नेकपा(एमाले)को सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती

नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरूको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कूटनीतिक अभिमुखीकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकारसँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोगबिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् । विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरूले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे ।
उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे । एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफुहरूको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे । उनले भने, ‘त्यो सम्झौता ठीक थियो भने अघिल्लो सरकारले यसलाई अगाडि बढाऔं भनेकै हो । किनभने दुई देशबीचको सम्झौताहरू भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यै पनि दुई देशबीचका सम्बन्धहरू दिगो हुन सक्दैनन् । सरकार भनेको एउटा अविछिन्न उत्तराधिकारीवाला संस्था हो । अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाऔंभन्दा आगो बाल्नु भो उहाँहरूले ।
सम्झौता गर्ने उहाँहरू गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरू गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरू । यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभो तपाईहरूले ? यदी सहि थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो किन तपाईंहरूले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरूसँग संख्या छ उहाँहरूले अगाडि बढाउने हो भने अगाडि बढाए हुन्छ । जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामीले आफ्नो पोजिसनहरू क्लियर गरौँला ।’
नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए । यसले छिमेकी राष्ट्रहरूमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सीमा समस्या नै नभएको चिनसँग भने सीमा समस्या देखाएर सम्बन्धमा चिसोपन निम्त्याउने काम गरेको बताए । उनले भने, ‘जहाँ समस्या छ, त्यहाँ समाधान नखोज्ने । त्यहाँ पहल नगर्ने । जहाँ समस्या छैन त्यहाँ एकतर्फी ढंगले हल्लाखल्ला गरेर सिमा मिचिएको पहिल्यै निष्कर्ष निकालेर, पहिलै निष्कर्ष निकालीसक्नु भो उहाँहरूले । यो नियमित अनुगमन त होईन । पहिलै मिचिएको निष्कर्ष निकालेर जे गर्नुभएको छ यो वर्तमान सरकारले दुई देशबीचको सम्बन्धलाई अनावश्यक चिसोपन निम्त्याउने काम गरेको छ ।’
नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।