व्यवसायी अध्ययनशील नहुँदा धितोपत्रसम्बन्धी मुद्दामा समस्या

सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले अध्ययन तथा ज्ञानको अभावमा पुजीबजारसम्बन्धी मुद्दाहरूलाई अगाडि बढाउने कार्यलाई चुनौतीपूर्णरुपमा लिइने गरेको बताएका छन् । बुधबार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) तथा काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको सहकार्यमा आयोजना भएको अन्तक्रिया कार्यक्रममा बोल्दै जोशीले बाणिज्य सम्बन्धी ऐन नियमहरूमा समेत न्यायाधीसहरू नै स्पष्ट हुन नसकेकोले मुद्दाका दुवै पक्षहरू उपस्थित भएपछि मात्र अगाडि बढाउने गरिएको बताए ।
कार्यक्रममा काठमाडौं जिल्ला अदालत बार एशोसिएशनका उपाध्यक्ष मदन रेग्मीले नेपाल धितोपत्र बोर्डलाई जिल्ला अदालतसरह अधिकार दिनु पर्ने बताए । धितोपत्र बजारसम्बन्धी धेरै मुद्दाहरू बोर्डबाटै निरुपण गर्नका लागि सो अधिकार दिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रमका सर्वोच्च अदालतको न्यायाधीश अनिलकुमार सिन्हाले नबुझी लहैलहैमा लागि सेयर खरिद बिक्री गर्दा जुवा जस्तै नै हुन सक्ने बताए । विगत केही वर्षहरूमा पुँजी बजारमा भएका सुधारसम्बन्धी प्रगतिहरूलाई हेर्दा पँुजी बजारमा शंका गर्नुपर्ने ठाउँ नदेखिएको उनले बताए । विशेष अदालत पाटनका अध्यक्ष बावुराम रेग्मीले हाल भएको सुधारले सेयर खरिद बिक्री कार्य स्वच्छ एवं सहज भएको बताए । मुद्दा चलाउन तथा जरीवाना समेत तोक्न बोर्ड सक्षम भएको उनको भनाइ छ ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बोर्डले हालसालै बजारको सुधार तथा विकास कार्यलाई दु्रतरुपमा अगाडि बढाइ पूर्णरुपमा अभौतिकृत कारोवारको व्यवस्था गर्न लागेको बताए । धितोपत्रको प्राथमिक बजारमा देशव्यापी पहुँचको व्यवस्था तथा धितोपत्र बजारसम्बन्धी नियमन निकायहरूको अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गरेको बताए । धितोपत्र बजारमा भएका पछिल्ला सुधार कार्यहरूबाट बजार स्वच्छ एवं पारदर्शी भइ बोर्डप्रति सम्बद्ध पक्षको विश्वास बढेको उनले बताए । डा.कार्कीले बोर्डले हालसालै अन्य सुधारका अतिरिक्त कानुन प्रवलीकरणमा जोड दिएको बताए । धितोपत्र दलाल व्यवसायीहरूलाई व्यवस्थितरुपमा केवाईसी राख्न लगाएको, बहुडिम्याट खातालाई र्दुइवटामा झार्न आवश्यक कार्य अगाडि बढाएको समेत उनले बताए ।