भारतीय सवारीमा रोक लगाउँदा सीमा क्षेत्रका होटल व्यवसाय संकटमा «

भारतीय सवारीमा रोक लगाउँदा सीमा क्षेत्रका होटल व्यवसाय संकटमा

वीरगन्ज-कोरोना संक्रमण महामारीमा बन्द गरिएको सीमा नाकामा भारतीय सवारी साधानहरुलाई रोक लगाउन नेपालको होटल तथा पर्यटन व्यवसाय धरासायी बन्दै गएको छ ।
कोरोना महामारीमा सबैभन्दा बढी पभावित भएको होटल तथा पर्यटन क्षेत्र अझैपनि लयमा फर्किन सकेको छैन । ६० देखि ७० प्रतिशत भारतीय पर्यटकहरुमा निर्भर रहेको सीमाक्षेत्रका होटल तथा पर्यटन व्यावसायीहरु दुई पटको कोरोना लहरमा गरिएको सीमा बन्दको मारमा परेका छन् ।
कोरोना संक्रमण कम हुँदै सामान्य अवस्था भएर सबै क्षेत्र खुला भएपनि पर्यटनको मुख्य आधार भारतीय पर्यटकहरु आउने सीमा नाकामा भारतीय सवारी साधन आवतजावतको प्रतिबन्ध अझै नहट्दा वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरु मात्रै नभइ मानिएको पोखरा, सौराहलगायतका स्थानका होटल तथा प्रर्यटन व्यवसायले पनि गति लिन नसकेको क्षेत्रीय होटल संघ सौराहका पूर्व अध्यक्ष सुमन घिमिरेले बताए ।
सरकारले सीमा नाकालाई सहज नबनाइ दिएका कारण व्यवसायबाट हात धुनुपर्ने अवस्था निम्तने खतरा बढेको भन्दै चिन्ता जनाएका छन् । कोरोनाको जोखिमको बहाना बनाएर सीमा नाका खुला नगर्दा कोरोनाको पहिलो लहरमा झण्डै ५० करोड गुमाएका सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीले दोश्रो लहरमा करिब १ अर्ब नोक्सानी बेहोर्नु परेको अनुमान रहेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष बुद्धिबहादुर पन्त (हरि) ले बताए ।
२० अर्बको लगानी रहेको वीरगन्जको होटल क्षेत्रमा कोरोनाको पहिलो र दोश्रो लहरमा अर्बौ क्षति व्यहोर्नु पर्दा अहिले बैंकको किस्ता, घरभाडा र विद्युत् महशुल तथा कर्मचारीलाई मासिक तलबसमेत दिन नसक्ने अवस्थामा पुगेको उनले बताए । होटल बन्द भएपछि हजारौंले रोजगारी पनि गुमाउनु परेको छ ।
सीमापारी रक्सोलबाट वीरगन्जमा काम गर्न आउने तथा नेपालबाट रक्सोल जानेलाई छुट हुँदा कोरोनाको जोखिम नहुने तर स्वास्थ्य मापदण्ड अपनाएर भारतीय सवारी साधन लिएर आउने पर्यटकलाई भने रोक लगाउनुको कुनै वैज्ञानिक आधारहरु नरहेको होटल तथा पर्यटन व्यवसायीहरुको तर्क छ ।
सीमा नाका खुला गर्नुपर्ने स्थानीय राजनीतिक दलहरुको धारणा छ । तर, उनीहरुकै उपस्थितिमा हुने कोभिड संकट व्यावस्थापन केन्दमा यस विषयमा छलफल भएपनि मन्त्रिपरिषदको निर्णय भएकोले त्यहिबाट यसको समस्या समाधान हुनुपर्ने जिल्ला कोभिड संकट व्यावस्थापन केन्दको बुझाइ छ ।
कुनैबेला हटस्पट बनेको पर्सामा अहिले कोरोनाका संक्रमितहरु लगभग शुन्यको अवस्थामा रहेको छ । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार पर्सामा सक्रिय संक्रमितको संख्या १३ जना मात्रै रहेको छ ।
लामो समयसम्म बन्द रहेको होटल तथा पर्यटन व्यवसायलाई लयमा ल्याउनका लागि भारतीय पर्यटकको भर पर्नुपरेकाले पनि सीमा नाकामा भारतीय सवारी साधन खोल्नुपर्ने दवाव छ । यसका लागि सरोकारवाला पक्षहरुले दवाव दिँदासमेत सुनुवाई नभएपछि यहाँको वास्तविक अवस्थाको बारेमा जानकारी गराउन र सीमा नाका खोल्न माग गर्दै प्रधानमन्त्रीलाई नै भेटन जाने तयारीमा यहाँका होटल तथा पर्यटन व्यवसायीहरु रहेको युवा होटल व्यवसायी दिलिपराज कार्कीले बताए ।
सीमा नाका सहज नहुँदा वीरगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले पेशाबाट नै पलायन हुनुपर्ने हो की भन्ने चिन्ता गर्न थालेको होटल तथा पर्यटन व्यवसायी संघका केन्द्रीय सदस्य तथा पर्साका वरिष्ठ उपाध्यक्ष रचिन्द थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्