व्यावसायिक भेडापालनमा आकर्षण

म्याग्दीको रघुगंगा गाउँपालिका– ८ पात्लेखर्कका मिलन छन्त्यालले पुर्खाको भेडापालनलाई व्यावसायिक बनाएका छन् ।
उनी विगत पाँच वर्षदेखि गाउँका पाखा पखेरा र वन जंगलतिर भेडीगोठमा व्यस्त बनेका छन् । गाउँ सहरमा कोरोनाको कहरले युवाहरु बेरोजगार बनिरहेको बेलामा छन्त्याल भने व्यावसायिक भेडा पालनले कोरोना र लगडाउनको कुनै प्रवाह बिना जंगलमा भेडा गोठालोको जीवन बिताइराखेका छन् । भेडापालन फार्म नै दर्ता गरी व्यावसायिक भेडापालन सुरु गरेका छन्त्यालको फार्ममा अहिले २५० भन्दा बढी भेडाबाख्रा छन् । घरमा बाबुआमाले निर्वाहमुखी भेडाबाख्रा पालनमा विदेशमा कमाएको पैसा लगानी गरेर भेडा पालनलाई व्यावसायिक बनाएको उनले बताए ।
उत्पादन भएका भेडाबाख्राका लागि बजारको अभाव नभएको बताउँदै उनले भेडा, खसी, बोका खरिदकालागि ग्राहक गोठमा नै आउने गरेको बताए । पात्लेखर्ककै दानबहादुर गर्वुजाले पनि प्रवासमा आर्जन गरेको कमाइलाई गाउँमै भेडापालनमा लगानी गरेका छन् ।
रोजगारको सिलसिलामा आठ वर्षसम्म इराक बसेर फर्किएका गर्बुजाले १३ लाख रुपैयाँको लगानीबाट भेडापालन व्यवसाय सुरु गरेका छन् । भेडापालन थालेको पाँच वर्षमा उनको गोठमा २५० भन्दा बढी भेडाबाख्रा रहेका छन् । हरेक वर्ष आठदेखि १० लाखसम्मका भेडा गोठबाट बिक्री हँुदै आएको उनले बताए ।
यहाँका भेडीगोठ छिसखर्क हुँदै चौरवन, च्यामली, रिखार हुँदै धौलागिरि हिमालको आधार शिविरसम्म लैजाने गरिन्छ । खाद्यान्न सामग्री लिनका लागि गाउँ झर्नेबाहेक अन्य चाडपर्वदेखि वर्षात् र हिउँ पर्ने समयमा गोठको जीवन अति कष्टकर हुने भएकाले घुम्ती गोठ रहने क्षेत्रमा आश्रयस्थल बनाइदिए आफूहरुलाई सहज हुने भेडापालक किसान मिलन छन्त्यालको भनाइ छ ।
पछिल्लो समय मान्द्रो बुन्ने पेसा र सीप हराउँदै जान थालेकाले कतिपय गोठमा सहरबाट त्रिपाल खरिद गरी प्रयोग गर्ने गरिएको छ ।
मिलनका अनुसार औषधीको अभावमा हरेक वर्ष गोठमा जन्मिएका भेडाबाख्रामध्ये आधाको हाराहारीमा विभिन्न रोग लागेर मर्ने गरेका छन् । “अनकन्टार जंगलबाट औषधिको कहाँ खोजी गर्नु, यतागोठ छाडेर सहर पुगेर औषधि ल्याउन सक्ने अवस्था नै हुँदैन” उनले भने, “गोठमा सरकारी निकायबाट अहिलेसम्म कोही आएका छैनन्, रोग लागेमा स्थानीय जडीबुटी खुवाउने हो, कहिले त निको हुन्छ, कहिले हुँदैन ।”
जंगलका गोठको सुरक्षामा कुकुरको सहारा लिने गरिन्छ । गोठाला र कुकुरको निगरानी हुँदा हुँदै पनि बाघ, भालुले चरण क्षेत्र र गोठमै आएर भेडाबाख्रा खाने गरेको किसानहरुको गुनासो छ । कृषकसामु पशु बिमाको पहुँच नपुगेको कारण जंगली जनावरको आक्रमण, रोगको संक्रमण, बाढी, पहिरो र चट्याङ लागेर भेडाबाख्रा मर्दा भेडापालन किसानले म्याग्दीमा ठूलो आर्थिक क्षति भोग्न बाध्य छन् ।