फोरजी विस्तारको जिम्मा चिनियाँ कम्पनीलाई «

फोरजी विस्तारको जिम्मा चिनियाँ कम्पनीलाई

चौथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) सेवा सुरु गरेको दुई वर्षसम्म काठमाडौं र पोखरामा सीमित रहेको नेपाल टेलिकमले बल्ल देशभर फोरजी विस्तार गर्ने भएको छ । टेलिकमले फोरजी-एलटीई सेवा विस्तारका लागि दुईवटा चिनियाँ कम्पनीसँग आइतबार सम्झौता गरेको छ ।
एक वर्षभित्र सातवटै प्रदेशमा फोरजी-एलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (-यान)का लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङसँग सम्झौता सम्पन्न भएको हो । यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र जेडटीई तथा सीसीएसआईका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
टेलिकमका अनुसार देशभर ६५ लाख क्षमताको फोरजी-एलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुई वटा -यान नेटवर्क तयार गरिने छ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । -यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातवटै प्रदेशमा सेवा विस्तार गर्ने योजना छ । सम्झौतापश्चात् एक वर्षभित्रमा परियोजना सम्पन्न हुनेछ । टेलिकमले पहिलो पटक २०७३ पुस तेस्रो साता काठमाडौँ उपत्यका र पोखरामा फोरजी-एलटीई सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात टूजी, थ्रीजी र फोरजी नेटवर्क एकसाथ सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि र आवश्यकता अनुसारका सेवाहरू छनोट गर्ने अवसर प्राप्त हुनेछ । यसबाट मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा ‘कभरेज एण्ड क्यापासिटी’का लागि ‘स्मल सेल विथ वाइफाइ’ विस्तार गर्न सकिने कम्पनीले जनाएको छ ।
संसद्को अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनबमोजित यो सम्झौता गरिएको कम्पनीले जनाएको छ । सम्झौता गर्दा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीको सीमाभित्रै रहेको कम्पनीको दाबी छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कम्पनी र राज्यकै लागि पनि टेलिकमको फोरजी परियोजना निकै महत्वपूर्ण रहेको र यसको कार्यान्वयनपछि जनताले नयाँ अनुभूति गर्नसक्ने बताए । यसबाट कम्पनीले पनि गुणात्मक फड्को मार्नसक्ने उनको भनाइ छ । “टेलिकमलाई अन्य निजी कम्पनीलाई जस्तो सहज छैन, ९२ प्रतिशत सरकारले लगानी भएकोले सरकारी नीति र प्रक्रियाबाटै चल्नुपर्ने हुन्छ,” उनी भन्छन्, “अरु कम्पनी जहाँ नाफा हुन्छ त्यहाँमात्र जान्छन् तर टेलिकम जहाँ जनता बस्छन् त्यहीँ जानुपर्ने अवस्था छ ।” टेलिकमले सहरदेखि गाउँसम्म एक वर्षमा फोरजी सेवा पु-याउने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्