भौतिक संरचना तयार, सञ्चालनको मोडेल बनेन «

भौतिक संरचना तयार, सञ्चालनको मोडेल बनेन

धनगढी-कैलालीको गोदावरी नगरपालिका–५ गेटामा मेडिकल कलेज सञ्चालन गर्ने भनी संरचना तयार भएको छ तर कुन मोडेलमा सञ्चालन गर्ने भन्ने तयारी छैन ।
दुईवटा अस्पताल भवन, दुई कलेज भवन, आठवटा निवास, एउटा कार्यालय भवनलगायतका २५ वटा भवन संरचना तयार भएका छन् । पर्खाल, केही निवास भवन, तटबन्ध र गेट निर्माण कार्य भइरहेका छन् । साढे आठ अर्ब रुपैयाँको भौतिक संरचना निर्माण गर्ने लागत स्टिमेटमा रहेकोमा साढे चार अर्बभन्दा बढी लगानी भइसकेको गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समिति कार्यकारी निर्देशक भीमबहादुर साउदले बताए । उनले फर्निचर जडानका लागि टेण्डर स्वीकृत भइसकेको बताउँदै केही दिनमा बिजुली जडान गर्नका लागि टेण्डर स्वीकृत हुने बताए । उनले फोहोर व्यवस्थापन र पानीको टेण्डर एक महिनामै हुने बताए । उनले लगभग एक वर्षमा सबै संरचना निर्माण भइसक्ने बताउँदै मेडिकल उपकरण जडानका लागि नक्सा डिजाइन गर्ने काम भइरहेको बताए । उनले डिजाइन स्वीकृत भएपछि सोका लागि समेत टेण्डर आह्वान गरिने बताए ।
गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिले २०७९ मा पठनपाठन समेत सुरु गरिसक्ने गरी भौतिक संरचना निर्माण गरिरहेको छ । शिक्षा मन्त्रालयअन्तर्गत समिति गठन भई भौतिक संरचना, जनशक्ति, उपकरणलगायतमा करिब १५ अर्ब रुपैयाँमा कजेल रन गर्ने लक्ष्य राखिएको छ ।
तर, सरकार परिवर्तन हुँदै जाँदा कजेल सञ्चालनको मोडल तयार हुन सकेको छैन । शिक्षा मन्त्रालयअन्तर्गत मेडिकल कलेज बनाउने अवधारणा राखी संरचना निर्माण पूरा हुँदै गर्दा विभिन्न अवधारणा आउन थालेको छ । पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले मेडिकल विश्वविद्यालय बनाउने घोषणा गरेको थियो । त्यसअघि, मेडिकल कलेज नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने अवधारणासमेत अगाडि सारिएको थियो । विभिन्न समूहले सुदूरपश्चिम विश्वविद्यालयको आंगिक कलेजको रूपमा गेटा मेडिकल कलेज बनाउनुपर्ने माग पनि गर्दै आएका छन् ।
पछिल्लो पटक ओली सरकारले मेडिकल विश्वविद्यालय बनाउने अवधारणा अगाडि सारेपछि देशमै मेडिकल विश्वविद्यालय नभएको भन्दै जनस्तरबाट पनि विश्वविद्यालय बनाउन माग उठ्न थालेको छ । कैलाली उद्योग वाणिज्य संघले समेत गेटाको सो संरचनामा विश्वविद्यालय बनाउने वा मेडिकल कलेज बनाउने वा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्ने विषयमा चासो दिन थालेको छ ।
संघले धनगढीमा सुझाव संकलन गर्न आयोजना गरेको अन्तरक्रियामा गेटा मेडिकल कलेजलाई विश्वविद्यालय वा प्रतिष्ठानका रुपमा अघि बढाउन सरोकारवालाले सुझाएका छन् । ओली सरकारमा मन्त्री रहेका नेकपा एमाले सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले विश्वविद्यालय बनाउन आफूहरूले सुझाव दिइरहेको बताए । उनले भौतिक संरचना तयार भए पनि तत्कालै पठन–पाठन सुरु हुने अवस्था नदेखिएको भन्दै विश्वविद्यालयका रूपमा अघि बढाउन गृहकार्य भइरहेको बताए ।
चिकित्सकहरूले पनि विश्वविद्यालयकै रूपमा अगाडि बढाउन सुझाव दिएको बताउँदै भट्टले राजनीतिक दलहरूसंग समेत आफूले छलफल गरिरहेको बताए । सबै दलले एउटै धारणा बनाएर अगाडि बढ्दा सजिलो हुने बताउँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई छिटोभन्दा छिटो गेटा मेडिकल विश्वविद्यालयको कामलाई अघि बढाउन दबाब दिने बताए ।
सेती प्रादेशिक अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डाक्टर गणेशबहादुर सिंहले गेटामा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने बताए । नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष डाक्टर प्रदिप मिश्रले सेती प्रादेशिक अस्पतालनजिकै रहेको हुनाले सेतीसंँग नबाझिने गरी सेवा दिने तथा सेतीभन्दा भिन्न खालको सेवा दिने रिफरल अस्पतालको रूपमा विकास गर्नुपर्ने बताए ।
निर्माण समितिका कार्यकारी निर्देशक साउदले सरकारले आउँदो पुससम्म सञ्चालनको मोडेल दिनैपर्ने बताए । उनले समितिको तर्फबाट पनि सरकारलाई छिट्टै मोडेल तयार गर्न दबाब दिने काम भइरहेको बताए । उनले पुससम्म सरकारले मोडेल दिन नसकेपछि आउँदो वर्ष अस्पताल र पठनपाठन सुरु गर्न कठिन हुने बताउँदै निर्माण पूरा हुनै लाग्दा सञ्चालनको तयारी पनि हुनुपर्ने बताए ।
विश्वविद्यालयको रूपमा सञ्चालन गर्दा जनशक्ति पु¥याउने निकै चुनौतीपूर्ण हुने बताए । उनले देशमा रहेका सबै मेडिकल कजेललाई त्यसअन्तर्गत ल्याउन सके विश्वविद्यालय चलाउन पनि सम्भव हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्