गर्दा नाफाभन्दा नोक्सान बढी भए उक्त नोक्सान अन्य कुनै आयबाट घटाउन पाइँदैन । पुँजीगत नोक्सान पुँजीगत लाभमा मात्र घटाउन वा समायोजन गर्न पाइन्छ । यस्तो नोक्सान पूरै कट्टा नहुन्जेल आगामी वर्ष सार्दै लान पाइन्छ । अर्को रमाइलो पक्ष यस्तो नोक्सान अघिल्ला तीन वर्षमा नाफा भएको थियो भने त्यसबाट पनि घटाउन सकिन्छ । उदाहरणका लागि यो वर्ष नाफाभन्दा ५ हजार बढी करयोग्य नोक्सान भए यो नोक्सान यसअघिका तीन वर्षमा कुनै पनि वर्ष नाफा भए उक्त नाफामा घटाई (मिलान गरी) तिरिसकेको कर फिर्ता लिन पनि सकिन्छ ।
यस्तै, कम्पनीले वितरण गर्ने लाभांशमा अग्रिम रूपमा कर कट्टा गरिँदैन । कम्पनीबाट प्राप्त लाभांश कर विवरण बुझाउँदा आयमा जोड्नुपर्छ । लगानीकर्ता दोहोरो करको मारमा भने पर्न पर्दैन । उदाहरणका लागि कम्पनीबाट प्राप्त लाभांशलाई करअघिको आयमा परिणत गरिन्छ र उक्त आयमा करको दरले गुणन गरी कर रकम निर्धारण गरिन्छ । यो करमा केन्द्र र प्रदेश सरकारले दिने लाभांश करको छुट (डिभिडेन्ड ट्याक्स क्रेडिट) घटाई बाँकी रकम करका रूपमा सरकारलाई तिरिन्छ । उदाहरणका लागि कसैले १ सय डलर लाभांश प्राप्त गरेमा कर विवरण तयार गर्दा यसलाई ३८ प्रतिशतले बढाइन्छ, जुन १ सय ३८ डलर हुन जान्छ । यदि लाभांश प्राप्त गर्नेको कुल आयअनुसार करको दर ३० प्रतिशत हुने रहेछ भने १ सय ३८ को ३० प्रतिशतले ४१ डलर हुन आउँछ, जसमा केन्द्र र प्रदेश दुवै सरकारको गरेर लाभांश कर छुट २५ प्रतिशत रहेछ भने १ सय ३८ को २५ प्रतिशतका दरले ३४.५ डलर ४१ बाट घटाएर तिर्नुपर्ने खुद कर ६.५ डलर गणना गरिन्छ ।
नेपालमा कम्पनीले १ सय रुपैयाँ लाभांश दिँदा स्रोतमै ५ प्रतिशत कर कट्टा गरी ९५ रुपैयाँ लगानीकर्ताले प्राप्त गर्छ । यदि हाम्रो करको दर ३० प्रतिशत रहेछ भने उक्त १ सयको ३० प्रतिशतले कुल कर ३० रुपैयाँ हुन आउँछ, जसमा अग्रिम रूपमा ५ रुपैयाँ तिरेकाले सो कटाई २५ रुपैयाँ कर तिर्नुपर्ने हुन्छ । कम्पनीले नाफामा पहिल्यै तिरेको कर समायोजन गर्न पाउने कुनै व्यवस्था छैन ।
अर्कातर्फ ब्याज आम्दानी भने पूरै रकम करयोग्य आयमा जोडिन्छ । जस्तो, करको दर ३० प्रतिशत छ र १ सय डलर ब्याज आम्दानी भएमा १ सयको ३० प्रतिशतका दरले ३० डलर कर तिर्नुपर्ने हुन्छ ।
नेपालमा करका कारण सेयर बजारमा मात्र होइन, धेरै क्षेत्रमा समय–समयमा विवाद आइरहने कारण पनि सरकारले राजस्व नीतिमा नै हेरफेर गर्नु अत्यावश्यक छ ।
(भट्टराई सेयर बजार विश्लेषक हुन् ।)

प्रतिक्रिया दिनुहोस्